गुण्डानाइके विकास पुनविरुद्ध ५० लाखको ठगी मुद्दा दर्ता, पक्राउ पुर्जी जारी – Nepal Press

गुण्डानाइके विकास पुनविरुद्ध ५० लाखको ठगी मुद्दा दर्ता, पक्राउ पुर्जी जारी

दाङ । दाङ घोराहीका ‘डन’ विकास पुनविरुद्ध लाखौं रकम ठगी गरेको आरोप लागेको छ । खोलाको काममा पार्टनर बनाउने प्रलाेभनमा ठगी गरेको भन्दै पीडित पक्षले पुनविरुद्ध जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिएका छन् ।

कपिलबस्तुका तिलक थापाले ५० लाख रुपैयाँ ठगेर भागेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले पुनविरुद्ध जाहेरी प्रहरीमा आएको बताए । उनले जाहेरी दर्ताको प्रक्रियामा रहेको र पुनविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको जानकारी दिए ।

प्रहरीमा जाहेरी हालेका थापाले पुनले धेरैलाई ठगी गरेको र अरु पनि सम्पर्कमा आइरहेको बताएका छन् । विभिन्न मुद्दामा पटकपटक पक्राउ पर्दै छुट्दै आएका दाङ घोराहीका ‘गुण्डा नाइके’ पुनविरुद्ध मुद्दा पर्दै आएको छ ।

कुमार घैंटेको इन्काउन्टरपछि पुन दाङमै चन्दा असुलीमा सक्रिय थिए । २०७३ सालमा उनी ज्यान मार्ने उद्योगमा पक्राउ पनि परेका थिए । पुनविरूद्ध ज्यान मार्ने उद्योगअन्तर्गतको एउटा मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन छ।

त्यही मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले पुनलाई ५ वर्ष कैद सजाय तोकेको थियो। त्यसपछि पुन सर्वोच्चमा अपील गर्न पुगेका हुन् ।

‘पुनका पुराना मुद्दा छन् भन्ने कुरा आएको छ, त्यसमा पनि अनुसन्धान हुन्छ,’ एक प्रहरी अधिकारीले भने, ‘उनीविरुद्ध जाहेरी परेपछि हामी सबै घटनाको अनुसन्धान गर्दैछौं। अनुसन्धानपछि मात्रै विस्तृतमा भन्न सकिन्छ।’

पुनको विगतमा छवि राम्रो नरहेको तथा गुण्डा नाइकेको पहिचान बनाएको उनले बताए।

पछिल्लो समय उनले जिल्लाको देउखुरी क्षेत्रको राप्ती नदीबाट बालुवा गिट्टी निकासीको काम गर्दै आएको स्रोतले बताएको छ। घोराहीलाई आधारक्षेत्र बनाएर पुनले गुण्डागर्दी, चन्दा असुली र मिटर ब्याजमा लगाएका पैसा असुल्ने काम गर्दै आएका छन् ।

एसपी काफ्ले गुण्डागर्दी विरुद्ध खरोरुपमा उत्रिएपछि पुन भागेर काठमाडौं बस्दै आएका छन् । यसअघि तत्कालीन दाङका एसपी हालका सीआईबीका डीआईजी धिरजप्रताप सिंहले दाङको गुण्डागर्दी, चन्दा आतंक नियन्त्रणको प्रयास गरेका थिए।

दाङ सरुवा भएर आउने जुनसुकै एसपी सिंहकै कार्यशैली पछ्याउदै आएका छन् । तत्कालीन एसपी गणेश चन्दको पालामा दाङमा ढुंगा, गिट्टी, बालुवा तस्करी, गुण्डागर्दीले प्रश्रय पाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर