स्वीस र फ्रान्सपछि थर्ड लेबलको स्की प्रशिक्षक नेपालमै – Nepal Press

स्वीस र फ्रान्सपछि थर्ड लेबलको स्की प्रशिक्षक नेपालमै

काठमाडौं । पर्वतीय क्षेत्रमा खेलिने साहसिक खेलमध्येको मुख्य खेल स्कीका लागि थर्ड लेबलसम्मको प्रशिक्षक उत्पादन नेपालमा नै सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तरगत रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षक उत्पादन सुरु गरेको छ ।

यस अघि स्वीजरल्यान्ड र फ्रान्सको अल्पाइन क्लबले नेपाली पर्वतारोहण गाइडलाई दोस्रो तहको स्की तालिम दिँदै आएको थियो तर हाल नेपालमा तालिम दिन सुरु भएको प्रतिष्ठानका प्रशासकीय प्रमुख उत्तम भट्टराईले जानकारी दिए । स्वीजरल्याण्डबाट थर्ड लेबलको नेपाली प्रशिक्षक उत्पादन भएपछि लेभल–१ र २ को प्रशिक्षक नेपालमै उत्पादन गर्न सुरु भएको हो ।

प्रतिष्ठान र नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघले संयुक्त रुपमा तालिमको आयोजना गरी स्कीको लेभल–१ तालिम लिइएका आठ जनालाई स्की लेभल–२ र छ हजार मिटर उचाइका हिमाल आरोहण गरेका मध्ये २० जनालाई स्की लेभल–१ को तालिम दिन लागेको भट्टराईले जानकारी दिए ।

२०७८ पुस र माघ महिनामा सञ्चालन हुने उक्त तालिम छ हजार उचाइका हिमाल क्षेत्रमा आयोजना हुने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले बर्खायाममा मुस्ताङको ६,३६१ मिटरको भृकुटी पिकमा स्की तालिम सम्पन्न गरेको थियो । छ वर्षयता देखि व्यावसायिक स्की खेलको विकास भएको थियो भने नेपाल पर्वतीय प्रतिष्ठानले २०७५ साल देखि तेस्रो स्तरको दक्ष स्की प्रशिक्षकलाई प्रशिक्षण दिन थालेको थियो ।

स्कीको सम्भावना देखिएपछि आन्तरिक तथा वाह्य पर्यटनको प्रवद्र्धन गर्ने लक्ष्यसहित प्रशिक्षक प्रशिक्षित गर्न शुरु गरिएको भटट्राईले जानकारी दिए । यस अघि अन्तराष्ट्रिय पर्वतारोहण पथप्रदर्शक छिरिङ जाङबु, रितेन जाङबु र आङदावा शेर्पाले स्विजरल्याण्डबाट थर्डलेवलको स्की प्रशिक्षक बनी सकेका छन् ।

अन्य देशभन्दा फरक हुने हाइअल्टिच्युट स्कीको नेपालमा प्रशस्त सम्भावना रहेको भन्दै प्रचारप्रसारसहित जनशक्ति व्यवस्थापन गर्न दक्ष प्रशिक्षक तयार पार्न थालिएको हो । प्रतिष्ठानले सोलुको मेरापिक, खप्तड, बागलुङको ढोरपाटन, मुक्तिनाथ, दोलखाको सैलुङ र मुस्ताङको भृकुटी पिकमा सम्भाव्यता अध्यन गरी स्की खेल्नयोग्य गन्तव्यमा विकास गरिसकेको छ ।

तीन हजार मिटरमाथिका हिमालमा स्की खेल्न सकिने अध्ययनले देखाएको छ । स्की गाइड र नियमावली नहुनु, भौगोलिक विकटता, होटललगायत सुविधा नहुँदा नेपालमा स्कीको विकास हुन नसकेको प्रशिक्षक छिरिङ जाङबु शेर्पाले बताए । नेपालमा स्की खेल्न व्यक्तिगत रूपमा आउने गरे पनि सामूहिक रूपमा नआउँदा राज्यले राजस्व संकलन गर्न सकेको छैन ।

‘पर्वतारोहण पर्यटकको सम्भावना बढी छ, स्की पनि यसको एउटा माध्यम हो । जनशक्ति उत्पादनमा मन्त्रालय लागि परेको सस्कृति, पर्यटन तथा नागरिक उडड्नय मन्त्रालयका प्रवक्ता टोकराज पाण्डेले बताए । सरकारले सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । स्कीलाई थप सहज र व्यवस्थित बनाउन समयानुकूल ऐननियम परिमार्जन गर्नु आवस्यकता रहेको प्रशिक्षकहरुको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर