दुई राउटे युवतीसँग मन्त्री झाँक्रीले लाइन् मीत – Nepal Press

दुई राउटे युवतीसँग मन्त्री झाँक्रीले लाइन् मीत

मन्त्री झाँक्री भन्छिन्– गाजलु र सम्झनासँग छुट्टिँदा साह्रै नमिठो लाग्यो

काठमाडौं । फिरन्ते जीवनशैली बिताउँदै आएका राउटे समुदाय स्थायी बसोबासमा मन बसाल्दैनन् । तर, सरकारले उनीहरुलाई स्थायी बासस्थानमै बसाल्ने भन्दै चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन गरेको छ ।

त्यसलाई कार्यान्वयनमा ल्याउन शुक्रबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसहितको सरकारी टोली सुर्खेतको सिम्ता गाउँपालिका–४ कालीखोलामा पुग्यो ।

राउटे समुदायकाबीच पुगेर चाहेकै जस्तो भवन, चाहेकै स्थानमा बनाइदिने प्रस्ताव मन्त्री झाँक्रीले राखिन् । तर, उनको प्रस्ताव राउटे अगुवाहरुले मानेनन् ।

त्यसपछि सरकारी टोलीले एउटा जुक्ति निकाल्यो, ‘मितेरी साइनो गाँस्ने’ । झाँक्रीले सम्झना शाही र गाजलु शाहीसँग मितेरी साइनो गाँसिन् भने भवन विभागका महानिर्देशक पदमकुमार मैनालीले प्रकाश शाहीसँग मित लगाए ।

त्यहाँ टोपी, कपडा र सरसामान आपसमा साटासाट गरी मित लगाइयो । यसले राउटे समुदायमा पनि खुशीयाली छायो । त्यसपछि राउटे अगुवाहरूले अस्थायी भवनमा बस्न सहमति जनाए । अब सहरी विकास मन्त्रालयले अस्थायी आवासको प्राविधिक डिजाइन तयार गरी भवन बनाइदिने छ ।

राउटे समुदायसँग मितेरी गाँसेकी मन्त्री झाँक्रीले व्यक्तिगत खर्चमा ७० थान ब्ल्याङ्केट र एक थान त्रिपाल राउटे समुदायलाई प्रदान गरिन् । राउटे महिलाहरुसँग मितेरी गाँसेकी झाँक्री छुट्दा भने भावुक बनिन् ।

‘साईनो वास्तवमै प्रिय हुने रहेछ,’ उनले सामाजिक संजालमा लेखेकी छिन्, ‘गाजलु र सम्झनालाई अंगालोमा बेरेर धेरै टाढा नजानु म फेरी आउनेछु भनेर छुट्टिदा साहै नमिठो लाग्यो ।’

झाँकीको भनाइ छ, ‘मलाई त साच्चै माया पनि लागेर आयो । प्रकाश शाहीले तिमी मेरो बहिनी हो भन्दा अझै रमाईलो लाग्यो । दाई शब्दमा पनि जिम्मेवारी हुने रहेछ । उहाँले त्यो पनि दर्शाउनु भयो ।’

राउटे समुदायलाई हस्तान्तरण गर्ने भवनको डेमो छिट्टै तयार पार्ने मन्त्री झाँकीको भनाइ छ ।

‘फेरी भेट्ने केही बाचा हाम्रा सामुहिक छन्, केही वाचा मेरा, केही बाचा हाम्रो टिमका छन्,’ उनको भनाइ छ, ‘केही बाचा राउटेतर्फ मेरा आफन्तका छन् । छिट्टै हामीले केही डिजाइन सहित डेमो प्रस्तुत गर्नेछौं ।’

‘यसमा मेरा केही मौलिक अवधारणा छन् । हाम्रो प्राविधिक साथीहरुलाई यो अवधारणा भनेको छु । अब आफ्ना आफ्ना कन्सेप्टहरू अगाडी लिएर छलफल गछौँ र एउटा निष्कर्षमा पुग्नेछौं,’ उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर