चितवनमा सर्वसम्मत नेतृत्व चयनमा सकस, अधिवेशन २६ गतेसम्म स्थगित – Nepal Press

चितवनमा सर्वसम्मत नेतृत्व चयनमा सकस, अधिवेशन २६ गतेसम्म स्थगित

चितवन । सर्वसम्मत नेतृत्व चयनमा सकस भएपछि एमाले चितवनको १० औँ जिल्ला अधिवेशन लम्बिएको छ । २६ गतेसम्मका लागि स्थगित एमाले चितवनले जनाएको छ ।

२३ गते उद्घाटन भएको अधिवेशनको आज बन्दसत्र चलेको थियो । एक दिन स्थगित गरेर २६ गते बिहान कृष्णपुर स्थित एमाले चितवनको पार्टी कार्यालयमा पुनः बन्द सत्र सुरु हुनेछ । जिल्ला अध्यक्षमा ४ जना आकांक्षी छन् ।

कृष्णप्रसाद भुर्तेल, तेजेन्द्रबहादुर खड्का, रामप्रसाद न्यौपाने र कमलप्रसाद पाठक छन् । मेघौलीका भुर्तेल बागमती प्रदेश सांसद हुन् । खड्का २०७३ मा जिल्ला उपाध्यक्षमा निर्वाचित भएका थिए ।

माडीका न्यौपाने नेकपा महानगर अध्यक्ष बनेका थिए । खैरहनीका पाठक जिल्ला कमिटि र युवा संघमा लामो अवधि सक्रिय छन् । पाठक उपाध्यक्ष वा सचिव पाए अध्यक्षको दावी छोड्ने स्रोतले जनाएको छ । अन्य ३ जना सर्वसम्मत आफूलाई अध्यक्ष बनाउनुपर्ने लविङ छन् । उपाध्यक्षमा पाठक वा अहिलेका सचिव प्रकाश खनाल शैलेसको दावी छ ।

पाठकलाई उपाध्यक्ष बनाएर खनाललाइ सचिव बनाउने प्रयास भइरहेको स्रोतले बताएको छ । सचिवमा प्रकाश ढुंगाना र घनश्याम कँडेलको नाम पनि चर्चामा छ ।

सर्वसम्मत गराउँदा ढुँगाना र कँडेल मध्ये एकलाई उपसचिव बनाइने देखिन्छ । महिला तर्फबाट उपसचिवमा प्रदेश सदस्य सुनिता अधिकारी र २०७४ मा महानगर उपमेयरका उम्मेदवार बनेकी दिव्या शर्माको नाम चर्चामा छ ।

१ सय २० सदस्यका लागि करिब ५ सय जना आकांक्षी देखिएका छन् । आजको बन्दसत्रमा भुगोलका तर्फबाट जिल्ला सदस्यको नामावली सिफारिस गर्न सम्बन्धित नगर तथा गाउँकमिटिलाई जिम्मेवारी दिइएको छ ।

भरतपुर महानगरबाट ३२, इच्छाकामनाबाट ७, कालिकाबाट ८, राप्तीबाट ११, खैरहनीबाट ११, रत्ननगरबाट १२, माडीबाट ७ जना जिल्ला सदस्यको नाम सर्वसम्मत सिफारिस गर्न भनिएको छ । महानगरबाट जनजातितर्फ २ महिला सहित ४ जना र दलित तर्फ १ महिला सहित २ जना जिल्ला सदस्य हुनेछन् । यस्तै अन्य स्थानीय तहमा जनजातितर्फबाट १ महिला सहित २ जना चयन हुनेछन् ।

यस्तै भुगोल बाहेक जिल्लाभरबाट ६ जना दलित, २ जना मजदुर, मुस्लिम, मधेसी र अपांगबाट १(१ जना जिल्ला सदस्य बन्नेछन् । खुल्लाबाट ३ महिला सहित १६ जना जिल्ला सदस्य चयन हुनेछन् ।

नगर तथा गाउँ कमिटिले भुगोल तर्फको सर्वसम्मत नाम पठाउन नसके सदस्य पदमा पनि चुनाव हुनेछ । जिल्ला नेतृत्व सर्वसम्मतमै चयन गरिने जिल्ला अध्यक्ष पार्वती रावलले दावी गरिन् । नेतृत्व चयन गर्न १६ सय प्रतिनिधि छन् ।

आजको बन्दसत्रमा कार्यलय सचिव चन्द्रकान्त न्यौपानेबाट आर्थिक प्रतिवेदन र जिल्ला अध्यक्ष रावलबाट राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गरिएको थियो । दुवै प्रतिवेदन सुझाव सहित पारित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर