मौसम खराबीले चार एयरपोर्ट अझै खुलेनन्, उडान रद्द – Nepal Press

मौसम खराबीले चार एयरपोर्ट अझै खुलेनन्, उडान रद्द

काठमाडौं । मंगलबारदेखि मौसममा खरावी आएसँगै आज पनि आन्तरिक उडान प्रभावित बनेको छ । आज पोखरा, लुक्ला, थामखर्क र ताप्लेजुङ सुकेटारमा उडान हुन सकेन । मौसम अनुकूल नहुँदा ती विमानस्थलमा नियमित उडान रद्द भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

पोखराका लागि यती एयरलाइन्सले तीन वटा उडान रद्द गरिसकेको र बाँकी कम्पनीको पनि उडान रद्द भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । यता पर्यटकीय क्षेत्र र दुई हजार सात सय मिटरमा अवस्थित लुक्ला एयरपोर्टमा समेत भारी हिमपातका कारण उडान रद्द भएको तारा एयरले जनाएको छ । थामखर्क र सुकेटार विमानस्थलमा पनि नेपाल एयरलाइन्सले उडान रद्द गरेको जनाएको छ ।

प्रतिकूल मौसमका कारण अन्य क्षेत्रको आन्तरिक उडान पनि समयमै हुन सकेको छैन । मंगलबार साँझदेखि नै काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा पानीसँगै हिमपात हुदाँ हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । आजका लागि १३७ वटा नियमित उडान तोकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर