कन्तबिजोक बन्यो पहिलो मिडिया अवार्ड, पत्रकार महासंघमा पनि रडाको – Nepal Press

कन्तबिजोक बन्यो पहिलो मिडिया अवार्ड, पत्रकार महासंघमा पनि रडाको

क-कसले पाए ? क-कसले लिए ? (सूचीसहित)

काठमाडौं । सम्भवत: कुनै अवार्ड समारोहको यति कन्तबिजोग दृष्य यसअघि सायदै देखिएको थियो । आयोजनाअघि नै विवादमा परेको मिडिया अवार्ड अधिकांस पत्रकारको बहिष्कारका बिच लाजमर्दो ढंगले हिजो सम्पन्न भएको छ ।

सोल्टी होटलमा आयोजित अवार्ड कार्यक्रममा हल त भरिएको थियो, तर असम्वन्धित व्यक्तिहरु बढी थिए । पत्रकारभन्दा बढी चलचित्र क्षेत्रका व्यक्तिहरु देखिए । अवार्ड जित्ने अधिकांस पत्रकार कार्यक्रममा अनुपस्थित रहेका थिए । हुँदाहुँदा युट्यूवरले समेत अवार्ड बहिष्कार गरे ।

कार्यक्रमका होस्ट दिनेश डिसीले विजेताको नाम घोषणा गर्दा अवार्ड थाप्नेकै खडेरी भयो । अवार्ड हस्तान्तरणका लागि स्टेजमा निम्त्याइएका अतिथिहरु हातमा तक्मा र माला बोकेर किंकर्तव्यविमुढ उभिएको दृष्य टिठलाग्दो थियो । कार्यक्रममा व्यंग्य प्रस्तुत गर्दै हास्यकलाकार जितु नेपालले पहिले मान्छेले अवार्ड खोज्ने गरेकोमा आजकाल अवार्डले मान्छे खोज्ने गरेको बताए ।

अवार्ड कार्यक्रमअगाडि नै धेरैले वहिष्कारको घोषणा गरिसकेकाकाले मनोनयनमा परेकाहरुको नाम नभनि सिधै विजेताको घोषणा गरिएको थियो । जसले बहिष्कार घोषणा गरेका थिएनन् उनीहरुमध्येबाट विजेता छानिएको हो । त्यसैले कस्ताले अवार्ड पाए भन्ने बहसको विषय नै भएन ।

स्टेजमा उभिएर अवार्ड थाप्ने एक मात्र विसुद्ध पत्रकार थिए विजय आवाज । मनोरञ्जनको विधामा कलम चलाउने उनी अनलाइनखबर डटकमा रिपोर्टिङ गर्छन् । अवार्ड लिँदै गर्दा उनी खासै उत्साहित भने देखिएका थिएनन् ।

टिभी प्रस्तोताको विधामा अभिनेत्री रिमा विश्वकर्माले अवार्ड पाइन् । कमेडी च्याम्पियनको प्रस्तोताका रुपमा अवार्ड पाएकी उनी निकै पलकित बनेकी थिइन् । चलचित्र सम्वन्धी अवार्डको झल्को दिँदै रिमाले अवार्ड लिएपछि छोटो भाषण पनि ठोकिन् । यस्तै, कमेडी च्याम्पियनबाटै वेस्ट रियालिटी शोको अवार्ड जितेका विशाल भण्डारी पनि खुशी देखिए ।

यसअघि घोषणा नै नगरिएको मोस्ट पपुलर जर्नालिस्ट अर्थात् सर्वाधिक लोकप्रिय पत्रकारको अवार्ड ऋषि धमलालाई दिइयो । तर, नाम घोषणा गर्नुअगाडि नै उक्त अवार्ड बोकेर धमला टाप कसिसकेका थिए ।

सोल्टी होटलमा आयोजित अवार्ड कार्यक्रमको थोरबहुत इज्जत ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ दिइएका तीन हस्तिहरुले धानेका थिए । ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारको व्यवस्था भएकाले तीनैजनाले विवादका वावजुद पुरस्कार हाप्न चाहेनन् । यो अवार्ड पुराना पत्रकार भैरव रिसाल, चलचित्रकर्मी नीर शाह र वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिएको छ । उनीहरु तीनैजनाले स्टेजमा बसेर आयोजकको हौसला बढाए ।

कसले के भने ?

कार्यक्रमको अध्यक्षता आयोजक संस्था ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले गरेका थिए । प्रमुख अतिथिमा थिए विनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठ । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथि बनाउने तयारी गरिएको भएता पनि पत्रकारको आलोचनाबीच उनले पनि बहिष्कार गरिदिएपछि श्रेष्ठलाई हतारमा प्रमुख अतिथिका रुपमा निम्त्याइएको थियो ।

एमसीको भूमिकामा रहेका वरिष्ठ सञ्चारकर्मी दिनेश डिसीले कार्यक्रमको कन्तविजोकलाई ढाकछोप गर्ने निकै प्रयास गरे । उनले आयोजक संस्थाका कमल जिसीको चाकडीपूर्ण प्रशंसा गरेका थिए ।

‘एउटा युवा केटो जसले यो आँट गर्यो, यत्तिको मिडिया अवार्ड सम्भवत नेपाली पत्रकार जगतमा देखिएकै छैन,’ डीसीले हास्यास्पद दावी गर्दै भने ।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल उपस्थित थिए । उनले छोटो भाषण गर्नै पत्रकारितामा नौलो अभ्यास प्रारम्भ भएको र आफू रोमाञ्चित बनेको बताए ।

अवार्डमा महासंघको सहभागीतालाई लिएर उत्पन्न विवादका विषयमा घुमाउरो ढंगले उनले भने, ‘आयोजकले प्रस्ताव गर्यो । सँगै जाउँ भन्ने मत बन्यो । टिकाटिप्पणी भएका छन् । कस्तो कार्यक्रममा सहभागी हुने वा नहुने भन्ने बहसको विषय छ । यसमा महासंघवले समिक्षा गर्ने नै छ । अग्रजलाई सम्मान गर्न पाएकोमा आज अत्यन्त हर्षित छु ।’

ड्रिम हाइ नेपालका कमल जिसीले निराशाकै बीच उत्साह जगाउन प्रयास गरे । उनले अवार्ड कार्यक्रमलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने दावी गरे ।

उनले भने, ‘तीन महिनादेखिको संघर्ष र खटानपछि यो कार्यक्रम आयोजना भएको छ । आगामी वर्ष अझै नयाँ भिजन र डेकोरेसनसहित भिन्दै किसिमले आयोजना गर्ने प्रतिवद्धता गर्दछौं । केही कन्ट्रोभर्सी भएका छन् । आगामी वर्ष एउटा फाउन्डेसन बनाएर कार्यक्रम गर्नेछौं । आर्यघाट नपुगेसम्म यो अवार्ड गरिरहनेछौं ।’

को–कोले पाए अवार्ड ?

यसअघि १९ विधामा मनोनयन सार्वजनिक गरिएको भए पनि १८ विधामा मात्रै अवार्ड घोषणा गरिएको थियो । विजेताहरु यसप्रकार छन् :-

बेस्ट राइजिङ रिपोर्टर

अनिश भट्टराई : इकागज डटकम (बहिष्कार)

बेस्ट फोटो जर्नालिस्ट

वर्षा शाह : देशसञ्चार डटकम (बहिष्कार)

बेस्ट कार्टुनिस्ट

बासु क्षितिज : अन्नपूर्ण पोष्ट (बहिष्कार)

बेस्ट आर्ट एन्ड इन्टरनेटमेन्ट

विजय आवाज : अनलाइनखबर

बेस्ट स्पोर्ट्स जर्नालिस्ट

सरीता श्रेष्ठ : ग्यालेक्सी टिभी (बहिष्कार)

बेस्ट हेल्थ जर्नालस्टि

दिनेश गौतम : अन्नपूर्ण पोष्ट (बहिष्कार)

बेस्ट सोसियल स्टोरी जर्नालिस्ट

नारायण अधिकारी : नेपाल लाइभ (बहिष्कार)

बेस्ट विजनेस जर्नालिस्ट

रञ्जु काफ्ले : राइजिङ नेपाल (बहिष्कार)

वेस्ट युट्यूव क्रियटर

विद्या चापागाईं (बहिष्कार)

बेस्ट युट्युव च्यानल

ओम अग्रवाल : ओएसआर डिजिटल

बेस्ट रेडियो जर्नालिस्ट

अर्जुन पोखरेल : उज्यालो एफएम

बेस्ट टिभी प्रोग्राम होस्ट

रिमा विश्वकर्मा : कमेडी च्याम्पियन

बेस्टी टिभी रियालिटी शो

विशाल भण्डारी : कमेडी च्याम्पियन

बेस्ट टिभी जर्नालिस्ट

नरायण किलम्बू : कान्तिपुर टेलिभिजन (बहिष्कार)

बेस्ट इन्भेस्टिगेटिभ जर्नालिस्ट

प्रकाश बहादुर सिंह : दि हिमालयन टाइम्स (बहिष्कार)

बेस्ट टिभी न्यूज प्रिजेन्टर

अनिता बिन्दू : नेपाल टेलिभिजन (बहिष्कार)

बेस्ट प्रिन्ट प्रिन्ट जर्नालिस्ट

सुरेन्द्र काफ्ले : अन्नपूर्ण पोष्ट (बहिष्कार)

मोस्ट पुपुलर जर्नालिस्ट

ऋषि धमला

पत्रकार महासंघमा रडाको

नेपाल पत्रकार महासंघमा भने यो अवार्ड कार्यक्रमले रडाको उत्पन्न गरेको छ । महासंघले तीन लाख रुपैयाँ लिएर कार्यक्रममा ड्रिम हाइसँग सहकार्य गर्ने सम्झौता गरेको थियो ।

अध्यक्ष विपुल पोखरेलले आफूखुशी यस्तो सम्झौता गरेको भन्दै महासंघका केही पदाधिकारी असन्तुष्ट बनेका छन् । महासचिव रोशन पुरीले आफ्नो डिजिटल हस्ताक्षर दुरुपयोग गरेर विज्ञप्ति जारी गरिएको सार्वजनिक आरोप लगाएका छन् ।

उपाध्यक्ष रमेश विष्टले पनि सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका छन् । व्यापारिक घराना, बैंक तथा वित्तिय संस्था, स्थानीय तह, सरकारी संस्थाहरुसँग रकम तोकेरै चन्दा माग्ने, महासंघको नाम, लोगो पदाधिकारीको हस्ताक्षर प्रयोग गरेर दवाव दिने काम भएको गुनासो सुनिएको उनको भनाइ छ । अवार्ड माफियाहरुले १३ हजारभन्दा बढी पत्रकारहरुको साझा संस्थालाई सडकमा पुर्याएको भन्दै उनले चिन्ता व्यत्त mगरेका छन् ।

व्यापक विरोध भएपछि पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै आयोजकसँग लिएको रकम फिर्ता गर्ने जनाएको छ । यो विवादबारे महासंघको वैठक राखेर छलफल हुनपर्ने दवाव बढिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *