बालश्रम रोक्न माग गर्दै एलिस र अस्मिनले बुझाए मन्त्री रेग्मीलाई ज्ञापनपत्र – Nepal Press

बालश्रम रोक्न माग गर्दै एलिस र अस्मिनले बुझाए मन्त्री रेग्मीलाई ज्ञापनपत्र

काठमाडौं । काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाहरूमा बालश्रम भइरहेको भन्दै विद्यार्थीहरुले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन् ।

निःशुल्क शिक्षाको विषयमा आवाज उठाउँदै आएका एलिस खनाल र अस्मिन बस्नेतले विभिन्न औद्योगिक क्षेत्रहरुमा बालश्रम बढ्दै गएको पाइएपछि मन्त्री रेग्मीलाई भेटेर ज्ञापन पत्र बुझाएका हुन् ।

उपत्यकाका तीन वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरिएको अनुगमनमा अधिकांश इट्टा उद्योग, सार्वजनिक यातायात र होटल लगायतका व्यवसायमा बालश्रम भइरहेको पाइएको हो ।

‘नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३९ को (बालबालिकाको हक) को उपधारा २ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ।’ भन्ने संवैधानिक प्रवन्ध छ ।

संविधानकै उपधारा ४ ले ‘कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन’ भन्ने उल्लेख छ . बालबालिकाको हकले क्षतिपूर्ति सहित मौलिक हकका रूपमा संवैधानिक प्रत्याभूति भएपनि त्यो कागजमा मात्रै सिमित भएको विद्यार्थी खनालले बताए ।

हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजमा कानुन सङ्कायमा अध्ययनरत एलिस खनाल र अस्मिन बस्नेतका अनुसार बढी मात्रामा अभिभावक विहीन अनाथ बालबालिका, कमजोर आर्थिक अवस्था भएका गरिब परिवारका बालबालिकाहरू लाई बालश्रममा लगाइएको पाएको छ ।

अभिभावकत्वको जिम्मेवारीबाट राज्य पन्छिन नमिल्ने र बालश्रमबाट पीडित बालबालिका को संरक्षण गर्न उपयुक्त व्यवस्था गर्ने विषयमा मन्त्री रेग्मीले पहल लिने उनीहरुको विश्वास रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर