कैलाली एमाले अध्यक्षमा सहमति जुटाउन सकस, अध्यक्षका तीनै दाबेदार चुनावी तयारीमा – Nepal Press

कैलाली एमाले अध्यक्षमा सहमति जुटाउन सकस, अध्यक्षका तीनै दाबेदार चुनावी तयारीमा

कैलाली । सुदूरपश्चिममा एमालेको सबैभन्दा धेरै संगठि सदस्य रहेको कैलालीमा नेतृत्व दाबी गर्नेहरूबीच सहमति जुट्न सकेको छैन । वर्तमान अध्यक्ष रतन थापा पुनः अध्यक्षमा दोहोरिने बताइरहेका छन् । उनीबाहेक उपाध्यक्ष रणबहादुर चन्द र जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेयले पनि अध्यक्षमा दाबी गरिरहेका छन् ।

शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ । तर, अध्यक्षका आकांक्षीबीच सहमति हुन नसक्दा निर्वाचन हुने सम्भावना बढेको छ ।

एमाले सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिव लेखराज भट्ट र कैलाली इन्चार्ज नरदमुनि रानाले यसअघि नै सहमतिको आधारमा नेतृत्व चयन गर्न सुझाव दिइरहेका थिए । तर, अहिलेसम्म अध्यक्षमा दाबी गरेकाहरूबीच सहमति हुन सकेको छैन ।

‘कैलालीमा एमाले बलियो अवस्थामा देखिएको छ । यसलाई अझै बलियो बनाउन आवश्यक छ । त्यसैको लागि यही नेतृत्वलाई निरन्तरता दिन मेरो उम्मेदवारी हो’ वर्तमान अध्यक्ष रतन थापाले बताए ।

उनले एकताको भावना अझै बलियो हुन बाँकी रहेको हुँदा आफ्नो नेतृत्वमा जिल्ला कमिटी तयार गर्न आवश्यक रहेको बताए ।

अध्यक्षका अर्का आकांक्षी रणबहादुर चन्द नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताउँछन् । ‘तीनै तहको निर्वाचन आइरहेका छन् । हामीले कैलालीमा बलियो एमाले बताउन आवश्यक छ ’उनले भने ‘बलियो एमाले बनाउन अहिलेको नेतृत्व सक्षम छैन नेतृत्व परिवर्तन हुनु पर्छ ।’

अर्का आकांक्षी डेजी पाण्डे पनि नेतृत्व परिवर्तन हुनुपर्ने बताउँछन् । ‘ हामीले दुवै जनाको कार्यकाल हेरिसकेका छौँ, उहाँहरूले त्यति धेरै गर्न सक्नु भएन ’उनले भने, ‘अब मेरो काँधमा जिम्मेवारी आएपछि एमालेलाई सबैको मन जित्ने पार्टी बनाउँछु ।’

कैलालीमा २२ हजार बढी संगठित सदस्य छन् । आयोजक कमिटी र प्रतिनिधि गरी करिब ५६६ जनाले मतदान गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर