शेखर समूहको निष्कर्ष – रामचन्द्र तटस्थ रहेनन्, देउवाकै सहयोगी बने (भिडिओ) – Nepal Press

शेखर समूहको निष्कर्ष – रामचन्द्र तटस्थ रहेनन्, देउवाकै सहयोगी बने (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी नभएर ‘तटस्थ’ बसेको दावी गरेका वरिष्ठ नेता रामचन्द्र पौडेलको भूमिकाबारे डा. शेखर कोइराला नेतृत्वको समूहमा समिक्षा भएको छ ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको शेखर सूमहका शीर्ष नेताहरुको बैठकले महाधिवेशनमा पौडेलको भूमिका तटस्थ नरहेको निष्कर्ष निकालेको छ ।

बैठकले निर्वाचन प्रक्रियामा सहभागि नहुने उद्घोष गरेपनि पौडेलले महाधिवेशनमा शेरबहादुर देउवालाई सहयोग गरेको निष्कर्ष बैठकले निकालेको हो ।

बैठकमा सभापतिका निकटतम प्रतिस्पर्धी कोइरालासहित कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहित नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी लगायत उपस्थित थिए ।

बैठकमा महाधिवेशन, वरियता, केन्द्रीय समिति बैठक, राष्ट्रियसभाको टिकट वितरण लगायतका विषयमा छलफल भएको थियो ।

छलफलकै क्रममा वरिष्ठ नेता पौडेल लगायत विगतमा संस्थापनइतर समूहमा रहेका नेताहरुको भूमिकाबारे नेताहरुले धारणा राखेका थिए ।

‘अरु सबै नेताले शेरबहादुरलाई प्रत्यक्ष रुपमै सहयोग गरेकोले केही भन्नुपरेन । रामचन्द्रजी पनि तटस्थ रहनुभएन भन्ने धारणा साथीहरुले राख्नुभयो’, बैठकपछि अर्जुननरसिंह केसीले नेपाल प्रेससँग भने ।

नेता पौडेलको भूमिका ‘तटस्थ नै रह्यो होला’ भन्ने आफूलाई लागेपनि अन्य नेताहरुको धारणा तदअनुरुप नरहेको केसीको भनाई छ ।

‘आफू उम्मेदवार नभएपछि यो टिमप्रति जिम्मेवारी बहन नगरेर तटस्थ बस्ने नाममा शेरबहादुरजीलाई नै सघाएको र अहिलेपनि सभापतिको ईच्छाअनुसार प्रयोग भएको आरोप साथीहरुले लगाउनुभयो । मलाई त उहाँ तटस्थ नै रहनुभयो कि भन्ने लागेको थियो’, केसीले भने ।

उनले पार्टीभित्र सहअस्तित्वको खोजी भइरहेको भन्दै सभापति देउवाले सुरुआतमै एकताको सन्देश दिन नसकेको बताए ।

‘वरियता र राष्ट्रियसभा को टिकट वितरणका सन्दर्भमा विधि उपयुक्त भएन भन्ने बुझाई रह्यो । मनोनयनमा पनि एकपक्षलाई बाइपास गरेर जान खोजेको देखियो’, केसीले भने । उनले सहअस्तित्वको प्रस्ताव सभापतिले नमाने सघंर्षको बाटो हिड्न कुनै बाधा नपर्ने बताए ।

बैठकमा डा. शेखरले सभापति देउवा पार्टी नभएर गुट चलाउन उद्यत देखिएको बताएका थिए ।

‘हामीले भागबण्डा चाहिदैन भनेका छौं । भाग नचाहिएपनि न्याय त चाहिन्छ नि । उहाँको कार्यशैलीले पार्टीभित्रको ठूल्लो हिस्सालाई अन्यायको महसुस गराउने देखेको छु । उहाँले फेरी गुट चलाउन खोज्नुभयो’, बैठकमा शेखरले भनेका थिए ।

बैठकमा शेखर समूहका नेताहरु डा. चन्द्र भण्डारी र डा. मिनेन्द्र रिजाललाई केन्द्रीय सदस्यमा मनोनित नगरेर देउवाले ‘प्रतिशोध’ साँधेको धारणा सबैजसो नेताहरुले राखेका थिए ।

‘५० भोट नकटाउने जुनियरलाई मनोनित गर्दा हाम्रो समूहका नेताहरुलाई छुटाएर ह्युमिलेट गर्न खोजिएको छ । यसले पार्टीभित्रको लडाई अझ पेचिलो बनाएको छ’, बैठकमा एक नेताले भने ।

सभापति देउवाले महाधिवेशनमा ४० प्रतिशत मत ल्याएको समूहलाई ‘नजरअन्दाज’ गर्न खोजेको निष्कर्षसमेत बैठकले निकालेको छ ।

‘पार्टीको निर्णय प्रक्रियामा रामचन्द्र पौडेललाई देखाएर शेखर समूहलाई बेवास्ता गर्न खोजेको देखिएको छ । यसविरुद्ध राजनीतिक सघंर्ष जारी राख्ने सहमति बनेको छ’, बैठकमा सहभागि ती नेताले भने ।

सभापतिको उम्मेदवार बन्न नपाएको झोकमा पौडेलले देउवासँग अराजनीतिक लेनदेन गरेको हुनसक्ने आशंका बैठकले गरेको पनि ती नेताले बताए ।

यसैबीच, पार्टीभित्रको पछिल्लो परिस्थितिबारे राय लिन शेखर समूहका नेताहरुको विस्तारित बैठक बुधबार बस्दैछ । १४ औं महाधिवेशनमा शेखर नेतृत्वको प्यानलबाट प्रतिस्पर्धा गरेका सबै उम्मेदवार र प्रदेश सभापति र प्रत्याशीलाई बैठकमा बोलाइएको छ ।

बैठकमा पार्टीभित्र आफ्नो समूहको अस्तित्व स्थापित गर्न कसरी संघर्ष गर्ने भन्नेमा छलफल हुने बताइएको छ ।

शेखर समूहकाे बैठक बारे जानकारी गराउँदै नेता अर्जुननरसिंह केसी:-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर