चितवनका सीडीओको धाकधम्की : श्रीमतीलाई सस्तोमा माछा नदिएको भन्दै पसल ‘सील’ – Nepal Press

चितवनका सीडीओको धाकधम्की : श्रीमतीलाई सस्तोमा माछा नदिएको भन्दै पसल ‘सील’

चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले शक्तिको दुरुपयोग गर्दै जिल्लाका मत्स्य व्यवसायीमाथि दादागिरी देखाएका छन् । माछा किन्न गएकी आफ्नी श्रीमतीलाई बढी मूल्य लिएको भन्दै उनले आफैं माछापसल पुगेर सिलबन्दी गरेको घटना बाहिरिएको छ ।

सीडीओ तामाङकी श्रीमती आइतबार सरकारी गाडी लिएर करिब २५ किमी दुरीमा रहेको दिव्यनगरस्थित एक्वा ब्रिडर्स नेपालको पोखरीमा माछा किन्न पुगेकी थिइन् । उक्त पोखरी नेपाल मत्स्य व्यवसायी संघ चितवनका अध्यक्षसमेत रहेका खगेन्द्र सुवेदीको हो ।

सुवेदीले दुई गाडी माछा बेच्न पठाइसकेपछि अर्का व्यवसायी लुलाराज तामाङ पुगेका थिए । तामाङको गाडीमा ४० केजी माछा लोड गरेर पठाउन लाग्दा सीडीओ पत्नी सरकारी गाडी लिएर पोखरीको डिलमै आइपुगिन् । त्यसपछि तामाङले नै सीडीओ पत्नीलाई ५ केजी माछा बेचेका थिए ।

तामाङले भरतपुर रिजाल चोकमा चितवन फिस हाउसबाट जिउँदो माछा बेच्ने गर्छन् । आफ्नो पसलबाट ३ सय ८० रुपैयाँमा माछा बेच्ने गरेकोमा उनले सीडीओ पत्नीलाई ३ सय रुपैयाँमा दिएका थिए । तर, सीडीओ पत्नी यसमा असन्तुष्ट बनिन् ।

उनले विगतमा आफूले एक साता अघि जलकपुर माछापोखरीबाट २५० रुपैयाँमा किनेको भन्दै मूल्य घटाउन दवाव दिइनन् । तर तामाङले मानेनन् । त्यसपछि उनी १५ सय ९० रुपैयाँमा ५ किलो ३ सय ग्राम माछा माछा लिएर हिँडिन् ।

६० रुपैयाँ महंगोमा माछा किन्नु परेको श्रीमतीको गुनासो सुनेपछि सीडीओ आक्रोशित बनेका थिए । त्यसपछि हिजै बेलुका उनले प्रहरी परिचालन गरेर चितवन फिस हाउसको डिप फ्रिजमा ताला लगाइदिए ।

नेपाल मत्स्य व्यवसायी संघ केन्द्र र जिल्ला शाखाले सिडियोले पदीय मर्यादाविपरित क्रियाकलाप गरेको भन्दै निन्दा गरेका छन् । केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारी र जिल्ला अध्यक्ष खगेन्द्र सुवेदीद्वारा संयुक्त जारी प्रेस विज्ञप्तिमा प्रशासनले दादागिरी देखाएको आरोप लगाइएको छ ।

यस विषयमा व्यवसायीको विरोधपछि सीडीओले छलफलका लागि आज व्यवसायीलाई बोलाएका थिए । तर, आफूहरु १० बजे छलफलका लागि जाँदा सीडीओ तामाङ हेटौंडामा काम छ भन्दै हिँडेको जिल्ला अध्यक्ष सुवेदीले बताए । त्यसपछि उनीहरु सहायक सीडीओसँग छलफल गरेर फर्केका थिए ।

सुबेदीले भने, ‘पोखरीकै मूल्यमा माछा बेचिएको थियो । तर, पनि व्यवसायीलाई गालीगलौज र धम्की दिने काम भएको छ ।’

संघले जलकपुर माछाको खुद्रा मूल्य २ वर्षयता प्रति केजी ४ सय रुपैयाँ तोकेको थियो । छलफलमा बोलाइएर ‘फरक–फरक मूल्यमा बेचेकाले कानुन अनुसार सजाय भोग्न तयार छु’ भन्ने आशयसहितको पत्रमा हस्ताक्षर गर्न दबाब दिएपछि व्यवसायीले घटना बाहिर ल्याएका हुन् ।

सहायक सिडियो चिरञ्जीवी शर्मा, जिल्ला प्रशासनका सुनिल लम्साल, जिल्ला भेटेरीनरी अस्पतालका डा. प्रभात न्यौपाने, मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अधिकारीले संयुुक्त हस्ताक्षर गरी भ्याकुम सिल प्याक गरेर गुणस्तर परीक्षण गर्न पठाइएको छ ।

व्यवसायी लुलराज तामाङले सिडियोले आफुलाई अपशब्दसहित गालीगलौज गरेको बताए ।

यस विषयमा सीडीओसँग कुरा गर्न खोज्दा उनले फोन उठाएनन् ।

जिल्लाका एक सञ्चारकर्मीसँगको कुराकानीमा भने उनले आफू ठगिएको भन्दै व्यवसायीमाथि कालोबजारीको मुद्दा दायर गर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर