कोरोना नियन्त्रणको पूर्वतयारी हुनुपर्ने बेला चितवनमा एकैपटक दुई महोत्सव – Nepal Press

कोरोना नियन्त्रणको पूर्वतयारी हुनुपर्ने बेला चितवनमा एकैपटक दुई महोत्सव

चितवन । नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि कैयन जिल्लामा संक्रमण नियन्त्रण गर्न पूर्व तयारी थालिएका छन् । तर, चितवनमा दुई ठूला महोत्सव रोक्न स्थानीय सरकार र प्रशासन मौन बसेका छन् ।

नारायणी नदी किनारमा आजदेखि सुरु भएको चितवन महोत्सवको उद्घाटन गर्न बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे अन्य २ मन्त्री र प्रदेश सांसद सहित सहभागि भए ।

उद्घाटन गर्दै उनले भने, ‘यसलाई रोकाउन कसैले उचालेपनि स्वास्थ सतर्कता सहित सफल बनाएरै छाड्छौँ भनेर आयोजकको प्रतिवद्धता होस् ।’ उनले कोभिड सहितनै महोत्सव गर्दै जानुपर्ने बताए ।

कोभिडरहित भएपछि काम गरौंला भनेर हुन्छ जस्तो लाग्न छाड्यो, उनले भने’, ‘स्वस्थ सतर्कता अपनाउँ, आर्थिक क्रियाकलाप बढाउ ।’

माघ ४ गतेसम्म चल्ने महोत्सवमा ४ सय स्टलहरु छन् । ५ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव परिसरभित्र बढ्ने भिडमा २ मिटरको भौतिक दुरी कायम गर्न सहज छैन । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा सुरु महोत्सवको भरतपुर महानरगपालिका, जिल्ला समन्वय समिति मुख्य प्रवर्द्धक हुन् ।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा उवासंघ चितवनका अध्यक्ष राजु श्रेष्ठले महोत्सवमा अवलोकन गर्न आउने सबैलाई निः शुल्क मास्क वितरण गरिने बताए । २०५३ देखि हरेक २ वर्षमा हुँदै आएको महोत्सव गत वर्ष कोभिडका कारण हुन सकेको थिएन । गत वर्ष भन्दा यसपालि सहज वातावरण भएकाले महोत्सव गरिएको उनको दावी छ ।

भरतपुरका मेयर रेनु दाहालले कोरोनाको चूनौतिको सामना गर्दै महोत्सवलाई भव्यरुपमा सफल पारिनुपर्ने बताइन् । महोत्सवको मूल समिति सदस्य रहेका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र चितवन प्रहरी प्रमुख ओमप्रसाद अधिकारी आसनग्रहण गर्न मञ्चमा गएनन् ।

कोरोना संक्रमणको जोखिम बढेकाले मेला, महोत्सव रोक्न स्थानीय प्रशासन लाग्नुपर्ने आवाज सामाजिक सञ्जालमा उठेक छ । तर, जिल्लाका राजनीतिक दल तथा संघ संस्थाले खुलेर बोल्न सकेका छैनन् ।

महोत्सवको उद्घाटनमा सहभागी जिल्ला नेताहरुले भव्य सफलताको शुभकामना दिन छुटाएनन् । कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले भय र त्रासका बीचमा उभिनुपरेको बताए ।

‘देशकै प्रधानमन्त्री आइसोलेसनमा हुनुहुन्छ, दलका केही शीर्षनेताहरु संक्रमित बन्नुभएको छ’, उनले भने, ‘कतै चितवन कोरोनाको हटस्पट हुने पो हो कि, दुई महोत्सवमा आलोपालो नभएर यसैपालि एकैसाथ हुदैछन् ।’

उनले महोत्सवमा उच्च स्वास्थ सुरक्षाका मापदण्ड लागू गर्नुपर्ने बताए ।

रत्ननगर महोत्सव पनि २७ गतेदेखि टिकौली जंगलको चौरमा हुदैछ । प्रतिनिधिसभा सदस्य तथा एमाले नेता कृष्णभक्त पोखरेलले कोभिडको हल्ला नभएको भए महोत्सवमा धेरै सहभागी हुने वातावरण हुने बताए ।

एमाले चितवनका नेता रामप्रसाद न्यौपाने, माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियार, नेकपा एसका जिल्ला उपाध्यक्ष कृष्णराज न्यौपाने लब्लीले महोत्सव सफलताको कामना गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर