गुटबन्दी गर्दिन भन्ने शेखरले किन बोलाए गुटको बैठक ? – Nepal Press

गुटबन्दी गर्दिन भन्ने शेखरले किन बोलाए गुटको बैठक ?

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएपछि डा. शेखर कोइरालाले आफूले गुटबन्दी पनि नगर्ने र भागबण्डा पनि नखोज्ने बताएका थिए । यद्यपि महाधिवेशन सम्पन्न भएको ३ साता नबित्दै शेखरले आफ्नो समूहको छलफल र भेला प्रारम्भ गरेका छन् ।

मंगलबार आफ्नो समूहका सिनियर नेताहरुसँग परामर्श गरेका कोइरालाले आज समूहको विस्तारित बैठक बोलाएका छन् । बैठकमा उपस्थित हुन १४ औं महाधिवेशनमा कोइराला नेतृत्वको प्यानलबाट प्रतिस्पर्धा गरेका सबै उम्मेदवारहरुलाई बोलाइएको छ ।

त्यस्तै प्रदेश समितिको सभापतिमा जितेका र उम्मेदवार बनेका नेताहरुलाई पनि बैठकमा बोलाइएको छ । हनुमानस्थानमा रहेको होटल बसेरमा दिउँसो २ बजे बोलाइएको बैठकलाई कोइराला समूहले समीक्षा बैठकको संज्ञा दिएको छ ।

किन बोलाइयो बैठक ?

गुटबन्दी नगर्ने घोषणा गरे पनि पार्टीभित्र आफ्नो समूहलाई पाखा लगाउन खोजिएको महशुस कोइरालाले गरेका छन् । मंगलबार सिनियर नेताहरुसँगको बैठकमा उनले गुटबन्दी नगर्ने र भागबण्डा नखोज्ने नीतिलाई सभापति शेरबहादुर देउवाले गलत अर्थमा बुझेको बताएका थिए ।

‘गुटबन्दी नगर्ने भनेको अन्याय सहने भनेको होइन । हामीलाई वेवास्ता गर्न खोजिएको छ । यसबारे समूहका साथीहरुको धारणा के छ भनेर बुझ्नका लागि आन्तरिक समीक्षा गर्नुपर्छ’, अनुपम फुडल्याण्डको बैठकमा कोइरालाले भनेका थिए ।

केन्द्रीय समितिको वरियता, राष्ट्रियसभाको टिकट वितरण तथा केन्द्रीय सदस्यहरुको मनोनयनबाट सभापति देउवाले आफ्नो समूहलाई अस्वीकार गर्न खोजेको ठहर कोइराला पक्षको छ ।

‘हाम्रो सदाशयतालाई कमजोरी ठान्ने र प्रतिशोधपूर्ण व्यवहार गर्ने संकेत सभापतिले देखाउनुभएको छ । १४ औं महाधिवेशनमा हामीले समूह बनाएर प्रतिस्पर्धा गरेकै हो । सभापतिले आफ्नो गुटको मात्रै कुरा गरेपनि हामीले पनि हाम्रो समूहको साझा धारणा बनाउन जरुरी छ’, कोइराला पक्षका नेता अर्जुननरसिंह केसीले भने ।

खुट्टा दह्रो गर्न नेतृत्वलाई दवाव

कोइराला समूहले १४ औं महाधिवेशनमा प्रतिस्पर्धा गरेकै आधारमा देशभरीका नेता कार्यकर्ताले ‘विभेद’ खेप्नुपर्ने अवस्था आउनसक्ने आँकलन गरिएको छ ।

डा. चन्द्र भण्डारी र डा. मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्य मनोनित नगरेर सभापति देउवाले कोइरला समूहलाई मनोवैज्ञानिक रुपमै चुनौती दिन खोजेको छ । ‘कतिपय विषयहरुलाई सामान्य मान्न सकिएला तर सिनियर नेताहरुलाई ह्युमिलेट गर्ने प्रयास सभापतिले गर्नुभएको छ । यसले गर्दा समर्पण होइन संघर्ष गर्नुपर्छ भन्ने सुझाव देशैभरीबाट आइरहेको छ’, कोइराला समूहका एक नेताले भने ।

सभापतिको निकटतम प्रतिस्पर्धी भएका कारण कोइराला तथा उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापा लगायतलाई सशक्त प्रतिवादका लागि दह्रो खुट्टा बनाउन नेता कार्यकर्ताहरुले दवाव दिदैं आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर