भाइरल हुन गायकमाथि आक्रमण ! – Nepal Press

भाइरल हुन गायकमाथि आक्रमण !

काठमाडौं । देशबाहिरको नेपाली डायस्पोरामा अत्यधिक डिमान्डेड गायकमध्ये पर्छन् राजेशपायल राई । कोरोनाका कारण पछिल्लो दुई वर्षदेखि उनले विदेशको स्टेजमा गाउन पाएका थिएनन् । अहिले परिस्थिति सहज भएसँगै उनी नयाँ वर्ष २०२२ को अवसरमा सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगे । तर, एउटा नमिठो अनुभव संगालेका छन् ।

अमेरिकाको न्यूयोर्कमा आयोजित सांगीतिक कार्यक्रममा गीत गाउँदै गर्दा राजेशपायलले नसोचेको घटना भयो । दर्शकदीर्घाबाट एकजना स्टेजमा उक्लिएर उनलाई दुर्व्यवहार गरे । घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर, राजेशपायलमाथि दुर्व्यवहार गर्ने को थिए र उनको उद्देश्य के थियो भन्ने अझै स्पष्ट भएको छैन । यद्यपि, ती व्यक्तिले भाइरल हुनकै लागि यो हर्कत गरेको आशंका राई स्वयम्ले व्यक्त गरेका छन् ।

यो पनि पढ्नुहोस् : राजेशपायल राईमाथि स्टेजमै हातपात (भिडिओ)

उक्त कार्यक्रममा सहभागी भएका एक नेपालीका अनुसार ती व्यक्ति मानसिकरूपमा स्वस्थ होइनन् ।

‘हामीले बुझ्दा उसको मानसिक अवस्था ठीक नरहेको र भाइरल हुनका लागि पहिले पनि यस्ता हर्कतहरू धेरै गरेको पाइयो,’ उनले भने, ‘अहिले चाहिँ साँच्चै सफल पनि भयो ।’

भएको के थियो ?

‘राई इज किङ’ लेखिएको ब्यानरअगाडि राजेशपायले सदाझैं बिन्दास मुद्रामा आफ्नो प्रस्तुति दिइरहेका थिए । ‘अञ्जानैमा भुल भयो कि…’ गाउँदै गर्दा दर्शकको पंतिबाट एकजना युवा सरासर स्टेजमा उक्लिए । उनी यति सहज देखिएका थिए कि कसैले अनर्थ सोच्दै सोचेनन् ।

ती युवाले सुरूमा पछाडिबाट राजेशपायललाई बलपूर्वक अंकमाल गरे । गाउन अवरोध भएपछि राजेश फुत्किन खोजे । त्यसपछि ती युवकले उनलाई घाँटीमै न्याकेर लछार्न खोजेको खोजेको भिडिओमा देखिन्छ ।

दर्शक र आयोजक व्यक्तिहरू सुरूमा केहीबेर अल्मलिए । कुनै फ्यानले राजेशलाई ‘हग’ गर्न खोजेको सोचेर सबै भिडिओ खिच्नमै व्यस्त भए । तर, जबरजस्ती नै गरेपछि हल्लाखल्ला भयो ।

त्यसपछिको दृष्य स्पष्टरूपमा भिडिओमा कैद भएको छैन । सहभागीका अनुसार ती व्यक्तिले राजेशपायलमाथि कुटपिट भने गरेका थिएनन् । दर्शक र आयोजकका व्यक्तिले उनलाई छुटाएर बाहिर निकाले ।

उक्त अप्रत्याशित हमलापछि पनि कार्यक्रम विथोलिएन । राजेशपायलले आफूलाई सम्हाल्दै निरन्तर २ घन्टा गीत गाएका थिए । बीचबीचमा हँसिमजाक समेत गरेका थिए । ‘भाइरलका लागि यस्तो हुन्छ यार’ भन्दै उनले फेरि ‘अञ्जानैमा भुल भयो कि…’ लाई निरन्तरता दिए । तनावका कारण गीत गाउँदै गर्दा एकपटक उनले ‘लिरिक्स’ भुलेका थिए ।

राईले भने- उहाँले आत्महत्या गर्न सक्नुहुन्छ

गीत टुंग्याइसकेपछि राजेशले घटनाबारे आफ्नो भनाइ राखे । राईले यस्तो भनेका थिए :-

थ्यांक्यू…. केही छैन । पछाडिबाट आएको अंगालो पनि मिठै हुन्छ । अगाडिबाट आएको ज्वालामुखी पनि निल्छु, पचाउँछुजस्तो लाग्छ । तर, पछाडिबाट आएको अंगालो पनि स्वीकार्य छ ।

राजेशपायल राई न कहिले हार्न जान्दछ, न कहिल्यै भाग्न जान्दछ । किनकी राजेशपायल राई त्यो देशको माटोले जन्माएको हो, जुन देशको माटो छुँदा पनि स्वर्ग पुगेको अनुभूति हुन्छ ।

आज नयाँ वर्षको दिन, सबै रिसरागहरू डिलिट होउन् । तपाईंहरूले चाहेको पूरा होस् । पैसा त आज कमाइन्छ, भोलि हुँदैन । तर, यो जुन माया-प्रेम छ । त्यो भोलि पनि रहन्छ । मलाई केही छैन । टिकटकमा भाइरल हुनका लागि त्यस्तो गर्नुभएको होला । पछि सोचेर आफैं आत्महत्या गर्नुहुन्छ जस्तो लाग्छ ।

आयोजक भन्छन्- क्रेजी फ्यान हुन्, ठूलो घटना होइन

कार्यक्रमका आयोजकहरूले भने यो घटनालाई सामान्य मानेका छन् । राजेशपायललाई दुर्व्यवहार गर्ने व्यक्ति उनकै ‘डाइहार्ड फ्यान’ भएको र अंकमाल गर्न मात्र खोजेको उनीहरूको प्रतिक्रिया छ ।

अमेरिकामा सञ्चारकर्मी शान्तिराज राईले आयोजकसँग कुराकानी गरेका थिए । आयोजकमध्येका केशव राई यसो भन्छन् :-

यसलाई ठूलो इस्यू बनाउन आवश्यक छैन । राजेश पायलको क्रेजबारे हामी सबैलाई थाहै छ । सबै उहाँलाई भेट्न, छुन खोज्छन् । हामीले स्टेजमा पुर्‍याउन र स्टेजबाट बाहिर लैजान पनि कम्ती गाह्रो भएको थिएन ।

ती व्यक्ति पनि राजेशपायलको एकदमै क्रेजी फ्यान रहेछन् । मैले बुझेअनुसार उनले अगाडिदेखि नै राजेशपायललाई भेट्न र फोटो खिच्न खोजिरहेका थिए । धेरैपटक स्टेजमा उक्लिन खोज्दा उनलाई हाम्रो साथीहरूले रोकेका रहेछन् ।

त्यो घटना हुँदा न म पनि मोबाइलबाट भिडिओ खिचिरहेको थिएँ । उनले स्टेजमा गएर अंगालो हालेका मात्रै हुन् । नचाहिने हल्ला फैलाउने काम भयो । कतिपयले भिडिओ एडिट गरेर, दुनियाँ कहानी बनाएर हालेका छन् । तर, राजेशपायललाई केही पनि भएको छैन । उहाँले त्यसपछि पनि दुई घणुटा निरन्तर गाउनुभयो । अरुबेला भन्दा लामो समय गाउनुभयो ।

यो एउटा सामान्य घटना हो । कार्यक्रम भव्य र सभ्य भएको छ । कोही फ्यानहरू यस्तै हुन्छन् । अनौंठो मान्नु पर्दैन ।


प्रतिक्रिया

One thought on “भाइरल हुन गायकमाथि आक्रमण !

  1. NEPALI Haru Kasto Super Character KO Kriterium bhitra Count hunthyo ijjat ra Iman Ko lagi. Aba Kasto CHUTYAA Samma bhaisakeko Chha, yahi ghatna le Dekhaauchha. THUIKKA Sala

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर