ज्ञानेन्द्र र सन्दीप दुवैका प्रिय दासानायके यसरी बने क्यानका अस्त्र – Nepal Press

ज्ञानेन्द्र र सन्दीप दुवैका प्रिय दासानायके यसरी बने क्यानका अस्त्र

काठमाडौं । सन् २०१५ मा पुबुदु दासानायकेले नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा निरन्तरता पाउने नपाउने निश्चित थिएन । नेपाल क्रिकेट संघ-क्यान निलम्बनको अवस्थामा थियो भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसीसीबाट आउने नियमित ‘फन्ड’ पनि रोकिएको थियो ।

टी-ट्वान्टी विश्वकपमा ऐतिहासिक सहभागितासहित नेपाली क्रिकेटलाई लगातार सफलता दिलाइरहेका पुबुदुलाई नै राख्नुपर्छ भन्दै राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ललगायत खेलाडीहरू लविङमा उत्रिएका थिए । ‘आफूले भनेकै प्रशिक्षक नभइ हुन्न’ भन्ने अडान राखेको भन्दै पारस, ज्ञानेन्द्रहरूको आलोचनासमेत भयो । खेलाडीको कुरा सुन्दै अन्तत: सरकार आफैंले तलब व्यहोर्ने गरी पुबुदुलाई निरन्तरता दिने निर्णयमा पुग्यो । नेपाली क्रिकेटमा सरकार आफैले तलब दिने गरी प्रशिक्षक भित्र्याएको यो पहिलो घटना थियो ।

त्यसको केही समयपछि नयाँ खेलाडीको खोजी गर्ने क्रममा पारससहित पुबुदुले सन्दीप लामिछानेलाई चितवनमा भेटेर काठमाडौं ल्याएका थिए । उनै सन्दीपले केही समयमै अन्तर्राष्ट्रिय क्रिकेटमा छलाङ मारे । हङकङमा आयोजित एक व्यवसायीक क्रिकेट प्रतियोगितामा सन्दीपले अवसर पाउनुमा पुबुदुको भूमिका महत्वपूर्ण रहेको थियो ।

त्यही अवसरमा माइकल क्लार्कसँग भएको परिचयपछि सन्दीपले अष्ट्रेलियाको यात्रा तय गरेका थिए । अष्ट्रेलियाकै यात्रामा तत्कालीन दिल्ली डेयर डेभिल्सका प्रशिक्षक रिक्की पोन्टिङसँग भएको चिनजानले उनलाई इण्डियन प्रिमियर लिग-आईपीएलमा अवसर पाउन सजिलो भएको बताइन्छ ।

खेलाडीमाथि कारबाहीपछि उत्पन्न विवादका कारण क्यान आफैं अप्ठेरो अवस्थामा फसेको थियो । सत्तारुढ दल माओवादी अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्रीसम्मले निर्णय फिर्ता लिन क्यानलाई दबाब दिइरहेका थिए । यो अवस्थामा आफ्नो निर्णयको बचाऊ गर्न पुबुदुलाई अघि सार्नुभन्दा राम्रो विकल्प क्यानको लागि अर्को भएन । त्यसमा क्यान सफल पनि भएको छ । पुबुदुको काँधमा राखेर क्यानले बन्दुक चलाएको एक खेलाडी बताउँछन् ।

सन् २०१६ मा पुबुदुले प्रशिक्षकबाट राजीनामा दिएर नेपालबाट फर्किए । यसबीचमा नेपाली क्रिकेटमा धेरै परिवर्तन भए । सबैभन्दा ठूलो उपलब्धीका रूपमा सन् २०१८ मा नेपालले एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पायो, इतिहासमा पहिलोपटक । त्यही उपलब्धीलाई जोगाउन नेपाल यतिबे‍ला संघर्षरत छ, आईसीसी विश्वकप लिग-२ मार्फत ।

यही अवस्थामा पुबुदु फेरि नेपाली टोलीको प्रशिक्षक बनेर फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले दुई साताअघि पुबुदुलाई प्रमुखप्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसप्रति खुसी व्यक्त गर्दै पुबुदुले आफुसँग नयाँ चुनौती रहेको आशय व्यक्त गरेका थिए । फेब्रुअरीमा हुने टी-ट्वान्टी विश्वकपको विश्वस्तरको छनोट र विश्वकप लिग-२ का खेलअघि पुबुदुको नियुक्तिलाई लिएर स्वाभाविक विश्लेषणहरू हुन थालेका थिए । तर, नेपाली क्रिकेटमा अवस्था एकाएक असामान्य बन्यो ।

क्यानले अनुशासन उल्लंघनको आरोपमा राष्ट्रिय टोलीका महत्वपूर्ण चारजना खेलाडीलाई कारबाही गर्‍यो । ज्ञानेन्द्र मल्ल कप्तानबाट र दीपेन्द्रसिंह ऐरी उपकप्तानबाट हटाइए । क्यानले त्यति मात्र निर्णय गरेन, नयाँ कप्तानका रूपमा सन्दीप लामिछानेको नाम घोषणा पनि गर्‍यो । आफूलाई जिम्मेवारी दिएकोमा सन्दीपले खुसी व्यक्त गर्दै आफू कप्तानीका लागि पहिल्येदेखि तयारी गरिरहेको प्रतिक्रिया संचारमाध्यमहरूसँग दिए ।

क्यानसँग खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टका लागि भएको ग्रेडिङमा असन्तुष्टी जनाउँदै ज्ञानेन्द्रसहित चार खेलाडीले सञ्चार माध्यमसँग बोलेको विषयमा छानबिन गर्दै क्यानले गरेको उक्त कारबाही प्रकरण असहज अवस्थामा पुगेको छ ।

क्यानले राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका लागि ३० जना खेलाडीको नाम विहीबार सार्वजनिक गर्‍यो । त्यसमा कारबाहीमा परेका चारजना खेलाडी पनि समावेश छन् । शनिबारसम्म जम्मा हुन खेलाडीलाई निर्देशन दिइएको छ । तर, कारबाहीमा परेका खेलाडीहरू त्यसमा सहभागी हुने/नहुने निश्चित छैन । कारबाहीमा परेका एक खेलाडीका अनुसार शुक्रबारसम्म आपसमा सल्लाह गरेर कारबाहीलगायत विषयमा क्यानको आधिकारिक धारणा माग गरिनेछ र त्यसपछि अन्य निर्णय हुनेछ ।

पुनर्विचारको मागदेखि पुबुदुको पत्रकार सम्मेलनसम्म

आफूहरूलाई कारबाही गरेपछि ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल कामी र कमलसिंह ऐरीले संयुक्त पत्रकार सम्मेलन गर्दै खेलाडीको अधिकारका विषयमा आवाज उठाउँदा कारबाही भएको भन्दै त्यसबारे पुनर्विचार गर्न र आफूहरूले राखेका माग सम्बोधन गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै ज्ञानेन्द्रले ‘यदी गल्ती नै गरेको भएपनि कप्तानबाटै हटाउनु पर्ने खालको कमजोरी हो त ?’ भन्दै प्रश्न गरेका थिए ।

त्यसयता क्यानले खेलाडीसँग अनौपचारिकरूपमा सम्वाद गरिरहे पनि अन्य शर्तहरूबारे सोच्न सकिने तर कप्तानबाट हटाउने निर्णय पुनर्विचार नहुने अडान राख्दै आएको थियो । डिसेम्बर २१ देखि सुरू हुने भनिएको राष्ट्रिय टोलीको बन्द प्रशिक्षण प्रशिक्षक पुबुदु नआइपुगेको भन्दै क्यानले सुरू गर्न सकेको थिएन ।

दुई दिनअघि नेपाल आइपुग‍ेका पुबुदुले विहीबार पत्रकार सम्मेलन गरे, पत्रकारसँग अन्तरक्रिया भन्दै । तर, पुबुदुको पत्रकार सम्मेलन हेर्दा स्पष्ट बुझ्न सकिन्थ्यो- खेलाडीहरूबाट व्यक्त असन्तुष्टिहरूका विषयमा क्यानले प्रशिक्षकमार्फत आफ्नो धारणा राख्दै थियो ।

खेलाडीमाथि कारबाहीपछि उत्पन्न विवादका कारण क्यान आफैं अप्ठेरो अवस्थामा फसेको थियो । सत्तारुढ दल माओवादी अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्रीसम्मले निर्णय फिर्ता लिन क्यानलाई दबाब दिइरहेका थिए । यो अवस्थामा आफ्नो निर्णयको बचाऊ गर्न पुबुदुलाई अघि सार्नुभन्दा राम्रो विकल्प क्यानको लागि अर्को भएन । त्यसमा क्यान सफल पनि भएको छ । पुबुदुको काँधमा राखेर क्यानले बन्दुक चलाएको एक खेलाडी बताउँछन् ।

पुबुदुले पत्रकार सम्मेलनमा खेलाडी र क्यान दुवै पक्षसँग कुराकानी भएको र कप्तान फेर्ने निर्णय परिवर्तन नहुने बताए ।

‘क्यानले अन्य विषय हेर्न सकिने बताए पनि कप्तान परिवर्तनको निर्णय नफेरिने बताएको छ । मैले क्यानको निर्णयलाई सम्मान गर्नुपर्छ,’ उनले भने, ‘आज वा भोलि बिहानसम्ममा बन्द प्रशिक्षणमा रहने ३० जना खेलाडीको नाम सार्वजनिक गरिने छ । खेलाडीहरू जम्मा भएपछि म अझ कुरा गर्ने छु । मलाई लाग्छ- कुनै समस्या आउने छैन ।’ सँगै उनले सन्दीप कप्तानका रूपमा पनि सफल हुने विश्वास व्यक्त गरेका छन् ।

प्रशिक्षक नियुक्त गरिसकेको तर नेपाल नआइपुगिसकेको अवस्थामा कारबाही गरेर तत्काल अर्कोलाई कप्तान नियुक्त गरिनुले क्यानको नियतमा शंका गर्नुपर्ने अवस्था रहेको खेलाडीहरूको गुनासो थियो ।

स्रोतका अनुसार, ज्ञानेन्द्रले आफूलाई अपमानजनक तरिकाले कप्तानबाट हटाएको भन्दै प्रशिक्षक पुबुदुसँग गुनासो गरेका थिए ।

‘जुन विषयमा हामीले संचारमाध्यमलाई प्रतिक्रिया दिएका थियौँ, त्यही विषयमा क्यान सच्याउन तयार हुने तर कप्तानबाट हटाउने निर्णय सच्याउन चाहीँ किन तयार नहुने ?’ज्ञानेन्द्रले पुबुदुलाई भनेका थिए ।

उनले सुनियोजितरूपमा आफूहरूलाई हटाइएको र आफूबारे दुष्प्रचार गरेर आत्मसम्मानमा चोट पुर्‍याएको बताएका थिए । ‘मलाई मात्र होइन दीपेन्द्रलाई पनि हटाइएको छ । मलाई मात्र हटाइएको थियो भने दीपेन्द्र स्वत: कप्तान नियुक्त गर्नुपर्ने अवस्था थियो । यो त तेस्रो व्यक्तिलाई नेतृत्वमा जबर्जस्ती ल्याउन गरिएको कारबाही हो’, ज्ञानेन्द्रले गुनासो गरेका थिए ।

प्रशिक्षक नियुक्त गरिसकेको तर नेपाल नआइपुगिसकेको अवस्थामा कारबाही गरेर तत्काल अर्कोलाई कप्तान नियुक्त गरिनुले क्यानको नियतमा शंका गर्नुपर्ने अवस्था रहेको खेलाडीहरूको गुनासो थियो ।

स्रोतका अनुसार, कारबाहीमा परेका खेलाडीहरूले क्यानले पनि आफ्ना गल्तीहरूको महसुस गर्नुपर्ने शर्त राखेका छन् । यदी त्यसो भए के हुन्छ भन्नेबारे उनीहरूले केही बताएका छैनन् । यस्तो अवस्थामा प्रशिक्षक पुबुदुले पटकपटक दोहोर्‍याइरहेका छन्- म सबैलाई मिलाएर लैजान्छु । खेलाडीहरूले नेपाली राष्ट्रिय टोलीका रूपमा प्रदर्शन गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *