वीरेन्द्रनगर घण्टाघरका घडी चार वर्षसम्म मर्मतको पर्खाइमा – Nepal Press

वीरेन्द्रनगर घण्टाघरका घडी चार वर्षसम्म मर्मतको पर्खाइमा

सुर्खेत । नागरिकलाई समयको जानकारी गराउन तीन दशकअघि चीन सरकारले बनाइदिएको घण्टाघरको घडी बिग्रिएको चार वर्ष हुँदा पनि सम्बन्धित निकायले मर्मतका लागि चासो दिएका छैनन् ।

कुनै समय हरेक घन्टा ठूलो आवाज दिएर नागरिकलाई समयको जानकारी दिने वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ६ स्थित घन्टाघरका घडी ४ वर्षदेखि चलेका छैनन् । ४ वटै भित्तामा राखिएका ठुला चार ओटा घडि चल्न छाडेका हुन । विगतमा आवाज सुनेर समयको जानकारी लिने स्थानीयलाई अहिले त्यो क्षण इतिहासजस्तै भएको छ ।

वीरेन्द्रनगरको पश्चिमतर्फ खुलामञ्चमा रहेको घन्टाघर २०४४ मा चीन सरकारको सहयोगमा स्थापना गरिएको थियो । सौर्यशक्तिबाट चल्ने घडीहरू अहिले जीर्णावस्थामा पुगेका छन् ।

‘सुरुमा हामीसँग घडी नै हुन्थेन । यहि घण्टाघरको घण्टी सुनेर समय पत्ता लगाउँथ्यौं,’ वीरेन्द्रनगर–६ का ६५ वर्षीय कमल रोकाय नेपालप्रेससँग भने, ‘राती आकाशका तारा हेरेर समयको अनुमान लगाउने हाम्रो पुस्ताका लागि यो घडी असाध्यै सजिलो हुन्थ्यो ।’

अहिले स्थानीय, प्रदेश सरकार घण्टाघरको छेवैमा छन् । नजिकका सरकार भनिने यी दुवै सरकार गठन भएको चार वर्षभन्दा बढी भएको छ तर सुधार गर्न कसैको पनि ध्यान जान नसकेको स्थानीयको गुनासो छ ।

‘आँगनमै शक्तिशाली दुई सरकार छन् । सरकारले चारवटा घडी मर्मत गर्न नसक्नु लज्जास्पद हो,’ स्थानीय राजेन्द्र शाही भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *