एमाले गोरखामा अध्यक्षसहित ६० जना सर्वसम्मत, केही पदमा चुनाव हुँदै – Nepal Press

एमाले गोरखामा अध्यक्षसहित ६० जना सर्वसम्मत, केही पदमा चुनाव हुँदै

गोरखा । नेकपा एमाले गोरखाको ७औँ जिल्ला अधिवेशनले अध्यक्ष प्रेमबहादुर गुरुङसहित ६० जना सदस्यलाई सर्वसम्मत चयन गरेको छ । शुक्रबार सुरू भएको अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष र सचिवसहित ६० सदस्य सर्वसम्मत चयन भएका हुन् ।

अध्यक्षमा गुरुङ, उपाध्यक्षमा कृष्णबहादुर नेपाली र सचिवमा काजीराम रोकाको एकल उमेदवारी परेको थियो । ‘तीन जना पदाधिकारी, भूगोलतर्फबाट जिल्ला कमिटी सदस्य ५० जना र खुला महिलातर्फबाट सात जना जिल्ला कमिटी सदस्यसहित ६० जना सदस्य सर्वसम्मत भएका हुन्,’ निर्वाचन अधिकृत रमेश अधिकारीले बताए ।

पदाधिकारीमध्ये उपसचिवमा विशाल थापा, सुरेशबाबु श्रेष्ठ र राजन गुरुङले उम्मेदवारी दिएका छन् । दुई उपसचिवका लागि तीन जनाको उम्मेदवारी परेपछि निर्वाचन भएको हो ।

यस्तै, पुरुष खुला सदस्यमा २० सिटमध्ये २९ जनाको उम्मेदवारी परेको छ भने उत्पिडितमा तीन सिटमध्ये १३ जनाको उम्मेदवारी परेको छ । यस्तै, जनजाति पुरुषमा पाँच सिटमध्ये १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । ‘सिटभन्दा बढीको उम्मेदवारी परेपछि उपसचिव, पुरुष खुला, उत्पिडित, जनजातितर्फ निर्वाचन भइरहेको छ,’ अधिकृत अधिकारीले भने । सर्वसहमत हुन नसकेका पद निर्वाचनबाट टुङ्ग्याउन आइतबार बिहान १०ः१५ बजेबाट मतदान सुरू भएको छ । बिहान साढे ७ बजेदेखि मतदान भनि पनि समयमै सुरु हुन सकेको थिएन ।

अधिवेशनमा पाँच सय ९८ जना प्रतिनिधिले मतदान गर्ने छन् । अहिलेसम्म करिब तीन सय जनाले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनबाट एक सय पाँच सदस्यीय जिल्ला कमिटी निर्वाचित हुने अधिवेशन अध्यक्ष मण्डलकी अध्यक्ष तथा केन्द्रीय सदस्य सम्झना देवकोटाले जानकारी दिइन । निर्वाचित कमिटी तथा अध्यक्षले १० प्रतिशत सदस्य मनोनित गर्ने प्रावधान छ ।

मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर