अमेरिकाको विश्वविद्यालयबाट पत्रकार किशोर पन्थीलाई मानार्थ विद्यावारिधि – Nepal Press

अमेरिकाको विश्वविद्यालयबाट पत्रकार किशोर पन्थीलाई मानार्थ विद्यावारिधि

पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट सम्मान गरेको छ ।

अमेरिकाको सिका युनिभर्सिटीले पत्रकार पन्थीलाई ह्युमेन लेटर्समा मानार्थ पीएचडीबाट सम्मान गरेको हो ।

मानवताको भलाईमा योगदान दिएका कारण पन्थीलाई यो सम्मान प्रदान गरिएको युनिभर्सिटीकी प्रेसिडेण्ट स्यारोन जे बाक्वेडो फिनले जानकारी दिएकी छिन् । आगामी जनवरी २० का लागि भर्चुअल रुपमा ग्रयाजुएसन कार्यक्रम तय गरिएको उनले जानकारी दिइन् ।

यो युनिभर्सिटीले समाजमा कैयन प्रकारका मानवीय योगदान गरेका व्यक्तिलाई हरेक बर्ष मानार्थ पीएचडीबाट सम्मान गर्दै आएको छ । जसका लागि प्रारम्भिक योग्यता स्वरुप १० बर्षभन्दा लामो सामाजिक योगदान गरेको हुनुपर्ने प्रावधान रहेको छ ।

पत्रकार पन्थी न्युयोर्कबाट ११ बर्षदेखि प्रकाशित हुदै आएको खसोखासका प्रधानसम्पादक हुन् भने झण्डै २ दशकदेखि पत्रकारितामा सकृय छन् ।

अमेरिकामा एक दशकभन्दा लामो समय पूर्णकालीन पत्रकारितामा सक्रिय पत्रकार पन्थीले अमेरिकामा रहेको नेपाली समुदायको हितलाई केन्द्रमा राखेर पत्रकारिता गर्दै आएका छन् । पत्रकार पन्थी अमेरिकी अध्यागमन, राजनीति र सामाजिक विषयमा कलम चलाउँछन् ।

सिका युनिभर्सिटीबाट पैगम्बर शेफर्ड बुशिरी लगायतका चर्चित व्यक्तित्वहरु समेत मानार्थ पीएचडीबाट सम्मानित भइसकेका छन् । त्यस्तै अमेरिकाका केही सांसदहरुले समेत सिका युनिभर्सिटीबाट मानार्थ पीएचडी प्राप्त गरेका छन् ।

त्यस्तै बोस्टन प्रहरी विभागका ४२ औं कमिश्नर विलियम ग्रसले पनि सिका युनिभर्सिटीबाट मानार्थ पीएचडी प्राप्त गरेका थिए । उनले सन् २०१५ मा बोस्टन प्रहरीको सुपरिटेण्डेण्ट इन चिफ रहदा यो मानार्थ पीएचडी प्राप्त गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *