दासानायकेको अडानले चार भाइ दबाबमा, ‘सेफ ल्यान्डिङ’को खोजी – Nepal Press
क्रिकेट विवाद

दासानायकेको अडानले चार भाइ दबाबमा, ‘सेफ ल्यान्डिङ’को खोजी

बन्द प्रशिक्षणबारे निर्णय लिनुअघि क्यानसँग आधिकारिक धारणा माग्ने तयारी

काठमाडौं । नेपाल क्रिकेट संघको कारवाहीमा परेका चार क्रिकेट खेलाडी प्रशिक्षक पुबुदु दासानायकेबाट निराश भएका छन् । प्रशिक्षक नियुक्त भएर भर्खर नेपाल आएका दासानायके क्यानको स्पष्ट समर्थनमा उभिएपछि उनीहरुमाथि दबाब थपिएको छ ।

क्यानले चार खेलाडीहरुले अनुशासन उल्लंघन गरेको भन्दै उनीहरुलाई सेन्ट्रल कन्ट्राक्टबाट ६ महिना बाहिर राख्ने निर्णय लिएपछि विवाद सुरु भएको थियो ।

कप्तान र उपकप्तानलाई पनि क्यानले अपदस्थ गरेको छ र नयाँ कप्तानमा सन्दीप लामिछाने नियुक्त गरिएका छन् । निर्णय फिर्ता लिन क्यानमाथि तीव्र दवाव परिरहेका बेला सबैलाई नवनियुक्त प्रशिक्षकको प्रतीक्षा थियो ।

दासानायके तीन दिनअघि मात्रै नेपाल आए र हिजो क्यानका पदाधिकारीहरुसहित पत्रकार सम्मेलनमा उपस्थित भए । उनले स्पष्ट रुपमा कप्तान परिवर्तन गर्ने अधिकार क्यानसँग भएको भन्दै सो निर्णय आफूले हस्तक्षेप नगर्ने जनाउ दिए । ग्रेडिङसम्वन्धी विवादलाई पनि उनले ‘सामान्य’ भनेका छन् र शतप्रतिशत समाधान हुने विश्वास व्यक्त गरेका छन् ।

प्रशिक्षकको यस्तो अभिव्यक्तिले खेलाडीहरुमा निराशा छाएको छ भने क्यानको मनोबल बढेको छ । दासानायेकले असन्तुष्ट खेलाडीहरुसँग पनि छलफल गरिसकेका छन् । छलफलमा उनले कप्तान परिवर्तनको निर्णय यथावत राख्ने सन्देश खेलाडीलाई दिएका थिए ।

स्रोतका अनुसार खेलाडीहरुले प्रशिक्षकसँग आफूहरुमाथि अन्याय भएको गुनासो पोखरेका थिए । कप्तान ज्ञानेन्द्र मल्लले आफूलाई अपमानजनक तरिकाले हटाउँदा आफ्नो आत्मसम्मानमा चोट पुगेको बताए । क्यानले ग्रेडिङमा समस्या छ भन्ने स्वीकारिसकेपछि कारवाही स्वतः फिर्ता हुनुपर्ने उनको भनाइ थियो ।

स्राेतका अनुसार मल्लले प्रशिक्षकसँग भनेका थिए, ‘कप्तान परिवर्तन गर्ने अधिकार क्यानको हो, तर मलाई जुन तरिकाले हटाइयो त्यो सम्मानजनक भएन । यदि मलाई हटाएर उपकप्तान दिपेन्द्र ऐरीलाई कप्तान बनाइएको भए त्यो स्वभाविक ठहर्थ्याे । तर, अचानक अर्को व्यक्तिलाई ल्याउँदा त्यो नियोजित देखियो ।’

ग्रेडिङको विषयमा व्यक्त असन्तुष्टिलाई पनि क्यानले सम्वोधन गर्नुपर्ने खेलाडीहरुले बताएका थिए । जवाफमा दासानायेकेले खेलाडीको समस्यालाई आफूले गम्भीररुपमा लिने बताए पनि कुनै आश्वासन दिएनन् । टिमको कप्तान सन्दिप नै रहनेमा भने उनी स्पष्ट देखिए ।

क्यानसँग आधिकारिक धारणा माग्ने

प्रशिक्षक दासानायेकेको समर्थनले उत्साहित बनेको क्यानले हिजै टी-२० क्वालिफायर्सको बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट गरेको छ । दासानायेकेसँग परामर्शमा क्यानको छनोट समितिले खेलाडी छनोट गरेको हो ।

कारवाहीमा परेका चार खेलाडीलाई पनि प्रारम्भिक टोलीमा समेटिएको छ । तर, सेन्ट्रल कन्ट्राक्टमा नराख्ने भनिएका खेलाडीहरूले बन्द प्रशिक्षणमा सहभागी हुने नहुने निश्चित भएको छैन । आज उनीहरुले आपसमा छलफल गरेर निर्णय लिनेछन् ।

असन्तुष्ट एक खेलाडीका अनुसार निर्णय लिनुअघि क्यानसँग आधिकारिक धारणा माग्ने तयारी उनीहरुले गरेका छन् ।

‘हामीसँग संवादमा हामीसँग विभिन्न प्रस्तावहरु गरिए पनि विवाद समाधानका लागि क्यानको आधिकारिक धारणा अहिलेसम्म आएको छैन । त्यो आएपछि हामी बन्द प्रशिक्षणमा सहभागी हुने/नहुने टुंगोमा पुग्नेछौं,’ ती खेलाडीले भने ।

खेलाडीहरुसँगको संवादमा क्यान पदाधिकारीले ग्रेडिङको विषयमा पुनर्विचार गर्न सकिने बताएका छन् । तर, कप्तान परिविर्तनको निर्णयबाट पछि नहट्ने उनीहरुको अडान छ । ग्रेडिङको विषयमा पुनर्विचारसँगै कप्तान र उपकप्तानलाई हटाइएको बारे क्यानको प्रष्टीकरण आएको खण्डमा खेलाडीहरु लचक हुन सक्ने बताइएको छ । यद्यपि, ज्ञानेन्द्र स्वयम् भने सन्दीपको कप्तानीमा खेल्ने नखेल्ने विषयमा आफैं अनिर्णित छन् ।

क्यानले ३० सदस्यीय टिममा परेका खेलाडीहरुलाई भोलीसम्ममा होटल कन्फर्मेसन गरिसक्न भनेको छ । त्यसैले खेलाडीहरु आजै निर्णय लिनुपर्ने दवावमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर