अनिश्चितकालका लागि राजमार्ग बन्द गर्ने सीके राउतको घोषणा, संघीय मन्त्रीलाई मधेसमा अवरोध गर्ने – Nepal Press

अनिश्चितकालका लागि राजमार्ग बन्द गर्ने सीके राउतको घोषणा, संघीय मन्त्रीलाई मधेसमा अवरोध गर्ने

जनकपुरधाम । किसानको मुद्दा बोकेर आन्दोलनरत जनमत पार्टीले आजदेखि पूर्वपश्चिम राजमार्ग अनिश्चितकाल बन्दको घोषणा गरेको छ ।

पार्टी अध्यक्ष डा.सीके राउतले बुधवार अबेर राति विज्ञप्ती जारी गरेर पुस १५ गतेदेखि पूर्वपश्चिम राजमार्ग दिउँसाेकाे समयमा अनिश्चितकालका लागि बन्द र मधेसका जिल्लामा हुने संघीय मन्त्रीहरुको कार्यक्रममा विरोध गर्ने जनाएका हुन् ।

किसान आन्दोलनका सात बुँदे मागमध्ये कुनै पनि माग पूरा नगरेकाले थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको उनले उल्लेख गरेका छन् ।

मन्त्रीस्तरीय/उच्चस्तरीय वार्ता समिति समेत गठन नगरेको र किसान आन्दोलनको ज्ञापनपत्र लिन समेत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले अस्वीकार गरेर अहंकार प्रदर्शन गरेको अध्यक्ष डा. राउतले आरोप लगाएका छन् ।

यस्तै आन्दोलनकारीमाथि व्यापक बल प्रयोग गरेको, दर्जनों राउन्ड अश्रुग्यास चलाएको, आन्दोलनकारीहरूको अंगभंग हुने गरी कुटपिट गरेको, किसानहरूमाथि ज्यादती गरेको तथा झुठा मुद्दा लगाएको पनि उनको आरोप छ ।

जनमत पार्टीले सिरहाको औरही गाउँपालिकाले आफ्नो भण्डार कक्षबाट गहुँको बीउ लुटेको आरोपमा चार किसानमाथि अपराधिक उपद्र सम्बन्धी मुद्दा दर्ता गराएको र तीमध्ये मिथिलेश यादव पक्राउ परेपछि पुस ९ गतेबाट जनमत पार्टी आन्दोलन सुरु गरेको थियो ।

किसान यादव दुई दिन अगाडि नै रिहा भइसकेका छन् । तर उक्त पार्टीले अन्य माग पूरा नभएको भन्दै आन्दोलनलाई थप सशक्त पार्दै मधेसभर फैलाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर