जनभरोसा र संगठनात्मक शक्तिको आधारले एमाले नै देशको नेता : विष्णु पौडेल – Nepal Press

जनभरोसा र संगठनात्मक शक्तिको आधारले एमाले नै देशको नेता : विष्णु पौडेल

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले विभिन्न प्राविधिक कारणले एमाले प्रतिपक्षमा रहे पनि जनताले भर गरेको र संगठनात्मक शक्तिको आधारले देशको नेता भएको बताएका छन् ।

एमाले रुपन्देहीको अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले नेकपा एमालेलाई कमजोर पार्ने षड्यन्त्रलाई सफल हुन नदिने बताएका छन् । मुलुक निर्वाचनमा होमिइसकेकाले आगामी तीनै तहको नेकपा एमालेले आफूलाई श्रेष्ठ सावित गर्नका लागि हरेक कार्यकर्ताले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने नेता पौडेलको आग्रह थियो ।

पार्टीभित्रका अवसरवादी तत्वहरु केही व्यक्तिगत लोभमा बाहिरिएकाले अब पार्टी थप बलियो भएको बताउँदै उनले एमालेको शक्ति देखेर अन्य सबै शक्ति एक भएर गठबन्धन गरेको उनको तर्क थियो ।

नेकपा एमालेका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले विकासको दृष्टिले जिल्लाको दक्षिणतर्फ प्रयाप्त विकास पुग्न नसकेकोले अब दक्षिण तर्फबाट कामको थालनी गर्नुपर्ने र त्यो अभियानको थालनी एमालेले गरेको बताए ।

जनमतबाट नेकपा एमाले फेरि जिम्मेवारीमा आईपुग्ने दाबी गर्दै उनले यसका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताए । एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले ठूला नेताहरु पैसाको लोभमा पर्न नहुने बताउँदै पार्टी पुँजिवादबाट जोगिनुपर्ने धारणा राखे ।

एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीको अध्यक्षता, उपाध्यक्ष पुरुषोत्तम घिमिरेको स्वागत तथा सचिव जागेश्वरीदेवी चौधरीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

एमाले रुपन्देहीको नयाँ नेतृत्वका लागि नेताहरु तेजेन्द्र केसी, पुरुषोत्तम घिमिरे, वासुदेव घिमिरे, हितराज पन्थी, यज्ञ गैरे, गोपाल राना, जागेश्वरीदेवी चौधरी मैदानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर