करेन्ट चाउचाउको कार्टुनभित्र भेटियो ५० लाख, सौर्य एयरलाइन्सकी कर्मचारी पक्राउ – Nepal Press

करेन्ट चाउचाउको कार्टुनभित्र भेटियो ५० लाख, सौर्य एयरलाइन्सकी कर्मचारी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाउचाउको कार्टुनमा लुकाएर राखेको ५० लाख रूपैयाँसहित एकजनालाई पक्राउ गरिएको छ ।

सौर्य एयरलाइन्समार्फत शनिबार विराटनगरबाट काठमाडौं पठाइएको सो रकम विशेष सुराकीका आधारमा विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो ।

विमानस्थल प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीका अनुसार करेन्ट चाउचाउको कार्टुनभित्र राखिएको उक्त रकमसहित विमानस्थलमा संकलन गर्न आएकी सौर्य एयरलाइन्सकी कर्मचारी रेखा शाक्य पोखरेललाई पक्राउ गरिएको छ । उनी सौर्य एयरलाइन्सको काठमाडौं कार्यालयमा एसिस्टेन्ट पदमा कार्यरत हुन् ।

बाहिर भद्रपुर लेखिएको रातो रङको मेल ब्यागमा करेन्ट चाउचाउको कार्टुनभित्र उक्त रकम फेला परेको थियो । कार्टुनभित्र एक हजार दरका ४ हजार ९ सय ५० वटा र ५ सय दरका एक हजार वटा नोटहरु थिए ।

बरामद रकमसहित पोखरेललाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग बुझाइएको प्रहरीले जनाएको छ । १० लाखभन्दा बढीको कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने कानूनी प्रावधान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर