एमाले रूपन्देही अध्यक्षमा तेजेन्द्र केसी – Nepal Press

एमाले रूपन्देही अध्यक्षमा तेजेन्द्र केसी

रूपन्देही । नेकपा एमाले रूपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी निर्विरोध निर्वाचित भएका छन् । अर्का दावेदार नेता पुरुषोत्तमा घिमिरेले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएपछि नवौं जिल्ला अधिवेशनबाट केसी सर्वसम्मत रुपमा अध्यक्ष बनेका हुन् ।

त्यस्तै उपाध्यक्ष जागेश्वरदेवी चौधरी निर्वाचित भएकी छन् ।

उनी रूपन्देहीको तिलोत्तमा नगरपालिकाको उपप्रमुख हुन् । त्यस्तैगरी सचिवमा यज्ञ गैरे चयन भएका छन् । सचिवमा उम्मेदवारी दिएका खेमप्रसाद लुइटेलले उम्मेदवारी फिर्ता लिएपछि उनी पनि सर्वसम्मत चयन भएका हुन् ।

उपसचिवमा चित्रबहादुर कार्की र हितराज पन्थी चयन भएका छन् । कार्की रूपन्देहीको सैनामैना नगरपालिकाका प्रमुख हुन् ।

रूपन्देही एमालेका प्रभावशाली नेताहरु उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा र अर्का नेता घनश्याम भुसालको गृहजिल्ला हो ।

अधिवेशनले रूपन्देही जिल्ला कमिटी १५१ सदस्यीय बनाएको छ । सबै पदमा निर्विरोध कमिटी चयन भएको नवनिर्वाचित अध्यक्ष केसीले जानकारी दिए ।

उनले सबैको भावना कदर गरेर पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढाउने र सबै कार्यकर्ताले अपनत्व लिने पार्टी बनाउने आफ्नो अठोट भएको बताए ।

शनिबार नै अध्यक्ष मण्डलले यी नाम प्रस्तावित गरेपनि अध्यक्ष र सचिवमा आकांक्षी बढेपछि आज दिउँसो मात्र सहमतिमा टुंगिएको हो ।

को हुन् अध्यक्ष केसी ?

केसी २०४१ सालमा रूपन्देहीको पर्रोहा माविमा तत्कालीन अनेरास्ववियु पाचौंको प्रारम्भिक कमिटी कोषाध्यक्ष हुँदै विद्यार्थी संगठनमा आवद्ध भएका थिए ।

अनेरास्ववियुका पुर्व केन्द्रीय अध्यक्ष एवं हाल नेकपा (एमाले) का पोलिटब्युरो सदस्य खिमलाल भट्टराईका समकक्षी हुन् ।

केसीले ०४६ सालको जनआन्दोलनमा तत्कालीन पश्चिम दक्षिण कमिटी (फर्साटिकर–मुर्गीया–सालझण्डी) को नेतृत्व गरेका थिए ।

अनेरास्ववियु रूपन्देहीको सचिब, तत्कालीन लुम्बिनी अञ्चल कमिटीको सचिव, अध्यक्ष र केन्द्रीय कमिटीको ३ कार्यकालसम्म सदस्य एवं पश्चिमाञ्चल प्रमुख रहेर लामो समय विद्यार्थी आन्दोलनको नेतृत्व गरेको अनुभव नेता केसीसँग छ ।

२०५३ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका उनले खासगरी २०५४ सालको पार्टी विभाजन हुँदा संस्थापन पक्षमा शसक्त भूमिका निर्वाह गरेको हुँदा नेता÷कार्यकर्ता उनलाई भर विश्वास गर्दछन ।

एमाले रुपन्देहीमा ६ कार्यकाल विभिन्न जिम्मेवारीमा रहेर काम गरी पछिल्लो समय पार्टी भित्र विवाद हुँदा जिल्ला सह–संयोजक भएर संकटमा काँध थापेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर