देवचुलीमा मिनी स्थानीय निर्वाचन, प्रगतिनगर खानेपानी समितिमा सत्ता गठबन्धन एमालेसँग पराजित – Nepal Press

देवचुलीमा मिनी स्थानीय निर्वाचन, प्रगतिनगर खानेपानी समितिमा सत्ता गठबन्धन एमालेसँग पराजित

कावासोती । पूर्वी नवलपरासीको प्रगतिनगर खानेपानी संस्थामा स्थानीय तहको चुनावको झल्को दिनेगरी दलहरुबीच प्रतिस्पर्धा भएको छ । जिल्लाको देवचुली नगरपालिकास्थित प्रगतिनगर खानेपानी सस्थामा भएको चुनावमा सत्ता गठबन्धन एमालेसँग पराजित भएको छ ।

प्रगतिनगर खानेपानी सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा एमालेका खिमानन्द भुसाल निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) जसपा, र नेकपा (एस) सहित पाँच दलीय गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।

गठबन्धनका अध्यक्षका उम्मेदवार नारायणप्रसाद पौडेललाई ५ सय ५९ मतान्तरले भुसालले हराएका हुन् । नेपालकै ठूलो खानेपानी उपभोक्ता संस्थामध्येको उत्कृष्ट खानेपानी संस्था प्रगतिनगर खानेपानी संस्था हो ।

तीन हजार पाँच सय ४९ मत खसेकोमा अध्यक्षमा एमालेका खिमानन्द भुसालले दुई हजार चार मत प्राप्त गर्दा गठबन्धनका अध्यक्ष पौडेलले एक हजार चार सय ४५ मत प्राप्त गरेका थिए ।

देवचुली नगरपालिकाको १५ वटा वडामध्ये यो खानेपानीले बाक्लो बस्ती (बजार) भएका छ वटा वडालाई समेटेको छ । छ वडाका नौवटा ब्लकसहित १४ पदमा भएको निर्वाचनमा एमाले एक्लै १० पदमा निर्वाचित भएको छ ।

नौ ब्लकमध्ये एमालेले २,४,५,७,८ र ९ ब्लकमा जित निकालेको छ । अध्यक्ष , लेखा समिति संयोजकसहित तीन पदमा एमालेले जितेको हो ।

लेखा समितिको संयोजकमा एमालेका रत्ना भुसालले एक हजार आठ सय ६ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी गठबन्धनका लिलाधर अधिकारीले एक हजार पाँच सय ५३ मत प्राप्त गरेका थिए । एमालेका गीता रिजाल न्यौपाने र शिवलाल पराजुली लेखा समितिको सदस्यमा निर्वाचित भएका छन् ।

गठबन्धनले सचिवमा इन्द्रणि भुसालसहित ब्लक नं. १, ३ र ६ मा जितेको छ । सचिवमा विजयी इन्द्रमणि भुसाल २१ मतको अन्तरमा विजयी भए । एमालेका सचिवका उम्मेदवार सूर्य दवाडीले एक हजार ६ सय ७८ मत प्राप्त गर्दा गठबनधनका माओवादी उम्मेदवार इन्द्रणिले एक हजार ६ सय ९९ मत ल्याए ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाको निर्वाचन क्षेत्र रहेको देवचुलीमा कांग्रेसले नगरप्रमुख जितेको छ । यो निर्वाचनलाई आगामी नगरपालिका चुनावको नतिजासँग गाँसेर दलहरुबीच प्रस्तिपर्धा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर