संखुवासभा एमाले अध्यक्षमा पाँच आकांक्षी, आफ्नो दाबीबारे यसो भन्छन् नेता – Nepal Press

संखुवासभा एमाले अध्यक्षमा पाँच आकांक्षी, आफ्नो दाबीबारे यसो भन्छन् नेता

संखुवासभा । नेकपा एमाले संखुवासभाको अध्यक्षका लागि पाँचजनाले दाबी गरेका छन् । पुस २६ र २७ गते सम्पन्न हुने आठौं जिल्ला अधिवेशनबाट चयन हुने नेतृत्वका लागि पाँचजना आकांक्षी देखिएका हुन् ।

अध्यक्षका आकांक्षीमा विदुर लिंथेप, जीतबहादुर घिमिरे, खड्गबहादुर राई, मुरारीप्रसाद खतिवडा र भरतकुमार खत्री छन् । लिंथेप जिल्ला कमिटी सचिवालय सदस्य एवं प्रदेश कमिटी सदस्य हुन् भने घिमिरे वर्तमान अध्यक्ष तथा पूर्व उपसचिव हुन् । यता निर्वाचित जिल्ला कमिटी सचिव खड्ग राईले पनि आफ्नो कडा दाबेदारी रहेको जनाएका छन् ।

एमाले संखुवासभा कमिटीका संस्थापक सदस्य एवं राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यसमेत भइसकेका खतिवडाले अध्यक्षका लागि योग्यता पुगिसकेको भन्दै आफ्नो स्वाभाविक दाबी रहेको बताए । उनी खाँदबारी नगरपालिकाका मेयरसमेत हुन् ।

जिल्ला कमिटी सचिवालय सदस्य हुँदै प्रदेश कमिटी सदस्य रहेका भरतकुमार खत्रीले पनि पार्टीमा गरेको योगदानका आधारमा आफू अध्यक्षको दाबेदार भएको बताए । चैनपुर नगरपालिकाका मेयरसमेत रहेका खत्रीले फुटले निरास भएको कार्यकर्तालाई एकताबद्ध बनाउँदै जिल्लामा पहिलो पार्टी बनाउने लक्ष्यसहित अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् ।

संखुवासभा एमालेको अधिवेशनलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली खाँदबारी आउँने कार्यक्रम तय भएको छ । अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संघीय सांसद राजेन्द्र गौतम, पोलिटब्यूरो सदस्य एवं राष्ट्रियसभा विधायन समितिका सभापति पर्शुराम मेघी गुरुङ, एमाले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेलगायतका नेताहरू पनि उपस्थित हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर