रोयल्टी नतिर्ने क्यासिनो संचालकको तीनपुस्ते सार्वजनिक, डेढ अर्ब उठ्न बाँकी – Nepal Press

रोयल्टी नतिर्ने क्यासिनो संचालकको तीनपुस्ते सार्वजनिक, डेढ अर्ब उठ्न बाँकी

काठमाडौं । क्यासिनो संचालकहरूको उठ्न बाँकी एक अर्ब ५१ करोड २८ लाख ५० हजार रोयल्टी उठाउन सरकारले प्रक्रिया थालेको छ ।

महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसील कार्यालयको तथ्यांकअनुसार वर्षौंदेखि रोयल्टी नबुझाएकाहरूबाट असुलका लागि तीनपुस्ते विवरण संकलन गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रवक्ता रविचन्द्र अर्यालले जानकारी दिए ।

रोयल्टी उठ्न बाँकीमध्ये नेपाल रिक्रियसन सेन्टर प्रालिका प्रमुख राकेश वाधवाबाट ८३ करोड ४६ लाख ५२ हजार ९९९ रुपैयाँ, होटल याक एण्ड यती प्रालिका सञ्चालक राधेश्याम सराफबाट १८ करोड ५२ लाख ५० हजार रुपैयाँ, ह्याप्पी आवर प्रालिका संचालक सुरेन्द्र सिंहबाट १० करोड ८१ लाख ५० हजार ९०० र दी फूलबारी प्रालि पोखराका सञ्चालक पियुस बहादुर अमात्यबाट ३८ करोड ४७ लाख ९६ हजार १०९ रुपैयाँ रहेको छ ।

यी क्यासिनो केही हाल बन्द छन् । केही भने स्वामित्व हस्तान्तरण गरेर संचालन गरिँदै आएको छ । हाल होटल म्यारियट र हायत होटलमा मात्र क्यासिनो खेलाइन्छ । नेपालीलाई क्यासिनो खेल्न सरकारले कडाइ गरेको छ ।

बक्यौताका लागि ताकेता थालिएको भए पनि केही संचालक मुद्दामामिलामा गएकाले प्रक्रियामा विलम्ब भएको प्रवक्ता अर्यालले बताए ।

यो पनि पढ्नुहोस् : सडक नबनाउने १३ ठेकेदारको तीनपुस्ते सार्वजनिक, १२ करोड बक्यौता उठाइने (सूचीसहित)

केन्द्रीय तहसिल कार्यालयले विभिन्न समयमा सडक निर्माण जिम्मा लिएर ठेक्का अलपत्र बनाउने १३ जना ठेकेदारबाट उठ्न बाँकी १२ करोड ४६ लाख ३६३ रूपैयाँ पनि असुलीको प्रक्रिया अघि बढाइसकेको छ ।

सरकारी बक्यौता उठाउन यस कार्यालयको मुख्य जिम्मेवारी रहँदै आएको छ । कार्यालयका अनुसार ५७ वर्षदेखि करिब दुई अर्ब रकम उठाउन बाँकी छ ।

कार्यालयको तथ्याङक अनुसार सरकारका विभिन्न निकायबाट गरी ६४ जना अर्बौं बेरुजु असुल गर्न बाँकी रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *