३० प्रतिशत बेड भरिए स्मार्ट लकडाउनमा जानुपर्ने हुनसक्छ : स्वास्थ्य मन्त्रालय – Nepal Press

३० प्रतिशत बेड भरिए स्मार्ट लकडाउनमा जानुपर्ने हुनसक्छ : स्वास्थ्य मन्त्रालय

‘लकडाउन गर्नुपर्ने परिस्थिती आउन नदिऔं

काठमाडौं । स्वास्थ्य मन्त्रालयले अस्पतालका ३० प्रतिशत बेड कोभिड संक्रमित बिरामीले भरिए स्मार्ट लकडाउनमा जाने संकेत गरेको छ ।

बुधबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता संगीता कौशल मिश्राले अस्पतालमा बेडको स्थितीबारे रिर्पोटिङ गर्न अस्पतालहरुलाई निर्देशन दिइन् ।

‘स्मार्ट लकडाउनको कार्यविधिले ३० प्रतिशतभन्दा बढी बेड भरिए प्रणालीमा चाप आउन नदिन स्मार्ट लकडाउन गर्नुपर्ने भनेको छ’ उनले भनिन्, ‘त्यस्तो अवस्था आउन नदिन सबै नागरिकले अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने हुन्छ ।’

बुधबार नेपालमा ४३५ जना कोभिड संक्रमित थपिएका छन् । यो संक्रमण तीन महिनायताकै उच्च हो । यसअघि कात्तिक २३ गते ४४३ जनामा संक्रमण पुष्टि भएको थियो ।

नेपालको कोरोनाको आर भ्यालू पनि १.०६ प्रतिशत पुगेको छ । आर भ्यालू एक प्रतिशतभन्दा बढ्नुले महामारी नियन्त्रणबाहिर गएको संकेत गर्छ । प्रेस ब्रिफिङमा प्रवक्ता मिश्राले सम्भावित तेस्रो लहरसँग जुध्न मन्त्रालयले तयारी सुरु गरेको समेत बताइन् ।

मन्त्रालयको तथ्यांकअनुसार बुधबार काठमाडौंमा सबैभन्दा धेरै २०९ जना संक्रमित पुष्टि भएका छन् । ललितपुरमा २६ र भक्तपुरमा १८ जना संक्रमण पुष्टि भएको छ ।

अहिलेसम्म नेपालमा ओमिक्रोनका ३ वटा केस पुष्टि भएका छन् । ओमिक्रोन पत्ता लगाउन मन्त्रालयले जिन सिक्वेन्सिङको काम गरिरहेको समेत प्रवक्ता मिश्राले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर