गठबन्धन गरे कांग्रेस पहिलो होइन तेस्रो हुन्छ : उपसभापति गुरुङ (भिडिओ) – Nepal Press

गठबन्धन गरे कांग्रेस पहिलो होइन तेस्रो हुन्छ : उपसभापति गुरुङ (भिडिओ)

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेसलाई चुनाव जित्न कसैको ‘बैशाखी’ आवश्यक नरहेको बताएका छन् ।

स्याङ्जा कांग्रेसको नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा सम्बोधन गर्दै उपसभापति गुरुङले कांग्रेसको दुवै खुट्टा दर्‍हो भएकोले बैशाखी टेक्न जरुरी नरहेको बताए । उनले कम्युनिष्टको बैशाखी टेके कांग्रेस तेस्रो हुने टिप्पणी गरे ।

‘कांग्रेसको आफ्नो खुट्टा दर्‍हो छ । एक्लै लडेर कांग्रेसले बहुमत ल्याउनसक्छ । यदि कम्युनिष्टसँग गठबन्धन गरेर बैशाखी टेक्ने हो भने पहिलो होइन तेस्रो हुनपनि गार्‍हो पर्छ’, गुरुङले भने । उनले गठबन्धन सरकार आन्दोलनको ‘बाइप्रडक्ट’ मात्रै रहेको भन्दै चुनावमा गठबन्धन जरुरी नरहेको बताए ।

‘चुनाव भनेको देउसी खेलेजस्तो होइन । केराको खम्बा चार भाई जम्मा भनेजस्तो होइन । हिजोपनि कांग्रेसले उपेन्द्र,बाबुरा,महन्थ र प्रचण्डपुत्रीहरुलाई जिताएको हो । तर, उनीहरूले खोला तरेपछि लौरो बिर्सिए । फेरि त्यो गल्ती गर्नुहुन्न’, गुरुङले भने । उनले कांग्रेसको काँध चढेर वैतरणी तर्ने सपना कसैले देख्न नहुनेमा जोड दिए ।

कांग्रेसको विधानले रुखभन्दा अन्य चिन्हमा मत दिनेलाई ‘अन द स्पट’ कारबाही गर्ने व्यवस्था गरेको भन्दै गुरुङले रुखमा भोट नदिने छुट कांग्रेसलाई नभएको बताए ।

गुरुङले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा ठूला भ्रष्टाचार र अनियमितताको छानबिन गर्ने उल्लेख भएको स्मरण गराउँदै भ्रष्टाचारका फाइल खोज्न सरकार डराउन नहुने बताए । उनले नेताको नाम जोडिएका सबै भ्रष्टाचार मुद्दाको निष्पक्ष छानिबन गर्ने हिम्मत देखाउन देउवालाई आग्रह गरे ।

‘प्रधानमन्त्रीजी ठूला भ्रष्टाचारको फाइल खोलौं । भ्रष्टाचारीलाई जेलमा हालेर चुनावमा जाने हो भने कसैको साहरा चाहिँदैन, एक्लै चुनाव जितिन्छ’, गुरुङले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर