श्रमिक पठाउन लकडाउनअघि प्राप्त मागपत्र कार्यन्वयन गर्न ६ महिनाको म्याद थप – Nepal Press

श्रमिक पठाउन लकडाउनअघि प्राप्त मागपत्र कार्यन्वयन गर्न ६ महिनाको म्याद थप

काठमाडौं । सरकारले रोजगारदाता मुलुकबाट २०७६ फागुनअघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यन्वयनका लागि ६ महिना म्याद थप गरेको छ ।

कोरोना महामारी अघि प्राप्त भएका डिमान्ड पुनः प्रमाणिकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव भएकाले व्यवहारिक कठिनाइका कारण ६ महिना कामदार पठाउन पाउने गरि म्याद थप गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो ।

२०७६ फागुनअघि प्राप्त भएका मागपत्र कार्यन्वयनका लागि २०७८ मंसिर २२ देखि २०७९ जेठ २१ सम्म कायम रहने गरी ६ महिना म्याद थप गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।

सरकारको यो निर्णय गरेसँगै कोरोना भाइरस महामारीका कारण गरिएको लकडाउन अघि प्राप्त भएका ३० हजार बढी मागपत्र कार्यन्वयन हुनेछ । वैदेशिक रोजगारी सम्वन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५ अनुसार निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस महामारीका कारण सरकारले २०७६ फागुन २६ गतेबाट वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन रोक लगाएको थियो ।

अहिले अन्तर्राष्ट्रिय उडान संचालन भइरहेको तथा रोजगारदाता मुलुकबाट श्रमिकको माग भइ आएकोले पहिले नै प्राप्त भएका माग पत्र अनुरुप श्रमिक पठाउन ६ महिनाको म्याद थप गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर