ओलीको आरोपः प्रचण्ड–माधव ‘आफ्नै सेनापति’विरुद्ध लागे, अब त्यो खतरा छैन – Nepal Press

ओलीको आरोपः प्रचण्ड–माधव ‘आफ्नै सेनापति’विरुद्ध लागे, अब त्यो खतरा छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई ‘सेनापतिविरुद्ध लागेर’ आफ्नै सरकार ढालेको आरोप लगाएका छन् । अग्रेज युद्धका बेला बंगालका सेनापतिले विरोधीसँग मिलेर आफ्नालाई नै हराएको उदाहरण दिँदै ओलीले प्रचण्ड–माधवप्रति कटाक्ष गरेका हुन् ।

काठमाडौंमा वैदेशिक रोजगारबाट फर्केकाहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले देशमा थुप्रै विकासका काम गरेको र त्यसलाई सहन नसकेर आफ्नाहरुले नै सरकार ढालेको आरोप लगाएका हुन् । ‘देशमा विकास भइरहेकै थियो, सडक बनिरहेका थिए, खानीहरु पत्ता लाग्दै थिए, तर हामीले गरेका राम्रा कामलाई आफ्ना भनाउँदाहरुले नै देख्न सकेनन्’, उनले भने ।

अहिलेको सरकार विद्यार्थीलाई विदेश पठाउने दलालजस्तो भएको उनको भनाइ थियो । पछिल्लोपटक सरकारसँग भएको एक सम्झौतामाथि टिप्पणी गर्दै ओलीले भने– प्रधानमन्त्रीले सातवटा माग पूरा गर्न नौ बुँदे सम्झौता गर्नुभएछ । नर्सिङ पढ्न नेपालमै नदिने, विद्यार्थी विदेश पठाउने दलालीको रुपमा काम गरिहेको छ ।

भेलामा ओलीले आँशु पुछ्दै, मुटु गाँठो पारेर विदेश जानेको पीडाबारे आफू जानकार रहेको भन्दै रेमिट्यान्सबाट देशको आर्थिक उन्नतिमा योगदान पुर्याएका युवाको प्रशंसा गरे । ‘दुःख गरेर देशमा रेमिट्यान्स भित्र्याएकोप्रति उहाँहरुलाई धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘तर नेपाल जस्तो देश छाडेर काम गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी छ ।’

भेलामा गण्डकी कांग्रेसका नेता बेनीराम थारुसहित तीन सयजना विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *