बन्दसत्रमा सुझाव : ‘प्रचण्ड युग’ घोषणा गर्नेदेखि भारतलाई विस्तारवादी भन्नेसम्म – Nepal Press
माओवादी महाधिवेशन

बन्दसत्रमा सुझाव : ‘प्रचण्ड युग’ घोषणा गर्नेदेखि भारतलाई विस्तारवादी भन्नेसम्म

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पुस ११ गतेदेखि राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशनको चौथो दिन बुधबार समूहगत छलफलका निष्कार्ष सुनाइयो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि हिजो समूहगत छलफल भएको थियो । २५ वटा समूहमा छलफल भएकोमा आज ११ वटा समूहले छलफलको निस्कर्ष रिर्पोटिङ गरेका छन् भने बाँकीले भोलि ११ बजेबाट पुनः राख्ने छन् ।

सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश नं. २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश नं. १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङले छलफलका निष्कर्ष बन्दसत्रमा प्रस्तुत गरेका थिए ।

त्यस्तै प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरु, सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरेका थिए ।

छलफलका क्रममा प्रचण्ड युगको घोषणादेखि भारतलाई विस्तारवादी शक्ति लेख्नुपर्नेसम्मका सुझाव आए । ‘प्रचण्ड युग’ घोषणा गर्नुपर्ने सुझाव वागमती प्रदेशले दिएको हो । वागमती प्रदेश समितिका अध्यक्ष सरल सहयात्रीले समूहको सुझाव पेस गरेका थिए।

तीन दशकयता माओवादी एजेण्डाले देशको नेतृत्व गरिरहेका र त्यसको केन्द्रिकृत नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको भन्दै त्यस्तो सुझाव दिइएको सहयात्रीले बताएका छन् ।

‘तीन दशक यता माओवादी एजेन्डाले नै नेतृत्व गरिरहेको छ,’ नेपाल प्रेससँग कुरा गर्दै सहयात्रीले भने, ‘समाजवादको यात्रा कस्तो हुन्छ भन्ने सन्दर्भमा माओवादीले नै बहस गरिरहेको छ । त्यसकारण कम्तिमा माओवादी युगको घोषणा गर्नुपर्छ । त्यसको केन्द्रीकृत नेतृत्व प्रचण्ड हो । त्यसो हुनाले प्रचण्डको नामाकरणको रुपमा पनि यसलाई लैजानुपर्छ भन्ने भावमा समूहमा उठेको विषय वस्तुलाई मैले प्रस्तुत गरेको हुँ ।’

छलफलका क्रममा प्रचण्डपथ ब्युँताउनुपर्ने सुझाव आएको पनि उनले बताए । ‘हामीले प्रचण्डपथ छोडेका थियौं,’ सहयात्रीले भने, ‘यो व्यक्तिको नामाकरण थिएन, विचार थियो । त्यसकारण अहिले पनि त्यसलाई प्रचण्ड विचारकै रुपमा उत्थान गर्न पनि सकिन्छ या अरु केही नामाकरण पनि गर्न सकिन्छ भन्ने पनि आएको छ।’

प्रचण्डको प्रतिवेदनमा अमेरिकालाई साम्राज्यवादी शक्तिका रुपमा व्याख्या गरिएको भए पनि भारतबारे मौन भएको भन्दै उसलाई विस्तारवादी शक्ति लेख्नुपर्ने सुझाव आएको हो । यसअघि भारतको चर्को विरोध हुने प्रचण्डको प्रतिवेदन यसपटक भने भारतबारे मौन छ ।

यस्ता छन् सुझावका मुख्य–मुख्य बुँदा

–कर्णाली प्रदेशमा बालबिबाह र बहुबिबाह अन्त्यको पहल गर्नुपर्छ । पार्टी सदस्यले बालबिबाह वा बहुबिबाह गरे कडा कारबाही गर्नुपर्छ र यो अभियान वडासम्म लैजानुपर्छ ।

–जनयुद्धकालमा लगाइएका सबै खाले मुद्दाहरू तत्काल खारेज गर्न पार्टीले पहल गर्न पर्दछ ।

–सबैलाई सम्मानसहित प्रमाणपत्र तथा परिचय पत्र दिने व्यवस्था गर्नुपर्दछ । जनयुद्धका सहिद परिवार, बेपत्ता परिवार, घाइते तथा अपाङ्गहरूलाई रोजगारी आर्थिक सुविधा प्रमाणपत्र र परिचयपत्र उपलब्ध गराइनु पर्दछ । तिनलाई सांगठनिक जिम्मेवारीमा समेटिने व्यवस्था हुनुपर्दछ ।

–जनमुक्ति सेनावारे शान्ति प्रक्रियाअघि र पछि स्वैच्छिक अवकास लिएका र क्यान्टोनमेन्टमा बसेका गरी पाँच कोटीमा जनमुक्ति सेनालाई राखी तिनीहरूको आवश्यक आर्थिक व्यवस्थापनसहित सांगठनिक जिम्मेवारीमा समेटिने व्यवस्था हुनुपर्दछ ।

–धनकुटाको खोकु छिन्ताङको किसान विद्रोहको विषयमा पनि प्रतिवेदनमा उल्लेख गरियोस् ।

–प्रतिवेदनमा एसएसबीले मारेका कञ्चनपुरका गोविन्द गौतम र तुइन काटिएर वेपत्ता जयसिंह धामीको कुरा समेट्नुपर्छ ।

– वेपत्ता परिवारको पनि छुट्टै कलस्टर बनाउनुपर्छ ।

–हरेक तहका कमिटीमा दुई कार्यकाल बढी बस्न नपाइने व्यवस्था गर्नुपर्छ

–पार्टीभित्र आचरण, संस्कृति, वर्ग उठान, एनजिओको बारेमा स्पष्ट दृष्टिकोण आउनुपर्छ । प्रत्यक्ष कार्यकारी प्रमुख हुने प्रणालीको वकालत गर्नुपर्छ र सरकारमा सहभागी हुनेहरूको आचरणबारे कडा निगरानी गर्नुपर्छ ।

–पार्टीका केन्द्रीय सदस्यका छोराछोरीलाई सामुदायिक (सरकारी) विद्यालयमा अनिवार्य पठाउने व्यवस्था गर्नुपर्छ ।

–कालापानी, लिपुलेक, लिम्पियाधुराको नक्सा पारित गरेको स्वामित्व ओलीलाई नदिएर हामीले लिनेगरी दस्तावेजमा प्रष्ट उल्लेख गर्नुपर्छ ।

–साम्राज्यवादी उत्पीडनको ठोस रूप के हुन स्पष्ट गरिनुपर्छ ।

–माओदेखि प्रथम सहिद लखन चौधरी लगायत प्रतिनिधिमुलक सबै शहिदको नाम लेख्नुपर्छ ।

–प्रतिवेदनमा माक्र्सवादको परिमार्जन होइन सिर्जनात्मक विकास भन्नुपर्‍यो ।

–कोभिडले विश्व अर्थतन्त्रमा पारेको असर उल्लेख हुनुप¥यो ।

–चिनियाँ कम्युनिस्ट पार्टीको नीति, अर्थतन्त्र र त्यहाँको राजनीतिबारे स्पष्ट उल्लेख हुनुपर्‍यो ।

–प्रतिवेदनमा पार्टीको आगामी योजना र कार्यक्रम असाध्यै कमजोर आएको छ । यसको गम्भीरतापूर्वक पुर्नलेखन गर्नपर्‍यो ।

–भारतबारे पनि प्रतिवदेननमा स्पष्टरुपमा बोल्नुपर्छ । अमेरिकालाई साम्राज्यवादी भन्दा भारतलाई विस्तारवादी भन्नुपर्छ ।

–समानुपातिक प्रतिनिधितव जाती, क्षेत्रको आधारमा मात्रै नभएर बर्गको आधारमा पनि हुन पर्‍यो । त्यसमा मजदुर, किसान आदिलाई पनि समेट्नुपर्छ ।

–बेरोजगारगार समस्या र युवा बिदेश पलायन रोक्ने ठोस आधारसहित दस्तावेजले बोल्नपर्‍यो ।

–एमसीसी खारेज गर्नपर्छ भन्ने ।

–श्रम नगर्ने असभ्य हो भन्ने संस्कृति बिकास गर्नुपर्छ ।


प्रतिक्रिया

One thought on “बन्दसत्रमा सुझाव : ‘प्रचण्ड युग’ घोषणा गर्नेदेखि भारतलाई विस्तारवादी भन्नेसम्म

  1. 1 Comment
    Sort by
    Newest
    Add a comment…

    Ksp Pyl
    माओवादी भनेकाे अब केवल प्रचण्ड अनि प्रचण्ड भारतकाे आदेश पालक । भनेपछि माओवादीले भारतकाे विराेध गर्नु भनेकाे आफ्नाे मालिककाे विराेध गर्नु र आफूलाई समाप्त पार्नु हाे । त्यसैले ज जस्ले भारतीय विस्तारवादकाे कुरा उठाउनुभयाे वहाँहरू हाे सच्चा माओवादी । प्रचण्ड त आफूलाई फाईदा हुने भए जे गर्न पनि र जसकाे लागि पनि दलाली गर्न तयार हुने नेता हाे । त्यसैले चिनिसकेपछि पनि अब प्रचण्डकाे पछि लाग्नु भनेकाे जीवन वर्वाद पार्नु हाे देश वर्वाद पार्नु हाे । त्यसैले छाेडाैं अब यिनी र माओवादी पार्टी । सच्चा, व्यवहारिक कम्युनिष्ट, याे देशकाे वास्तवमै विकास चाहाने, सुशासन कायम गर्ने र विदेशीकाे अगाडी झुक्दा पनि नझुक्ने र सुरूङ् युद्द जस्ताे हावादारी कुरा पनि नगर्ने एकमात्र पार्टी नेकपा एमालेलाई राेजाै, यसमा लागाैं । काँग्रेसले अरू कुरा राम्रै गरे पनि देश लुटन मात्र जानेकाे छ । माओवादी, एस, फाेरमहरू सबै विदेशीका लागि काम गर्ने पार्टी हुन् । नेकपा एमाले मात्रै यस देशकाे सच्चा पार्टी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर