‘पिर्के सलामी’ ले झाँक्री आलोचित, सचिवालयले भन्यो– सामान्य प्रक्रिया हो – Nepal Press

‘पिर्के सलामी’ ले झाँक्री आलोचित, सचिवालयले भन्यो– सामान्य प्रक्रिया हो

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो गृहजिल्लामा प्रहरीबाट पिर्के सलामी ग्रहण गरेको विषयले सामाजिक सञ्जाल तताइरहेको छ । सत्ताबाहिर हुँदा यस्तो प्रचलनको विरोध गरेकी झाँक्री आफू मन्त्री भएपछि दोहोरो चरित्र देखाएको भन्दै धेरैले आलोचना गरिरहेका छन् ।

मन्त्री झाँक्रीलाई गृहजिल्ला मदाने गाउँपालिकाको पुर्कोटदहमा रहेको ईलाका प्रहरी कार्यालयमा पिर्के सलामी प्राप्त भएको थियो ।

पाँच प्रहरीे लागेर दिएको सलामी रातो कपडा ओछ्याइएको पिर्कामा उभिएर उनले ग्रहण गरेकी थिइन् । उक्त पिर्के सलामीको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनै झाँक्री हुन् जसले दुई वर्ष अगाडि स्थानीय तहमा पिर्के सलामी दिइएको तस्वीर पोष्ट गर्दै मजाक बनाएकी थिइन् ।

त्यसबेला उनले लेखेकी थिइन्, ‘यो पिर्का त पहिलो, दोस्रो र तेस्रोलार्ई सम्मानस्वरुप पदक दिन उभ्याउने हो क्यारे ।’

उनले कुर्सीमा उभिएर सलामी खाएको तस्वीर पोष्ट गर्दै लेखेकी थिइन्, ‘टेबल सलामी, पिर्के सलामीपछि कुर्ची सलामी ।’

झाँक्रीको त्यो पुरानो स्टाटसलाई उत्खनन गर्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । सत्ताबाहिर हुँदा आदर्शको कुरा गर्ने र मन्त्री भएपछि राजशी ठाँट देखाउने ढोंगी नेतृको रुपमा उनलाई धेरैले चित्रित गरेका छन् ।

आलोचनापछि झाँक्रीको सचिवालयले स्पष्टीकरण दिएको छ । सचिवालयले विज्ञप्ति जारी गर्दै यो विषयलाई सामान्य रुपमा लिन आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई सामाजिक सञ्जालमा आलोचना हुनछ भन्ने पनि थाहा थियो । तर, यो कुनै आलोचनाको विषय भने होइन । काननअनुसार राज्यको एउटा अंगले विशिष्ट व्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानको सामान्य प्रक्रिया हो ।’

विज्ञप्तिको पूर्णपाठ यस्तो छः

हामी पाँच दिनदेखि गृह जिल्ला गुल्मीमा छौ । जिल्लाका विभिन्न पालिका तहमा पार्टीका कार्यक्रम,राजनीति दलका स्थानीय नेतृत्वसगँ अन्तरक्रियाको साथै जिल्लास्थित सरकारी कार्यालयहरुमा निरिक्षण,अनुगमन गर्ने काम भएको छ । यसै सिलसिलामा मदाने गाउँपालिका पुर्कोटदहमा रहेको ईलाका प्रहरी कार्यालय निरिक्षण गर्ने कार्यक्रम थियो ।

कार्यालय परिसरभित्र संघीय सरकारको मन्त्री हैसियतमा प्रवेश गर्दा संविधान,कानुन अनुसार सम्मान स्वरुप सलामी दिने प्रचलन रहेछ । आफ्नो परिसरभित्र प्रवेश गर्ने विशिष्ट व्यक्तिलाई सम्मान दिनु प्रहरीले आफ्नो कर्तव्य ठान्ने रहेछ ।

हामीसगँ दुईवटा विकल्प थिए । पहिलो विकल्प प्रहरी कार्यालयको निरिक्षण गर्ने कार्यक्रममा सहभागी हुने वा दोस्रो विकल्प कार्यक्रम रद्द गर्ने । हामीले पहिलो विकल्प नै रोज्यौ,आफ्नै गाउँपालिकाभित्र रहेको संघीय सरकारको महत्त्वपूर्ण कार्यालयको निरिक्षण गर्ने । यो प्रहरी कार्यालयसगँ मन्त्री ज्युको भावनात्मक सम्बन्ध पनि रहेको छ । द्वन्द्वको क्रममा खुम्चिएको प्रहरी कार्यालय पुनः स्थापना हुने क्रममा विभिन्न राजनीति कारणले अन्यत्र सारिएको थियो ।

वर्तमान शहरी विकास मन्त्री ज्युको पहलमा त्यो वेला पुर्कोटदहमै पुनःस्थापना गर्ने काम भएकोले पनि कार्यालय प्रमुख र स्थानीय समाजसेवीहरुले ईलाका प्रहरी कार्यालयको अनुगमन गराउन र सम्मान गर्न चाहानुहुन्थ्यो । त्यसकारण हामीले उहाहरुको आग्रहलाई स्वीकार गरेका हौ ।

निरिक्षणको कार्यक्रम रद्ध गरेर उहाहरुलाई हामी दुखी वनाउन चाहेनौ । हामीलाई सामाजिक सन्जालमा आलोचना हुन्छ भन्ने पनि थाहा थियोे । तर यो कुनै आलोचना विषय भने हैन । कानुनअनुसार राज्यको एउटा अगंले विशिष्ट व्यक्तिलाई आफ्नो कार्यालय परिसरभित्र दिने सम्मानको सामान्य प्रकृया हो ।

२०७८ पुस १९ सोमवार
निजी सचिवालय


प्रतिक्रिया

One thought on “‘पिर्के सलामी’ ले झाँक्री आलोचित, सचिवालयले भन्यो– सामान्य प्रक्रिया हो

  1. आलोचना हुन्छ भन्ने थाहा हुंद हुदै किन सलामी थाप्नु त?
    थाप्नु नै थियो भने पनि पिर्का सिर्का नराखी थाप्द हुदैनथ्यो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर