रसिलो उखु उत्पादन गर्नेको निरस कथा (भिडिओसहित) – Nepal Press

रसिलो उखु उत्पादन गर्नेको निरस कथा (भिडिओसहित)

सिरहा । सिरहा, खोरियाका किसान मो. ताहिरले ११ विगाहामा उखु खेती गरेका छन् । उनले चार विगाहामा लगाएको उखु काटिसके ।

ट्याक्टर भाडामा लिएर उनले काटेको उखु सिरहाकै हिमालय सुगर मिल लगेर बेचे पनि । तर उनको हात खाली छ । मिलले एक रुपैयाँ पनि दिएको छैन ।

करिब ६ लाख रुपैयाँ लगानी गरेर उखु उब्जाएको उखु बिक्रीबाट पैसा नपाएपछि उनी निरास छन् । चिनी मिलमै भेटिएका उनले भने, ‘करिब ६–७ सय क्विनटल उखु मिललाई बेचिसके । तर कति रुपैयाँ दिन्छन्, त्यो अझै थाहा छैन ।’

उनका अनुसार मिलले उखु तौल गरेर राख्छ, अनि परिमाण लेखेर पर्ची दिन्छ । तर रुपैयाँबारे केही उल्लेख गर्दैन । रकम अभावले खेतको उखु काट्न पनि समस्या भएको उनले सुनाए । मजदुरलाई पैसा दिन नसक्दा उखु बाँकी उखु काट्ने काम नै रोकिएको उनले दुखेसो गरे ।

‘उखु लगाउन मलखाद किन्नुपर्छ भनेर मिलसँग ५० हजार रुपैयाँ मागेको थिए’, उनले गुनासो गरे, ‘मिलले पनि दिन्छु भनेको थियो । आजभोलि गर्दागर्दै उखु उम्रिसक्यो । मिलले पैसा दिएन ।’

उनले सरकारले पनि अनुदान रकम समयमा नदिने गरेको गुनासो गरेका छन् । अब खेती गर्नै नसकिने अवस्था आएको उनले बताए । खेती गर्न चाहेका बेला रुपैयाँ नपाउँदा पनि समस्या हुने गरेकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

धारापानी, धनुषाका किसान शंकर शर्माले नगदेबाली भनेर उखु खेती सुरु गरे पनि सधैं उधारोमा बेच्न बाध्य भएको बताए । उनले ४–५ ट्याक्टर उखु दिएपनि मिलले पेश्की पनि नदिएको बताए । उनले भने, ‘ठिक छ, सरकारले उखुको मूल्य तोक्न ढिलाइ गर्यो । तर मिलले पेश्कीस्वरुप त केही रुपैयाँ दिँदा हुन्थ्यो नि ! त्यो पनि छैन ।’

चिनी मिलमा रात काट्नै मुस्किल

धारापानीकै किसान शर्मा उखु ट्याक्टरमा लिएर मिल पुगेको दुई दिन भइसक्यो । तर उनको उखुको तौल कतिबेला हुन्छ ठेगान छैन । उनी चिसोमा भुइँमै सुतेर उखुको तौल गर्ने पालो कुरिरहेका छन् ।

मिलले उखु तौल गर्न बढी समय लगाउँदा किसान र ट्याक्टर चालकहरु समस्या झेल्न बाध्य छन् । कतिपय किसान दिनभर कुर्दा पनि पालो नआएपछि घर फर्किन्छन् । र उखु तौल गराएर पर्ची ल्याइदिने जिम्मा ट्याक्टर चालकलाई दिन्छन् ।

मिलमा उखु बोकेर आएका ट्याक्टरको ठूलो लाइन लागेको छ । तर एक ठाउँमा मात्र उखुको तौल गरिन्छ । सिरहाको राघोपुरबाट उखु बेच्न पुगेका किसान विलेक्षण सदाले मिलको लापरबाहीले आफूहरु समस्या झेलिरहेको बताए ।

उनले भने, ‘कहिलेकाहीँ त २–३ दिनसम्म लाइन बसेर उखुको तौल गराउँछु । हिजो दिउँसो आएँ । तर आज पनि पालो आउने सम्भावना देख्दिनँ ।’ आजभोलि यतिधेरै जाडो भए पनि मिलले आगो ताप्न दाउरा समेत नदिँदा रात काट्न सकस भएको उनले गुनासो गरे ।

उनले भने, ‘दिन त जसोतसो कट्छ, जब साँझ पर्छ, अनि जाडो थेग्नै गाह्रो हुन्छ ।’ पहिलोपटक उखु बेच्न आउने किसानले ओढ्ने कम्बल नल्याउने गरेका कारण बढी समस्यामा पर्ने गरेको उनको भनाइ छ ।

ट्याक्टर चालक अर्जुन पासवानले मिलमा चोरी हुने गरेकाले पनि राति पनि बस्नुपरेको सुनाए । ‘एक त ट्याक्टरको पाटपुर्जा चोरी हुने डर हुन्छ’, उनले भने, ‘अनि प्रत्येक १०–१५ मिनेटमै लाइनमा ट्याक्टर अगाडि बढाउनुपर्छ । त्यसैले रातभर यहीँ बस्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर