सृष्टि र दिव्यदेवको ‘चिसो एस्ट्रे’ फिल्मको टीजर रिलिज : यस्तो छ भूपी शेरचनको विम्वमाथि बनेको फिल्मको फस्टलुक – Nepal Press

सृष्टि र दिव्यदेवको ‘चिसो एस्ट्रे’ फिल्मको टीजर रिलिज : यस्तो छ भूपी शेरचनको विम्वमाथि बनेको फिल्मको फस्टलुक

राजधानी काठमाडौंलाई चिसो-एस्ट्रेका रुपमा चित्रण गर्दैै निर्माण भएको फिल्म ‘चिसो एस्ट्रे’को टीजर ट्रेलर लन्च भएको छ । फिल्मका मुख्य पात्रलाई चिनाउँदै टीजरले गाउँले केटोलाई सहरको हावा कसरी लाग्छ भन्ने कथा प्रस्तुत गरेको छ ।

चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई दिन्श पाल्पालीले निर्देशन गरेका हुन् । उनले आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा फिल्ममा प्रस्तुत गरेको बताएका छन् ।

‘एउटा गाउँले ठिटो सहरीया ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्म यही दर्शनमा केन्द्रित रहेको छ,’ दिन्शले भने । उनले यसअघि ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालिफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो ।

निर्देशक दिन्शले कवि भूपी शेरचनले धेरै अघि नै काठमाडौँलाई चिसो एस्ट्रेको विम्बको रुपमा प्रस्तुत गरेको र फिल्म उनको सोही विम्बबाट प्रभावित भएको पनि बताएका छन् । ‘त्यसैले फिल्म पनि सकभर पोइटिक हिसाबले नै बनाउन खोजेका छौँ,’ उनले भने । उनले फिल्मले पाश्चात्य चलचित्रले युवामा पार्ने प्रभावलाई पनि कथ्यमा समेटेको बताएका छन् । फिल्ममा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सह निर्मातामा भने रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन् । निर्माता महेश बाबु तिमल्सिनाले फिल्म मेहनत गरेर बनाएको र अब दर्शकबीच प्रस्तुत गर्न उत्सुक रहेको बताए ।

फिल्ममा दिन्शले लेखन, निर्देशनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । फिल्ममा संगीत भने अजर जंगमको रहेको छ । उज्वल बस्ताकोटीको छायांकन रहेको फिल्ममा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।

नोबेल फ्रिक्सको पाश्र्व संगीत रहने फिल्ममा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेली प्रडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन रहेको छ । फिल्मलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौंबाहिर एफडी कम्पनीले वितरण गर्नेछ । फिल्म यही वर्षको चैत ४ मा सार्वजनिक हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर