अध्यक्ष नछानि सकियो माओवादीको महाधिवेशन, नेतृत्व चयनमा प्रतिनिधि भूमिकाहीन – Nepal Press

अध्यक्ष नछानि सकियो माओवादीको महाधिवेशन, नेतृत्व चयनमा प्रतिनिधि भूमिकाहीन

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आठौं दिनमा आज समापन भयो । तर, महाधिवेशनको एउटा मुख्य पाटो नेतृत्व चयनको विषय भने अधुरो नै छ ।

पार्टी हाँक्ने कमाण्डर अर्थात अध्यक्ष तथा पदाधिकारीको चयनबिना नै माओवादी महाधिवेशन सकिएको हो । देशभरबाट आएका प्रतिनिधले अध्यक्ष चुन्न पाएनन् । अध्यक्ष मात्र होइन, पार्टीको समग्र नेतृत्व चयन प्रक्रियामा नै उनीहरु भूमिकाविहिन बनेका छन् ।
यसअघि नेकपा एमालेको महाधिवेशन गर्दा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधको अधिकार कुल्चिँदै नाम लिस्ट पढेको भनेर तिव्र विवाद भएको थियो । त्यसबाट पाठ नसकि माओवादी पनि केन्द्रीय सदस्य चयनमा ठ्याक्कै त्यही शैली अनुशरण गरेको छ । ओलीकै शैलीलाई पछ्याउँदै प्रचण्डले बन्दकोठामा लिस्ट बनाएर बन्दसत्रमा सुनाए ।

एमालेमा ओलीले पढेको लिस्टलाई चुनौति दिँदै केही नेताले उम्मेदवारी दिएपछि चुनाव भएको थियो । तर, माओवादीमा त्यो पनि भएन । प्रचण्डले सुनाएको सुचीलाई बन्दसत्रले सर्वसम्मतिले पारित गरेपछि चुनावको लेठो माओवादीले लिनु परेन । यसले एकातर्फ पार्टीमा प्रचण्डको एकमना प्रभूत्व त दर्शाएको छ नै, अर्कोतर्फ प्रजातान्त्रिक प्रणालीबाट नेतृत्व चयन नगरेको आरोप माओवादीले खेपिरहनुपर्ने भएको छ ।

आफूसहित परिवारका तीन सदस्यलाई प्रचण्डले केन्द्रीय सदस्यको सूचीमा राखेका छन् । यदि उनीहरु प्रतिनिधिको भोटले केन्द्रीय सदस्य बनेको भए त्यसमा कसैले प्रश्न उठाउन सक्थेन । तर, प्रचण्डले टिका लगाएको शैलीमा परिवारका सदस्यहरुलाई केन्द्रय सदस्य तोक्दा त्यो उनीहरुकै निम्ति बेस्वादिलो बनेको छ ।

अध्यक्ष र पदाधिकारीको छनोट महाधिवेशनमा हुने-नहुनेबारे अन्योल थियो । त्यसो त माओवादीले राष्ट्रिय सम्मेलन गर्ने भनेकोमा अघिल्लो दिन आएर मात्रै यसलाई महाधिवेशनमा रुपान्तरण गरेको हो । महाविधेशनमा कम्तिमा अध्यक्षको चयनमा आफूहरुले गर्न पाउने विश्वास प्रतिनिधिले राखेका थिए । अन्तिम दिन आज बन्दसत्रमा प्रतिनिधिहरुले हलबाटै छनोट गर्नुपर्ने माग पनि गरेका थिए ।

यदि प्रतिनिधिहरुलाई त्यो अधिकार दिइएको भए पनि प्रचण्ड नै अध्यक्ष बन्ने निश्चित नै थियो । तर, पार्टीको विधानलाई देखाउँदै प्रचण्डले अध्यक्षसहितका सबै पदाधिकारी भोली केन्द्रीय समितिले चयन गर्ने बताए । माओवादी विधानमा पदाधिकारीहरुको चयन पार्टीको केन्द्रीय समितिले गर्ने भनिएको छ । अध्यक्ष पनि एकजना पदाधिकारी नै भएकाले केन्द्रीय समितिले नै छान्न विधानअनुकुल हुने प्रचण्डको भनाइ थियो ।

माओवादी केन्द्रीय सदस्यको सूची प्रचण्ड आफैंले बनाएकाले केन्द्रीय समितिमा उनको एकछत्र दवदवा रहने निश्चित नै छ । यसर्थ पदाधिकारी पनि उनले चाहेकै व्यक्ति चयन हुनेमा कुनै शंका छैन । पदाधिकारीमा सबैभन्दा पेचिलो प्रतिस्पर्धा महाचिवमा थियो । महासचिवका प्रमुख दुई आकांक्षी वर्षामान पुन र जनार्दन शर्मा दुवै अध्यक्ष प्रचण्डका विश्वासपात्र हुन् । उनीहरुमध्ये प्रचण्डले कसलाई रोज्ने हुन् त्यो भोलि नै थाहा हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर