को बन्ला देउवाको राजनीतिक उत्तराधिकारी ? – Nepal Press

को बन्ला देउवाको राजनीतिक उत्तराधिकारी ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सकिएको महिनादिन पनि पुगेको छैन । यद्यपि कांग्रेसवृत्तमा ‘महाधिवेशन सकिएकै दिनदेखि अर्को महाधिवेशन लाग्ने’ प्रचलन छ । यहीकारण दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाको राजनीतिक उत्तराधिकारी को होला ? भन्ने चासो पनि बढेको छ ।

१४ औं महाधिवेशनको अन्तिम चरणको निर्वाचनमा देउवाले झण्डै ६० प्रतिशत मत हासिल गरे । केन्द्रीय समितिका ८० प्रतिशतभन्दा बढी पदमा देउवा प्यानलले जित हासिल गर्‍यो । यसर्थ कांग्रेसको आन्तरिक शक्ति संरचनाभित्र देउवा सबैभन्दा बलियो देखिन्छन् । कांग्रेसमा सभापतिपछि शक्तिशाली मानिने महामन्त्रीमा भने देउवा प्यानलका उम्मेदवार विजयी हुन सकेकनन् ।

डा.शेखर कोइराला नेतृत्वको प्यानलका गगन थापा र प्रकाशमान सिंह नेतृत्वको प्यानलका विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भए । उपसभापतिमा देउवा प्यानलबाट पूर्णबहादुर खड्का र शेखर प्यानलबाट धनराज गुरुङ निर्वाचित भएका छन् । सहमहामन्त्रीका ८ मध्ये ६ जना देउवा प्यानलका छन् । देउवा टिमका कतिपय सिनियर नेताहरु केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेका थिए ।

देउवाको राजनीतिक तागत

कांग्रेसमा अघिल्लो कार्यकालभन्दा यसपटक देउवाको राजनीतिक तागत बढेको छ । संस्थापन इतर भनिएको समूहबाट साझा उम्मेदवार बन्न नसक्दा वरिष्ठ नेता रामचन्द्र पौडेल तटस्थ रहे । उनको तटस्थताको राजनीतिक लाभ देउवालाई मिल्यो । देउवा स्वयंले पौडेललाई सत्तारुढ गठबन्धनको संयोजक बनाएका थिए । अहिले गठबन्धन संयोजकको रुपमा पौडेलले सक्रियता बढाइरहेका छन् ।

अर्कोतिर देउवाका प्रतिस्पर्धी मानिएका निवर्तमान महामन्त्री डा.शशांक कोइाराला १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको मात्रै उम्मेदवार बने । आफ्नै दाजु शेखरलाई जिताउन उनले कुनै औपचारिक आग्रह गरेनन् । देउवा र शेखर दुवैको प्यानलमा परेका शशांक दाई शेखरको गुटमा सक्रिय छैनन् । १५ औं महाधिवेशनमा सभापति लड्ने उद्घोष गरेका छन् र त्यसका लागि सभापति देउवालाई चिढ्याउने पक्षमा छैनन् ।

सभापतिमै प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणमा देउवालाई समर्थन जनाए । उनीहरु दुवै सभापति देउवासँग ‘दूरी’ बढाउने पक्षमा छैनन् । यसर्थ कांग्रेसमा देउवाको राजनीतिक तागत बढेको छ ।

देउवाको उत्तराधिकारी को ?

सभापति देउवाले अहिलेसम्म कसैलाई पनि उत्तराधिकारी बनाउने संकेत गरिसकेका छैनन् । यद्यपि कांग्रेस विधान अनुसार सभापतिमा देउवाको यो अन्तिम कार्यकाल हो । आफ्ना राजनीतिक सहयोगीसँगै श्रीमती आरजु राणा देउवालाई समेत स्थापित गराउनुपर्ने दायित्व देउवासामु छ । १५ औं महाधिवेशनमा देउवाको सद्भाव हासिल गर्दै सभापतिको लागि प्रतिस्पर्धा गर्न चाहनेहरु झण्डै आधा दर्जन छन् ।

राजनीतिक रुपमा पूर्णबहादुर खड्कालाई देउवाको उत्तराधिकारीको रुपमा हेर्न सकिन्छ । सहमहामन्त्री, महामन्त्री हुँदै उपसभातिसम्मको राजनीतिक जिम्मेवारी उनले देउवाको विश्वासपात्रकै रुपमा पाएका हुन् । उपसभापति भएकाले १५ औं महाधिवेशनमा देउवाको समर्थनसहित सभापतिको प्रत्याशी बन्नु खड्काको स्वभाविक चाहना हुनेछ । देउवाको उत्तराधिकारी मानिएका विमलेन्द्र निधिले यसपटक सभापतिमा प्रतिस्पर्धा गरेपछि पूर्णलाई उत्तराधिकारी बन्न सहज भएको छ ।

देउवाको राजनीतिक उत्तराधिकारी बन्ने रेसमा पूर्व महामन्त्री प्रकाशमान सिंह पनि छन् । देउवासँगको राजनीतिक असमझदारीलाई १४ औं महाधिवेशनमै सिंहले अन्त्य गरेका छन् । चाक्सीबारीमा देउवासँग हसिलो मुद्रामा उभिएर सिंहले दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाउने उद्घोष गरेका थिए ।

सिंहको समर्थन नै देउवा जितको महत्वपूर्ण कडी बनेको थियो । विगतमा देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) हाक्दा प्रकाशमान उपसभापति थिए । विगतदेखिको साथलाई १४ औं महाधिवेशनमा नवीकरण गरेसँगै सिंहलाई पनि देउवाको सम्भावित राजनीतिक उत्तराधिकारीको रुपमा हेरिएको छ ।

निवर्तमान महामन्त्री डा. शशांक कोइराला १४ औं महाधिवेशमा कतै खुलेनन् । यद्यपि देउवा र शेखर दुवैको टिममा परेर खुला केन्द्रीय सदस्यमा सर्वाधिक मत पाए । शेखर समूहको बैठकमा अनुपस्थित भएका कारण शशांक पनि राजनीतिक रुपमा देउवासँगै जोडिएको चर्चा कांग्रेस वृत्तमा हुने गरेको छ ।

फरक टिमबाट महामन्त्री भए पनि अघिल्लो कार्यकालमा शशांकको भूमिकाले देउवालाई फाइदा पुगेको बताइन्छ । समकालीन नेताहरु यसैपटक प्रतिस्पर्धा गरेकोले आफू १५ औं महाधिवेशनमा नेतृत्वको स्वभाविक दावेदार रहेको शशाकंले बताउने गरेका छन् । त्यसका लागि उनले देउवाको साथ खोज्नेछन् । दाजु शेखरसँग राजनीतिक सम्बन्ध सुमधुर नरहेका कारण देउवाको समर्थनसहितको सभापति बन्ने रणनीति शशांकले अख्तियार गरेका छन् ।

देउवाको राजनीतिक उत्तराधिकारी बन्ने दौडमा उनकै पत्नी आरजु राणा देउवा पनि छिन् । यसपटक कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित आरजुलाई स्थापित गर्नुपर्ने चुनौती देउवालाई पनि छ । कांग्रेसमा विरासतको राजनीति नौलो होइन । त्यसमा पनि देउवा टिममा आरजुलाई भावी नेतृत्वका रुपमा देख्न चाहनेहरुको कमी छैन । कतिपयले उनलाई आगामि संसदीय निर्वाचनपछि नै मुलुकको पहिलो महिला प्रधानमन्त्री बनाउनुपर्ने लबिङ थालेका छन् ।

विगतमा गिरिजाप्रसाद कोइरालाले छोरी सुजातालाई स्थापित गराउन गरेको प्रयत्न देउवाले नजिकबाटै बुझेका छन् । देउवाको राजनीतिक यात्रा र निर्णयप्रक्रियामा आरजुको योगदान र प्रभाव दुवै रहने गरेको छ । पार्टीभित्र आफ्नो पकडमा रहेको राजनीतिक तागतलाई आरजुको राजनीतिक उन्नयनका लागि देउवाले प्रयोग नगर्लान् भन्ने अवस्था छैन ।

१४ औं महाधिवेशनमा देउवाको प्यानलमा नअटे पनि महामन्त्री जितेका विश्वप्रकाश शर्मा देउवाको राजनीतिक उत्तराधिकारीका अर्का दावेदार हुन् । १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शर्मालाई देउवाले नै प्रवक्ताको जिम्मेवारी दिएका थिए । देउवाको टिममा नअटेपछि छोटो समय विद्रोह गरेका विश्वप्रकाशले दोस्रो चरणको निर्वाचनमा देउवाकै लागि मत मागेका थिए ।

पुस्तान्तरणको एजेण्डाले कांग्रेसमा प्रभाव बढाएको सन्दर्भमा १५ औं महाधिवेशनमा शर्मा पनि सभापतिको दावेदार रहनेछन् । निर्वाचित २ महामन्त्रीमध्ये देउवासँग शर्माकै निकटता रहने भएकोले देउवाको विश्वास जितेर सो टिमकै उत्तराधिकारी बन्ने शर्माको प्रयत्नपनि स्वभाविक नै रहनेछ ।

लामो समयदेखि देउवाको राजनीतिक यात्रामा महत्वपूर्ण सहयोग गर्दै आएका गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद लगायतपनि देउवाको राजनीतिक उत्तराधिकारीका दावेदार हुन् । यद्यपि यसपटक पदाधिकारीमा नअटेका कारण १५ औं महाधिवेशनमै देउवाको राजनीतिक विरासत हासिल गर्न उनीहरुलाई सहज भने हुनेछैन ।

शेखरको चाहिँ को त ?

सभापतिका निकटतम प्रतिस्पर्धी रहेका शेखर कोइरालाको समूहको बैठकमै उनको उत्तराधिकारीबारे चर्चा चलेको थियो । ‘एकपटक यसैपटक’ भन्ने नारा लिएका शेखरले १५ औं महाधिवेशनमा आफू सभापतिको प्रत्याशी नहुने बताएका छन् । यद्यपि त्यस्तो अडान नराख्न र मैदानमा दह्राेसँग उभिन शेखरलाई निकटस्थहरुको दवाव छ ।

शेखर टिमबाट धनराज गुरुङ उपसभापति र गगन थापा महामन्त्रीमा निर्वाचित भएका छन् । १५ औं महाधिवेशनमा शेखर समूहको राजनीतिक विरासतको नेतृत्व गर्न यी दुवै नेता प्रयत्नशील रहनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर