राष्ट्रियसभामा उपस्थिति बढाउँदै कांग्रेस, यस्ता छन् उम्मेदवार – Nepal Press

राष्ट्रियसभामा उपस्थिति बढाउँदै कांग्रेस, यस्ता छन् उम्मेदवार

काठमाडौं । २०७४ सालको संसदीय निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि संसदमा नेपाली कांग्रेसको उपस्थिति निकै कमजोर हुन पुगेको थियो ।

प्रतिनिधिसभामा प्रत्यक्षका २३ र समानुपातिकका ४० गरी कांग्रेसका ६३ सांसद छन्। त्यस्तै राष्ट्रियसभामा संक्रमणीय प्रणाली अनुसार निर्वाचन गरिएकोले मात्रै कांग्रेसको प्रतिनिधित्व सम्भव भएको थियो ।

५९ सदस्यीय राष्ट्रियसभा गठन हुँदाको बखत कांग्रेसका १३ जना मात्रै सांसद थिए । उनीहरुमध्ये ७ जनाको कार्यकाल पहिलो २ वर्षमै सकिएको थियो । त्यसपछि राष्ट्रियसभामा कांग्रेसका सदस्यहरुको संख्या ६ जनामा सीमित हुनपुग्यो । उनीहरुमध्ये पनि २ जनाको पदावधि आगामी फागुन २० गते सकिँदैछ ।

वाम गठबन्धन यथावत नै रहेको भए कांग्रेसका ४ जनाले मात्रै पूरा कार्यकाल राष्ट्रियसभाको सदस्यका रुपमा जिम्मेवारी वहन गर्ने थिए ।

यद्यपि नेकपा विभाजन र पाँचदलीय गठबन्धनका कारण कांग्रेस यतिबेला सरकारको नेतृत्वमा छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल हुँदैछ । जसबाट राष्ट्रियसभामा कांग्रेसले ६ सीट थप्दैछ ।

प्रदेशगत मतभारको गणना गर्दा सबैजसो प्रदेशमा गठबन्धनका उम्मेदवारको जित निश्चित देखिन्छ । यस्तो अवस्थामा नेकपा एमालेका ८ जना राष्ट्रियसभा सदस्य गुमाउँदा कांग्रेस ६ जना थप्ने अवस्था बन्दैछ ।

चार वर्षे कार्यकाल पूरा गरेर नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीका ४—४ जना सदस्य बाहिरिँदा उनीहरुले माघ १२ को निर्वाचनबाट ५—५ जना सदस्य थप गर्ने देखिन्छ ।

पाँचदलीय गठबन्धनमा कांग्रेसले ६, माओवादी र समाजवादीले ५—५, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय जनमोर्चाले १ सीट पाउने सहमति बनेको छ । मन्त्रिपरिषदबाट मनोनित हुने १ जना राष्ट्रियसभा सदस्य प्रधानमन्त्री देउवाले नै चयन गर्नेछन् ।

कांग्रेसका उम्मेदवार को कस्ता ?

नेपाली कांग्रेसले सोमबारको केन्द्रीय समिति बैठकबाट राष्ट्रियसभा सदस्यका ६ जना उम्मेदवारहरुको नाम टुंग्याएको छ । प्रदेश २ को सीट जसपाले पाएपछि अन्य ६ प्रदेशबाट कांग्रेसले उम्मेदवार तय गरेको छ ।

प्रदेश १ बाट राष्ट्रिय सभा सदस्य बनेका गोपालकुमार बस्नेत झापाका पुराना कांग्रेस नेता हुन् । नेपाली कांग्रेस झापाका तत्कालीन सचिव बस्नेत सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्दा जिल्ला सभापति थिए । २०७४ सालमै देउवा नेतृत्वको मन्त्रिपरिषदले राष्ट्रियसभा सदस्यमा सिफारिस गरे पनि केपी शर्मा ओली नेतृत्वको सरकारले सो निर्णय फिर्ता लिएको थियो ।

वागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि कांग्रेसको उम्मेदवार बनेका कृष्णप्रसाद पौडेल कांग्रेसका मुख्यसचिव हुन् । सभापति देउवाका विश्वासपात्र मानिने पौडेल पनि राष्ट्रियसभा सदस्यमा सिफारिस भएर नेकपा सरकारको निर्णयका कारण रोकिएका थिए ।

सभापति देउवाको पहिलो कार्यकालमा मुख्यसचिवका रुपमा दरिलो साथ दिएका पौडेल राष्ट्रियसभामा प्रवेश गरेपछि कांग्रेसले नयाँ मुख्यसचिव पनि पाउनेछ ।

गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार रहेकी कमला पन्त १४ औं महाधिवेशनमा डा. शेखर कोइरालाको प्यानलबाट सहमहामन्त्रीमा प्रतिस्पर्धा गरेकी थिइन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसँग निकट सम्बन्ध रहेकी पन्त गोरखाकी हुन् । उनी कांग्रेसको पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा संविधानसभा सदस्यसमेत हुन् ।

लुम्बिनी प्रदेशबाट कांग्रेस उम्मेदवार बनेका युवराज शर्मा बाँके कांग्रेसका पूर्वसभापति हुन् । विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा सक्रिय रहेका शर्माले लामो समयदेखि सभापति देउवालाई सघाउँदै आएका छन् ।

कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि कांग्रेस उम्मेदवार बनेकी दुर्गा गुरुङ शहीदपत्नी हुन् । उनका पति यज्ञ गुरुङ सुर्खेत कांग्रेसमा सक्रिय रहेका थिए । २०४९ सालमा वीरेन्द्रनगर नगरपालिकामा उपमेयरको प्रत्याशी रहेका यज्ञ माओवादी युद्धका क्रममा मारिएका थिए । वीरेन्द्रनगरस्थित घरमै माओवादीले गोली प्रहार गरी हत्या गरेका यज्ञकी पत्नीलाई राष्ट्रियसभामा टिकट दिएर कांग्रेस सहीद परिवारलाई समेटेको सन्देश दिएको छ ।

सुदूरपश्चि प्रदेशबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार बनेका नारायणदत्त मिश्र १४औं महाधिवेशनमा प्रदेश सभापति पदमा पराजित भएका थिए ।

संस्थापनइतर समूहबाट प्रतिस्पर्धा गरेका मिश्रलाई टिकट दिएर सभापति देउवाले राजनीतिक सन्देश दिन खोजेका छन् । मिश्र वरिष्ठ नेता पौडेल र नेता शेखर कोइरालासँग निकट मानिन्छन् । उनी कैलाली कांग्रेसका पूर्व सभापति हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर