चितवनका सीडीओले माफी मागे, माछा व्यवसायीसँग ६ बुँदे सहमति – Nepal Press

चितवनका सीडीओले माफी मागे, माछा व्यवसायीसँग ६ बुँदे सहमति

चितवन । चितवनको चर्चित माछा प्रकरणमा  प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङ र मत्स्य व्यवसायीबीच ६ बुँदे सहमति भएको छ । सिडिओ तामाङले मत्स्य व्यवसायीसमक्ष आत्मालोचना समेत गरेका छन् ।

नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीले संघ, जिल्ला प्रशासन र महानगर आपसी समन्वय, समझदारी तथा सहकार्य गरी अघि बढ्ने निर्णय भएको बताए ।

६ बुँदे सहमतिमा मत्स्य व्यवसाय नियमन तथा अनुगमनमा समझदारीका विषयहरु उल्लेख छन् ।

स्वस्थकर तथा बिक्री कक्षको मापदण्ड तयार गरी कार्यान्वयन गर्ने, फर्मालिन नियन्त्रण गर्न परीक्षणको लागि नेपाल मत्स्य व्यवसायी संघका प्रतिनिधि समेत टोली गठन गरी कार्यान्वयन गर्ने र माछा ढुवानी गर्दा हुने अनियमितता अनुगमन गरी न्युनिकरण गर्ने सहमति भएकाे छ ।

यस्तै माछा निकाल्दा प्रयोग हुने जलहरीलाई सहजीकरण गर्ने, मत्स्यसँग सम्बन्धित समस्या आपसी समझदारीबाट निकास निकाल्ने, माछा ढुवानी गर्ने गाडीमा जलहरी बोकेर हिँड्दा बाटोमा पानी चुहिने आदि जस्ता समस्याहरुबाट व्यवसायीलाई समस्या परेको हुँदा सहयोग गर्ने तथा समन्वय गर्ने लगायतका काम गरिने उल्लेख छन् ।

यो पनि पढ्नुहोस्ः चितवनका सीडीओको धाकधम्की स् श्रीमतीलाई सस्तोमा माछा नदिएको भन्दै पसल ‘सील’

सीडीओ श्रीमतीले यही १८ गते ५ केजी ३ सय ग्राम माछा महंगोमा बेचेको भन्दै आक्राेशित बनेका थिए । सीडीओ श्रीमतीले सरकारी गाडी प्रयोग गरेर भरतपुरबाट करिब २५ किमी पर रहेको पोखरीमै माछा किन्न पुगेको तथ्य बाहिरिएको थियो । पोखरीबाटै ७ गते जलकपुर माछालाई २ सय ४० रुपैयाँमा किनेकी सीडीओ श्रीमतीले १८ गते दिउँसो ३ सय रुपैयाँमा किन्नुपरेपछि सीडीओले आफू ठगिएको अभिव्यक्ति दिएका थिए ।

खरिद-बिक्री बिल माग्ने, पसलको माछाको गुणस्तर मापन गर्न हेटौंडासम्म पठाउने काममा सक्रिय सीडीओको चर्को आलोचनापछि गल्ती स्वीकारेको स्रोतको दावी छ ।

‘आवेशमा आएर गर्न नहुने काम गरेको महसुस गर्नुभयो’, सीडीओको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘आत्मालोचना गर्नुभयो, मूल्य महंगो होइन रहेछ झुक्किएँ भनेर स्वीकार गर्नुभयो ।’

पोखरीबाट माछा किनेर श्रीमती फर्केको ३ घण्टापछि साँझ भरतपुर रिजाल चोकस्थित चितवन फिस आउस पसल पुगेर व्यवसायीमाथि खनिएका थिए ।

‘५ वर्ष सीडीओ बनेँ, तर पहिलोपटक विवादमा परेँ’, बैठकमा सीडीओले भनेका थिए, ‘स्वदेशी उत्पादन प्रवर्द्धन गर्न लाग्छु, द्वन्द्व बढाउन चाहन्न ।’

सो पसलबाट पठाएको माछाको नमुनाको गुणस्तर परिक्षण तत्काल नगर्ने, कालोबजारीका रुपमा मुद्दा दर्ता नगर्ने भन्दै सीडीओ लचिलो बनेपछि ६ बुँदे सहमति बनेको थियो ।

सीडीओले बैठकमा माफी मागेपनि व्यवसायीले माफी मागेको कुरा उल्लेख नगरी समझदारी बनेको भन्दै विज्ञप्ति जारी गरेका छन् । यसअघि घटना भएको भोलिपल्ट मत्स्य व्यवसायी संघ केन्द्र र जिल्ला अध्यक्षद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारीले पदीय मर्यादा विपरित क्रियाकलाप गरेको भन्दै भर्त्सना गरेका थिए ।

दुई घण्टा भएको छलफलमा मेयर रेनु दाहाल, सीडीओ अस्मान तामाङ, नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारी, जिल्ला अध्यक्ष सुवेदी, उपाध्यक्ष लुलाराज तामाङ, जिल्ला सचिव नेत्र आले, संघका महानगर सल्लाहकार नारायण शर्मा विपिन, महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी सहभागी थिए । ६ बुँदे सहमतिबारे सीडीओ बोल्न चाहेनन् ।

‘मत्स्य व्यवसायी संघसँग सोध्नु, अब के-के गर्ने सबै उल्लेख छन्’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर