‘सती’ पुस्तकबारे शीतलनिवासमा विमर्श, ‘सतीको श्राप’ बारे राष्ट्रपतिको यस्तो टिप्पणी – Nepal Press

‘सती’ पुस्तकबारे शीतलनिवासमा विमर्श, ‘सतीको श्राप’ बारे राष्ट्रपतिको यस्तो टिप्पणी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई कथित ‘सतीको श्राप’ बाट मुक्त गर्न सबै आ-आफ्नो स्थानबाट अग्रसर हुनुपर्ने बताएकी छन् । राष्ट्रपति कार्यालयमा आयोजित एक छलफलमा उनले नेपालमा कुनै बेला अस्तित्वमा रहेको सतीप्रथाबारे चर्चा गरेकी थिइन् ।

राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा समाजशास्त्री सुजित मैनालीको पछिल्लो अनुसन्धानात्मक कृति ‘सतीः इतिहास र मीमांसा’ बारे विमर्श भएको थियो । सोही छलफलमा आफ्नो मन्तव्य राख्दै राष्ट्रपति भण्डारीले ‘नेपालको हित गर्नेहरूको कहिल्यै भलो नहोस’ भनि भीम मल्लकी पत्नीले सती जानुअघि दिएको भनिएको श्रापबाट देशलाई मुक्त गर्नुपर्ने विचार राखेकी हुन् ।

प्रताप मल्लको राज्यकालताका काजी भीम मल्लले बफादारितापूर्वक राजा र देशको सेवा गरे पनि षडयन्त्रपूर्वक उनको हत्या गरिएको थियो ।

किंवदन्तीअनुसार उनको शवसँग सती जाने बेलामा उनकी पत्नीले ‘देशको हित गर्नेहरूको कहिल्यै भलो नहोस्, उनीहरूको नियती मेरो पतीको जस्तै होस’ भनेर श्राप दिएकी थिइन् । त्यही किंवदन्तीका आधारमा नेपाललाई ‘सतीले सरापेको देश’ भन्ने गरिएको छ । अब यस्तो श्रापबाट देशलाई मुक्त गर्ने बेला आएको र यसका लागि सबैजनाले आ-आफ्नो ठाउँबाट अग्रसरता लिनुपर्ने राष्ट्रपति भण्डारीले बताइन् ।

‘किंवदन्ती नै भए पनि नेपाल सतीले सरापेको देश भन्ने मान्यता र विश्वास जनतामाझ व्यप्त छ, हामी सबै मिलेर यस्तो विश्वासलाई गलत सिद्ध गर्नुपर्छ,’ उहाँले भन्नुभयो । साथै उनले महिलामाथिको भेदभाव र हिंसा अन्त्य गर्न पनि सामुहिक पहल र प्रतिवद्धताको खाँचो रहेको औल्याएकी थिइन् ।

राष्ट्रपति भण्डारीले लेखक मैनालीद्वारा लिखित किताब ‘सती’ले इतिहासमा महिलाले भोगेका हिंसाबारे जानकारी दिनुका साथै महिलाले अहिले भोग्नुपरिरहेका समस्या बुझ्न र यसविरुद्ध लाग्न पनि मद्दत गर्ने धारणा राखिन् ।

कार्यक्रममा लैंगिक विषयको अनुसन्धान र लेखनमा संलग्न नेतृ तथा सांसद विन्दा पाण्डे, इतिहासकार दिनेशराज पन्त, नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, त्रिभूवन विश्वविद्यालयको इतिहास विभागका प्रमुख डा. राजकुमार पोखरेल र त्रिभूवन विश्वविद्यालयको समाजशास्त्र विभागका प्रमुख डा. युवराज लुइँटेलले बोलेका थिए ।

सांसद पाण्डेले पतीसँगको प्रेमका कारण विधवाहरू सती जाने गर्थे भन्ने मान्यतालाई ‘सती’ किताबले खारेज गरेको बताउँदै लैंगिक विषयमा प्राज्ञिक बहस अझै हुनुपर्ने औल्याइन् ।

‘यदि पतिप्रेमकै कारण पत्नीहरु सती जाने गर्थे भने पत्नीलाई प्रेम गर्ने पतिहरु पनि त सती गएको विवरण उपलब्ध हुनुपर्थ्याे नि ! त्यसैले सतीप्रथा प्रेमको उपज हो भन्ने मान्यता गलत छ र ‘सती’ किताब पनि यही वैचारिक कित्तामा उभिएको छ,’ उनले भनिन् ।

कार्यक्रममा इतिहासकार पन्तले सतीप्रथासँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक–सांस्कृतिक विवरणलाई ‘सती’ पुस्तकमा अत्यन्त मिहिन ढंगले केलाइएको बताए । प्रामाणिक किसिमले इतिहासको विवेचना गर्ने जमर्को ‘सती’ किताबमा गरिएको बताउँदै उनले नेपाल र भारतमा अभ्यास भएको सतीप्रथाबारे बुझ्न यसले मद्धत गर्ने धारणा राखे ।

समाजशास्त्री डा. लुइँटेलले ‘सती’ पुस्तकले १९औं शताब्दीताका नेपाली समाजमा नारीको अवस्था बुझाउन मद्धत गर्ने बताए । सतीप्रथासम्बन्धी जनमानसमा रहेको भ्रम चिर्न पनि यो पुस्तक उपयोगी रहेको विचार उनको थियो ।

‘सतीप्रथा जनमानसमा सर्वत्र अभ्यास हुन्थ्यो भन्ने आम मान्यता छ । तर यो किताबले सतीप्रथा मूलतः राजघराना र कुलिन समुदायमा अभ्यास हुन्थ्यो भनेको छ । सत्ता र सम्पत्तिसँग गाँसिएको सतीप्रथाको साइनोबारे यस किताबले चर्चा गरेको छ,’ उनले भने ।

सतीप्रथालाई बुझ्ने सैद्धान्तिक कोण कस्तो हुनसक्छ भन्ने विषयमा किताबमा यथेष्ट चर्चा गरिएको उल्लेख गर्दै लुईंटेलले मार्क्सवादी दार्शनिक फ्रेडरिक एंगेल्सको सैद्धान्तिक अवधारणालाई अझ बढी अनुसरण गरेको भए किताब थप पठनीय हुने विचार पनि राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर