चन्द्रागिरी मात्र होइन, अरु पनि छन् काठमाडौं नजिक हिउँ खेल्ने ठाउँ – Nepal Press

चन्द्रागिरी मात्र होइन, अरु पनि छन् काठमाडौं नजिक हिउँ खेल्ने ठाउँ

काठमाडौं । आज बिहानदेखि सुरू भएको वर्षा र हिमपातसँगै काठमाडौंनजिकको चन्द्रागिरी डाँडामा भीडभाड सुरू भयो । काठमाडौंका विभिन्न स्थानबाट युवायुवतीहरू हिउँ खेल्न चन्द्रागिरीमा झुम्मिए ।

केही वर्षयता हिउँ खेल्ने भन्नेबित्तिकै सबैले सबैभन्दा पहिले चन्द्रागिरी नै सम्झिन्छन् । पर्यटकीय आर्कषणको स्थान र सहज यातायातका कारण चन्द्रागिरी पहिलो रोजाइमा पर्नु स्वभाविक पनि हो । तर, यसको मतलब काठमाडौंनजिक हिउँ पर्ने ठाउँ यो मात्रै होइन । तपाईं चन्द्रागिरीको विकल्पमा अरु स्थान पनि रोज्न सक्नु हुन्छ, जहाँ हिउँको मज्जा लिन सकिन्छ ।

उपत्यका आसपासका अन्य डाँडाहरूमा पनि प्रशस्तै हिउँ पर्ने गरेको पाइन्छ । मंगलबारदेखि हिमपात सुरू भएसँगै अहिले यी डाँडाहरू पनि सेताम्मे नै छन् । हामी यहाँ त्यस्तै पाँच स्थानको परिचय गराउँदैछौं, जहाँ तपाईं सहजरूपमा पुगेर हिँउको आनन्द लिन सक्नुहुन्छ ।

शिवपुरी

२,५६३ मिटर उचाइमा रहेको शिवपुरी डाँडा हिउँ हेर्न र खेल्न पाइने काठमाडौं नजिकैको उत्कृष्ट गन्तव्य हो । काठमाडौंबाट करिब १८ किलोमिटर दूरीमा रहेको शिवपुरी डाँडा ५ देखि ६ घण्टामा पैदल हिँडेरै पुग्न सकिन्छ ।

शिवपुरी काठमाडौंको उत्तरमा पर्ने शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जभित्र अवस्थित छ ।

फूलचोकी

उपत्यकाको सबभन्दा अग्लो डाँडा हो, फूलचोकी डाँडा । २,७६५ मिटर उचाइमा रहेको फूलचोकी वर्षौंदेखि ‘हिउँ हेर्ने डाँडा’ भनेर समेत परिचित छ ।

बुधबार देशका अन्य भागहरूको अवस्था हेर्दा एक हजार ७०० मिटरसम्म हिउँ परेको छ । काठमाडौं आसपासका क्षेत्र लगायत फूलचोकीमा समेत हिउँ परेपछि यहाँ चहलपहल बढेको छ ।

गोदावरी बोटानिकल गार्डेन, हुँदै यस क्षेत्रमा पुग्न सकिन्छ । हिउँले छोपिने यस डाँडाबाट सगरमाथा, गौरीशंकर, गणेश, लाङटाङ, मनास्लु, अन्नपूर्ण हिमश्रृखलाको दृश्यावलोकन गर्न सकिन्छ ।

नगरकोट

दुई हजार १७५ मिटर उचाइमा रहेको नगरकोट क्षेत्रमा पनि हिउँ खेल्न सकिन्छ । चाँगुनारायण मन्दिरसँगै पुराना नेवारी बस्ती र हिमश्रृंखलासमेत देख्न पाइने यस डाँडाको उच्चभागमा हिउँ पर्छ । उपत्यकाबाट नजिकको गन्तव्य भएका कारण हिउँ हेर्न र खेल्न यो उपयुक्त गन्तव्य हो ।

पर्यटकीय क्षेत्रसमेत रहेको नगरकोटमा हाइकिङको मज्जा पनि लिन सकिन्छ । साँखु, सुन्दरीजल, चाँगुनारायण, भक्तपुर, बनेपा र धुलिखेलबाट नगरकोट पुग्न सकिन्छ ।

दामन

हिमालको दृश्यवलोकनसँगै हिउँ नदेखेका मानिसहरूका लागि दामन अहिले उत्कृष्ट गन्तव्य हुन सक्छ । मकवानपुर जिल्लामा अवस्थित पर्यटकीय क्षेत्रसमेत रहेको दामनमा सेताम्य हिउँमाथि खेल्न सकिन्छ ।

आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण मानिने दामन हिउँ परेसँगै थप मनोरम देखिन्छ । २,६८८ मिटर उचाइमा रहेको दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकरलगायत हिमाल हेर्न सकिन्छ ।

र, चन्द्रागिरी

फुलचोकी डाँडाभन्दा होचो भए पनि केवुलकारका कारण पुग्न सहज भएपछि हिजोआज चन्द्रागिरीमा आकर्षण निकै बढेको छ । काठमाडौं उपत्यकाका युवायुवतीहरु यहाँ पुगेर हिउँमा रमाइरहेका छन् ।

दुई हजार ४७५ मिटर उचाइमा रहेको यस क्षेत्रमा मंगलबारदेखि नै हिउँ पर्न थालेको थियो । मौसम सफा हुँदा यहाँबाट सगरमाथा, मकालु, कञ्चनजंगा, मनास्लु, दोर्जे लाक्पालगायतका हिमालहरू देख्न सकिन्छ ।

बुधबारसम्म निरन्तर परेको हिउँ बिहीबारसम्म रहनसक्ने अनुमान छ । बाक्लो हिमपात भए पनि पानी परेपछि हिउँ लामो समय रहँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर