बझाङकी हेवनले जितीन मिस एण्ड मिस्टर टेन ईन्टरनेशनल नेपाल २०२१ – Nepal Press

बझाङकी हेवनले जितीन मिस एण्ड मिस्टर टेन ईन्टरनेशनल नेपाल २०२१

काठमाडौं । मिस एण्ड मिस्टर टेन इन्टरनेशनल नेपाल २०२१’ को फोटोजेनिकतर्फ बझाङकी हेवन उपाध्याय विजेता बनेकी छन् । मंगलबार काठमाडौंमा सम्पन्न कार्यक्रममा २५ प्रतियोगीलाई पछि पार्दै फरक क्षमता भएकी हेवनले फोटोजेनिकतर्फको उपाधि हात पारेकी हुन् । समग्रमा उनी सो कार्यक्रममा उपविजेता बनेकी छन् ।

समाजमा फरक क्षमता भएका व्यक्तिले केही पनि गर्न सक्दैन भन्नेका लागि हेवन बलियो उदाहरण बन्न सक्ने उनका बुबा रमेश उपाध्यायले बताए । ‘अझै पनि समाजमा फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक छ । उनीहरूलाई अपहेलना गर्ने, घृणा गर्ने र कार्य बोझका रूपमा लिने परिपाटी कायमै छ, यस्तो अवस्थामा हेवन उदाहरणीय पात्र बन्न सक्छिन् । उनले हासिल गरेको उपलब्धिले खुसी छौं,’ रमेशले कुरा गर्दै भने ।

हेवनकी आमा शान्ति उपाध्याय समाज बदल्न स्वयम् आफू नै जाग्नुपर्नेमा जोड दिन्छिन् । उनले आफ्नो छोरीले हासिल गरेको उपलब्धिले समाजमा रहेको विभेदको खाल्डो केही हदसम्म पुर्नेमा सहयोग पुग्नेमा पनि विश्वास व्यक्त गरिन् । ‘समाज बदल्नुपर्छ भन्ने कुरा धेरैको मुखबाट सुनिन्छ, समाज बदल्न आफूहरूबाट नै सुरु गर्नुपर्छ भनेर मुखले मात्रै ठीक्क पार्ने परिपाटी छ । तर, वास्तविक रूपमा व्यवहारमा कसैले पनि देखाएको हुँदैन,’ शान्तीले भनिन्, ‘फेरि बझाङ जस्तो दुर्गम बस्तीमा छोराछोरीबीच हुने विभेदको ठूलो खाल्डो छ । यसलाई चिर्नका लागि पनि आफूहरूले एउटै छोरीमा चित्त बुझाएका हौँ । अहिले छोरीको प्रगति गरेको देख्दा खसी छु ।’

हेवनकी आमा शान्ती स्वास्थ्यकर्मी र बुबा रमेश शिक्षण पेसामा आवद्ध छन् । ५ वर्षको उमेरपछि हेवन काठमाडौंको नक्सालस्थित साङ्केतिक भाषाको बहिरा उच्च माध्यमिक विद्यालय बाल मन्दिरमा भर्ना भइन् र अहिले उनी सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत् छिन् । उमेरले २० पुगेकी हेवनमा शैक्षिक ज्ञान मात्रै नभई उनी बहुप्रतिभाले भरिपूर्ण छिन् । यसअघि हेवन भारतको जम्सेदपुरमा डेफ क्याफे संस्थाले आयोजना गरेको खामोसी उईथ लाईफ(मौनता सहितको जीवन)कार्यक्रममा विभिन्न देशका सहभागी बहिरा व्यक्ति मध्येमा उनी प्रथम भएकी हुन् ।

नेपालको तर्फबाट सहभागी भएकी हेवन प्रदर्शनीमा अन्तर्राष्ट्रिय स्तरमै प्रथम भएर १० हजार पुरस्कार राशी पनि प्राप्त गरेकी थिईन् । सन् २०२१ को कृयाकलाप अन्तर्गत कोभिड-१९ काेराेना भाइरसको कारण लकडाउन भएका बेला बहिरा व्यक्तिले आ-आफ्नो समुदायमा समाज र वातावरणका लागि के गर्न सक्दछन् भनी उत्कृष्ट क्षमता देखाउन २ मिनेटको भिडियो बनाउनुपर्ने थियो । जसमा जेष्ठ नागरिक, बालबालिका तथा अन्य अपांगता भएका व्यक्तिकाे साथ, सहयोग र समर्थनका लागि बहिरा व्यक्तिले गरेको भिडियो बनाउनुपर्ने भनिएको थियो ।
त्यसै अनुरुप सहभागी हेवनले सोही कृयाकलाप अन्तर्गत रहेर एउटा लेख र २ मिनेटको जनचेतनामूलक भिडियो बनाएकी थिईन् ।

वातावरणको सरसफाई, खानेपानीको बचत तथा सरसफाई, जथाभावी फोहोर मैला नगर्ने जस्ता सकारात्मक सन्देश दिने जस्ता क्रियाकलापले बहिरा व्यक्तिमा जनचेतना फैलाउन धेरै मद्दत गर्ने र उनीहरुलाई एक्लोपनका साथै अभिभावक नभएको महशुस नबनाउन यस कार्यक्रमको मुख्य उद्देश्य रहेको देखिन्छ । बहिरा तथा अनाथ बालबालिकाका लागि सन् २०१८ देखि प्रत्येक वर्ष यस संस्थाले पुरस्कार सहितको कार्यक्रम आयोजना गर्दै आएको छ ।

को हुन् हेवन ?

हेवन उपाध्याय सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला तलकोट गाउँपालिका-४ स्थायी घर भएका रमेश प्रकाश उपाध्याय र शान्ति अवस्थीकी जेष्ठ सुपुत्री हुन् । कैलालीको धनगढीमा जन्मेकी उनीमा जन्मजातदेखि नै बोल्न र सुन्न नसक्ने क्षमताको कमी थियो । उनीमा त्यस्तो समस्या देखिएपछि उनका बुवा र आमाले छोरा गनिने छोरी नगनिने समुदायको एउटा कुप्रथालाई तोड्नकै लागि पनि अर्को सन्तानको तयारी गरेनन् । ५ वर्षको उमेरपछि हेवन काठमाडौंको नक्सालस्थित साङ्केतिक भाषाको बहिरा उच्च माध्यमिक विद्यालय बाल मन्दिरमा भर्ना भइन् र अहिले उनी सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत् छिन् । उमेरले २० पुगेकी हेवनमा शैक्षिक ज्ञान मात्रै नभई उनी बहुप्रतिभाले भरिपूर्ण छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर