सुर्खेतमा एमाले र माओवादीबीच बैंक खाताबारे विवाद, दुवै पक्षको निवेदनपछि रोक्का – Nepal Press

सुर्खेतमा एमाले र माओवादीबीच बैंक खाताबारे विवाद, दुवै पक्षको निवेदनपछि रोक्का

सुर्खेत । सुर्खेतमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच राष्ट्रिय वाणिज्य वैंकमा रहेको खाता सञ्चालनबारे विवाद चर्किएको छ ।

विवादका कारण बैंकले खाता नै रोक्का गरिदिएको समेत खुलासा भएको छ ।

एमाले अध्यक्ष ध्रुवकुमार शाहीले नेकपा कालमा खोलिएको खातालाई एमालेको नाममा नामाकरण गर्न भदौमा निवेदन दिएका थिए ।

उनको निवेदनलाई काउन्टर गर्दै नेकपाका सचिव कृष्ण जिसी जितेन्द्रले बैंकलाई अर्को निवेदन दिए । जिसीले मंसिरको पहिलो सातामा निवेदन दिएपछि खाता रोक्का भएको हो । खातामा करिब ८ आख रुपैंया जम्मा रहेको बताइएको छ ।

जितेन्द्रले पार्टी प्रदेश कमिटीले खाताबारे नगद बाँडफाँड गरे जसरी जिल्ला कमिटिले पनि बाँडफाँड गर्ने कुरा गर्दा तत्कालीन नेकपा आध्यक्ष शाहीले नसुनेको आरोप लगाए ।

‘त्यो एमालेको खाता होइन नि ? त्यो खाता नेकपाको थियो । दुई दल भएपछि स्वभाविक रुपमा नगद बाँडिनु पर्छ । त्यसमा त माओवादी कार्यकर्ताको पनि त लेवि संकलन भएको छ,’ उनले भने ।

एकलौटी रुपमा खाता परिवर्तन गर्नु गैरकानूनी मात्रै नभएर आपराधिक कार्यसमेत हुने उनको भनाइ छ । अहिले वैंकबाट एमालेले केही रकम झिकेको खबर आएको बताउँदै उनले यदि खातामा रकम शोधभर्ना भएको खण्डमा मात्रै सहमति हुने बताए । अन्यथा आफूहरु बैंक र एमाले विरुद्ध कानूनी प्रक्रियामा जाने चेतावनी उनले दिए ।

एमाले अध्यक्ष ध्रुव शाहीले भने यस प्रकरणमा मुख खोल्न चाहेनन् । हाल भेरीगंगा नगरपालिकाको १० छिन्चुमा रहेका अध्यक्ष शाहीले भने, ‘त्यस्तो समस्या केही छैन । खाता सञ्चालन सम्वन्धमा निवेदन दिइसकेका छौं । सञ्चालन भइसकेको होला ।’

तर वैकका प्रवन्धक लिलाप्रसाद ढुंगानाले भने खाता रोक्का भएको स्वीकार गरे । ‘दुई जनाको नाममा नेकपाकालीन खाता थियो ।

जितेन्द्रजीले निवेदन दिएपछि खाता रोक्का गरेका हौं,’ उनले भने, ‘अब अदालत वा प्रशासनले टुंगो लगायो भनेमात्र उक्त खाता सञ्चालन गर्न सक्छौं । नभए हामीसँग विकल्प नै छैन ।’

एमाले नेता कुलमणी देवकोटाले एमालेको पुरानो खाता रहेको बताउदै माओवादीले त्यसरी दाबी गर्न नमिल्ने बताए ।

‘त्यो पैसा एमालेको हो, माओवादीको होइन,’ उनले भने, ‘त्यसरी माओवादीले दाबी गर्छ भने माओवादीको खातामा पनि हामी दाबी गर्छौं ।’

उनले एमाले कार्यकर्ताकै पैसा भएको बताउदै माओवादीले गिद्वीदृष्टी लगाएको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर