दुर्गा प्रसाईंको आरोप – देशका उद्योग, कलकारखाना बेच्ने कांग्रेस हो (भिडिओ) – Nepal Press

दुर्गा प्रसाईंको आरोप – देशका उद्योग, कलकारखाना बेच्ने कांग्रेस हो (भिडिओ)

काठमाडौं । नेकपा (एमाले)का उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईंले देशमा भएका सबै उद्योगधन्दा, कलकारखाना नेपाली कांग्रेस नेतृत्वको सरकारले बेचेको आरोप लगाएका छन् ।

मेडिकल कलेज सञ्चालक समेत रहेका उपप्रमुख प्रसाईंले नेपाली कांग्रेसले २०४६ सालपछि अधिकांश समय सरकारको नेतृत्व गरेको र त्यसैबेला मुलुकका सबै उद्योगधन्दा, कलकारखाना बेचिएको आरोप लगाएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुलुकका उद्योगधन्दा सबै बेचिएपछि नेपाली युवाहरु रोजगारीको खोजीमा विदेश पलायन हुने अवस्था आएको तर्क समेत गरे ।

उनले भने, ‘२०४६ सालपछि २०६० सालसम्म नेपाली काँग्रेसको अधिकांश समय सत्तारोहण भयो । त्यो सत्तारोहणको पालामा देशमा भएका उद्योगधन्दा, कलकारखाना सबै बेचिए । तपाईहरुलाई म यो स्मरण गराउन चाहन्छु । जव नेपाली काँग्रेसको हातमा राजनीतिक सत्ता गइसकेपछि उद्योगधन्दा, कलकारखाना बेचिएपछि युवाहरुको यो देशमा रोजगारी बन्द भयो । र हाम्रा युवाहरु विदेश पलायन हुन बाध्य भए । हरियो पार्सपोर्टको खेती मौलायो । डाटाले भन्छ – अहिले दैनिक ३ हजार युवाहरु विदेश जाँदैछन बैदेशिक रोजगारीका लागि ।’

उपप्रमुख प्रसाईंले पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको कार्यकारी अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको दावी समेत गरे । ओलीले संविधानसम्मत ढंगले प्रतिनिधिसभा विघटन गरेको उनको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर