माओवादी महाधिवेशन : समूहगत छलफलको समय थप, निष्कर्ष सुनाउन १५ मिनेट – Nepal Press

माओवादी महाधिवेशन : समूहगत छलफलको समय थप, निष्कर्ष सुनाउन १५ मिनेट

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको जारी बन्दसत्रको दोस्रो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदनमाथि सामूहिक छलफल भएको छ।

प्रचण्डले पेस गरेको ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामा मंगलबार २५ वटा समूहमा छलफल भएका हुन् ।

माओवादीको महाधिवेशन प्रचार प्रसार उपसमितिका अनुसार अधिकांश समूहले राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल सकाएका छन् र बाँकी समूहले भोलि १२ बजेभित्र छलफल सक्नेछन् । समितिले समूहगत छलफलका लागि भोलि अपरान्ह १२ बजेसम्मको समय थप गरिएको बताएको छ ।

समूहगत छलफल गरेका सबै समूहमा सहभागी प्रतिनिधिहरुले प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थन जनाउँदै विभिन्न सुझावहरु राखेको बताइएको छ ।

भोलि १ बजेबाट महाधिवेशन स्थल प्रज्ञा भवन, कमलादीमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने छन् । प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको समितिले बताएको छ ।

प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर