सम्भाव्य प्रकोपबाट सुरक्षित रहनका लागि पूर्वतयारी गर्न सबै स्थानीय तहलाई सरकारको परिपत्र – Nepal Press

सम्भाव्य प्रकोपबाट सुरक्षित रहनका लागि पूर्वतयारी गर्न सबै स्थानीय तहलाई सरकारको परिपत्र

काठमाडौं । सरकारले सम्भाव्य प्रकोपबाट सुरक्षित रहनका लागि पूर्वतयारी तथा आवश्यक व्यवस्थापन गर्न सबै स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस वर्षको हिउँदयाम सुरु भएसँगसँगै हिमाली तथा उच्च पहाडी भू–भागमा हिमपात तथा तराईका भू–भागमा शितलहरको जोखिम रहेको भन्दै सम्भाव्य प्रकोपबाट सुरक्षित रहनका लागि पूर्वतयारी तथा व्यवस्थापनमा ध्यान दिन ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो ।

मन्त्रालयले वडा विपद् व्यवस्थापन समितिलाई क्रियाशील बनाई हरेक वडा तथा टोलमा चिसो मौसमका सम्भाव्य प्रकोप तथा त्यसबाट बच्ने उपायका सम्बन्धमा सचेतना जगाउन परिपत्र गरिएको मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव बसन्त अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार आवश्यकता अनुसार दाउरा, इन्धन, कम्बल जस्ता सामग्रीको भण्डारण तथा वितरणको व्यवस्था मिलाउन पनि भनिएको छ ।

यस्त्ै चिसोबाट बच्न आगोबाल्दा हुनसक्ने आगलागी लगायतबाट हुन सक्ने जनधनको क्षतिबाट बच्न स्थानीयबासीलाई सुचित गर्न, चिसो मौसममा हुन सक्ने सम्भाव्य प्रकोपबाट असह्याय तथा विपन्न ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, अपांगता भएका व्यक्ति, दिर्घरोगी लगायतका व्यक्तिको सुरक्षाकोलागि आवश्यक प्रबन्ध मिलाउन पनि सरकारले जोड दिएको छ ।

आवश्यकता अनुसार न्यानो कपडाको भण्डारण तथा वितरण गर्ने व्यवस्था मिलाउन, स्थानीय तहमा क्रियाशील सरकारी तथा गैह्रसरकारी निकायसँग समन्वय गरी हिमपात, चिसो तथा शितलहरको लागि पूर्वतयारी तथा प्रतिकार्यको प्रबन्ध मिलाउन पनि मन्त्रालयले परिपत्रमार्फत आग्रह गरेको छ । स्थानीय तहमा मानवीय सहायतामा क्रियाशील सरोकारवाला निकाय र संस्थाहसँग नियमित समन्वय गरी अति विपन्न तथा असह्याय वर्गलाई आवश्यक परे खाद्यान्न तथा अन्य राहत उपलब्ध गराउनका लागि समन्वय गर्न पनि भनेको छ ।

चिसोको कारणले हुनसक्ने स्वास्थ्य सम्बन्धी समस्यालाई रोकथाम गर्न स्थानीय स्वास्थ्य संस्थासँग समन्वय र सहकार्य गर्न, हिमपात तथा शितलहरको व्यवस्थापनको सम्बन्धमा मन्त्रालयले गर्नुपर्ने समन्वय र सहजिकरणको विषय भए मन्त्रालयको वातावरण तथा विपद् व्यवस्थापन शाखामा खवर गर्न पनि परिपत्रमार्फत नै आग्रह गरिएकाे जनाइएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर