सामान्य लक्ष्यमा पराजित भयो सन्दीप आबद्ध हुरिकेन्स – Nepal Press

सामान्य लक्ष्यमा पराजित भयो सन्दीप आबद्ध हुरिकेन्स

काठमाडौं । अस्ट्रेलियामा जारी बिग बास लिग (बीबिएल)क्रिकेटमा नेपालका सन्दीप लामिछाने आबद्ध होबर्ट हुरिकेन्सले चौथो हार ब्यहोरेको छ।

आफ्नो आठौँ खेलमा शनिबार हुरिकेन्सले ब्रिसबेन हिट्ससँग १४ रनको हार ब्यहोर्‍यो । एक सय ५१ रनको लक्ष्य पाएको हुरिकेन्सले निर्धारित २० ओभर खेलेपनि ८ विकेट गुमाएर एक सय ३६ रन मात्र जोड्न सक्यो।

हुरिकेन्सका तल्लोक्रमका टम रोजर्सले अविजित रहँदै सर्वाधिक ३३ रन बनाए । ६ रन जोड्दा २ विकेट गुमाएको हुरिकेन्समाथी हिट्सका बलर पुरा समय हावी भए । हुरिकेन्स ७२ रन जोड्दा ६ विकेट गुमाएर संकटमा देखिएको थियो ।

हिट्सका बलर जेभियर बार्टलेटले चार ओभरमा ३० रन खर्चिएर ४ विकेट लिए भने मुजिब उल रहमानले चार ओभरमा २० रन मात्र दिएर ३ विकेट लिए। माथिल्ला तीन ब्याट्सम्यानलाई बार्टलेटले आउट गरेका थिए । अघिल्ला लगातार दुई खेलमा सतक बनाएका प्रारम्भिक ब्याट्सम्यान बेन म्याकडरमट यसपटक शुन्यमै आउट भए ।

त्यसअघि हुरिकेन्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको थियो । हिट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५० रन जोडेको थियो ।

७७ रन जोड्दा ६ विकेट गुमाएको हिट्सका तल्लोक्रमका जेम्स बाज्लीले अविजित ४४ रन जोडे । ज्याक विल्डरमुथले पनि २८ रन जोडे । यी दुईले सातौँ विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए ।

सन्दीपले चार ओभरमा ३७ रन खर्चिएर एक विकेट लिए । उनिविरुद्ध विपक्षी ब्याट्सम्यानले दुई छक्का र ३ चौका प्रहार गरेका थिए । अघिल्लो खेलमा ३ विकेट लिँदै उनले तीन खेलको विकेटविहिन यात्रा टुंग्याएका थिए ।

सन्दीपले यो सिजन ८ खेलमा ६ विकेट लिएका छन् । उनको बलिङ इकोनोमी ८।१४ रन प्रतिओ‍भर रहेको छ । ८ खेलबाट १७ अंक भएको हुरिकेन्स तालिकाको तेस्रो स्थानमा रहेको छ । सिड्नी सिक्सर्स र पर्थ स्कर्चर्सको ७ खेलबाट समान २१ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर