‘नागरिक आन्दोलन’को ब्यानरमा अमेरिकी लोगो, चक्रपथ विस्तारमा भूराजनीति घुसाउने को हो ? – Nepal Press

‘नागरिक आन्दोलन’को ब्यानरमा अमेरिकी लोगो, चक्रपथ विस्तारमा भूराजनीति घुसाउने को हो ?

इटहरी । एकथरी जानकारहरु भन्छन्- नेपालमा जति राजनीति हुन्छ, त्यो भन्दा बढी भूराजनीति हुन्छ । आन्तरिक आम्दानीले देश चलाउन नसक्ने नेपालमा वैदेशिक सहयोगको बाध्यतासँग जोडिएर आउने स्वार्थलाई यो भनाईले कहिँ न कहिँ संकेत गर्छ ।

जुन देशले नेपाललाई सहयोग गर्छ त्यो देशको स्वार्थ स्वतः आउने नै भयो । तर, एक देशले गरेको सहयोगमा अर्को देशले बखेडा झिकेका रोचक किस्सा नेपालको पूर्व पश्चिम राजमार्गदेखि नै जोडिन्छ ।

पछिल्लो समय नेपाल भूराजनीतिक चलखेलको केन्द्र बनिरहेको छ । विशेष गरी नेपालमा सन्चालित परियोजनाहरुका सन्दर्भमा चीन र अमेरिका आमने सामने हुने गरेका छन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी पारित नगर्न चीनले लबिङ गरिरहेको चर्चा चलेका बेला शनिबार एउटा दृश्य काठमाडौंमा देखियो । त्यसले पुष्टी गर्‍यो कि चीनले बनाइदिएको काठमाडौंको चक्रपथमा अमेरिकी सहयोगमा बिरोध भएको रहेछ ।

शनिबारको ‘मानव मैत्री चक्रपथः नागरिक सरोकार कार्यक्रम’ का लागि २३ गते नै विज्ञापन गरिएको थियो ।

नारायण वाग्ले नेतृत्वको वृहत नागरिक आन्दोलनको शनिबारको विरोध कार्यक्रममा अमेरिकी सहयोग परियोजना (यूएसएड)देखि फेज नेपाल नामक एनजीओहरुको लोगो राखिएका थिए ।

चक्रपथको विषयमा अमेरिकी सहयोग परियोजनाको लोगोसहित विरोध भएपछि सामाजिक संजालमा व्यापक प्रतिक्रिया आए । विरोध आएपछि अमेरिकी परियोजना यूएसएडले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलबाट आफ्नो सहभागिता नभएको भन्दै बचाउ गरेको छ ।

तर आफ्नो संलग्नता भएको उसले घुमाउरो तरिकाले पुष्टी समेत गरेको छ । विरोध कार्यक्रममा सहभागी भएको डाक्टर शीला बर्मा अध्यक्ष भएको एनजीओ फेज नेपाललाई आफ्नो सहयोग भएको युएसएडले उल्लेख गरेको छ ।

उसले ट्विट गर्दै भनेको छ, ‘यूएसएड अपांगता भएका व्यक्तिहरुलाई स्वतन्त्र र स्वाभिमानपूर्वक बाँच्नलाई शशक्तिकरण गर्न हाम्रो स्थानीय साझेदार फेज नेपाललाई सहयोग गर्छ । हामी उनीहरुको देशभरको अपांगता समावेशीताको कामको तारिफ गर्छौ ।’

सामान्यतः विदेशी दाताहरुको पैशाको कार्यक्रम चलाएपछि हुने सामान्य सेमिनारदेखि गोष्ठीहरुमा दाताहरुको लोगो राखिन्छ । त्यही तरिका अपनाएर फेज नेपालले यूएसएडको लोगो राखेको देखिन्छ ।

यूएसएडले आफू नदेखिएर आफ्ना साझेदारबाट आफ्नो मुद्दामा काम गराउन खोजेको छ । चक्रपथ बिस्तारको पहिलो चरणको काम सकिएर दोस्रो चरणको काम भइरहेका बेला नागरिक आन्दोलनका नाममा भएको अमेरिकी प्रायोजनको विरोधलाई सामान्य रुपमा लिन भने मिल्दैन ।

पछिल्लो समय विशेष गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जनमत निर्माण गर्न गठन भएको वृहत नागरिक आन्दोलनमा नारायण वाग्ले, खगेन्द्र संग्रौला, डा. गोविन्द केसी, मोहना अन्सारी लगायत समाजका विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरु संलग्न छन् ।

वाग्लेको फेसबुक पेजबाट जारी भएको ‘रिङरोड नगारिक सरोकारः चक्रपथलाई मानवमैत्री बनाऔं’ शीर्षकको प्रेस विज्ञप्तिमा सुरक्षित सडकको परिकल्पनासहित अघि बढाइएको अभियानमा आम नागरिकको सहभागितासहित साझा अभियानमा सहभागी हुन र नागरिक सर्वोच्चता कायम गराउन अपील गरिएको छ ।

यो समूहले यसअघि बालाजु बाइपास सडक बिस्तार तथा कमलपोखरी पुनर्निमाणविरुद्ध पनि आन्दोलन गरेको थियो । चक्रपथको विस्तारित खण्डलाई सार्वजनिक यातायात, अपांगतामैत्री, साइकल तथा पैदलयात्री मैत्री बनाउन भनेर अहिलेको आन्दोलन चलाइएको वृहत नागरिक आन्दोलनको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर