‘इन्डो-प्यासिफिकमा चीनलाई रोक्न अमेरिकाले भारतसँग सम्बन्ध बलियो बनाउन थाल्यो’ – Nepal Press
प्रचण्डको प्रतिवेदन

‘इन्डो-प्यासिफिकमा चीनलाई रोक्न अमेरिकाले भारतसँग सम्बन्ध बलियो बनाउन थाल्यो’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको महाधिवेशनमा पेश गरेको दस्तावेजमा विदेश मामिला सम्बन्धी चर्चा गर्दै अमेरिका युद्धतर्फ अघि बढेको बताएका छन् । विश्व बहुध्रुवीय बन्दै गएको बताउँदै उनले अमेरिकी रक्षा मन्त्रालयको हालैको सार्वजनिक अभिव्यक्तिले अमेरिका थप युद्धमा संलग्न हुने स्पष्ट संकेत देखिएको बताएका हुन् ।

प्रचण्डले दस्तावेजमा भनेका छन्, ‘रक्षा मन्त्रालयले दिएको जानकारी हेर्दा शीतयुद्धकालिन मानसिकताका साथ चीन र रुससँगको प्रतिस्पर्धालाई अमेरिकाले चर्काएर लान खोजेको छ ।’ बाइडेन प्रशासनले अमेरिका र चीनबीचको संघर्ष लोकतन्त्र र निरकुंशताको लडाइको रुपमा लिएको बताउँदै प्रचण्डले अमेरिकी रक्षा मन्त्रालयको समीक्षालाई पनि उल्लेख गरेका छन् ।

‘हिन्द प्र्रशान्त क्षेत्रमा यस समीक्षाले साझेदार र सहयोगीहरुसँग थप सहकार्य गर्न निर्देशन दिएको छ’ अमेरिकी रक्षा मन्त्रालयको अभिव्यक्तिलाई प्रचण्डले दस्तावेजमा उल्लेख गरेका छन् ।

हिन्द प्रशान्त क्षेत्रमा चीनलाई रोक्न अमेरिकाले बेलायत र अष्ट्रेलियासँग विशेष सैन्य साझेदारी गर्नुको साथै विभिन्न मुलुकमा सैन्य अड्डा बढाउने र सुद्धढ गर्ने योजना बनाएको प्रचण्डको विश्लेषण छ ।

‘अमेरिकाले भारतसँगको सम्बन्धलाई सुद्धढ गर्नुको पछाडि यही उद्देश्यले काम गरेको छ’ प्रचण्ड लेख्छन्, ‘वास्तवमा आज अमेरिका आफूमात्र नभइ आफ्ना साझेदारहरुलाई पनि युद्धमा होम्ने तयारी गरिरहेको संकेत देखिएको छ ।’

‘नयाँ शीतयुद्धको रुपमा देखापरेको यो परिघटनाले नयाँ युद्धलाई जन्म दिएर साम्राज्यवादले आफ्नो संकटमोचनको दिशामा अघि बढ्दैन भन्ने स्थिती छैन’ प्रचण्डको निष्कर्ष छ ।

प्रचण्डले दस्तावेजमा जलवायु संकटबारे पनि चर्चा गरेका छन् । तापक्रम वृद्धि, जलवायु परिवर्तन, हिमालयको हिउँ पग्लनु र सामुन्द्रिक सतह बढ्नुमा पूँजीवादको उत्पादन प्रणाली र वितरणलाई प्रचण्डले दोष दिएका छन् ।

पूँजीवादी उत्पादन प्रणालीले प्रकृति, समाज र मानव जातिमा संकट आइपरेको बताउँदै प्रचण्डले कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक शक्तिहरुले यसलाई गम्भीरतासँग अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् ।

समकालिन अन्तर्राष्ट्रिय परिस्थितीको समीक्षा गर्दै प्रचण्ड अमेरिकाप्रति केही आलोचक सुनिएपनि समग्रमा उनी विदेश शक्ति राष्ट्रसँग सफ्टरुपमा प्रस्तुत भएका छन् । अमेरिका र पश्चिमा मुलुकप्रति सीधै आक्रामक नभएपनि नवउदारवाद र पूँजीवादी विम्व प्रयोग गर्दै उनी खनिएका छन् ।

भारतप्रति प्रचण्ड लगभग मौन छन् । अमेरिकाले अघि सारेको इन्डो–प्यासिफिक मुद्दामा किन अमेरिकाले भारतलाई प्राथमिकता दिएर अघि बढिरहेको छ भन्ने बाहेक प्रचण्डले भारतबारे टिप्पणी गरेका छैनन् ।

तर, अमेरिकाले चीनलाई घेर्न हिन्द–प्रशान्त रणनीति अघि सारेको बताउँदै प्रचण्ड उत्तर छिमेकी चीनप्रति पनि केही सफ्ट देखिएका छन् । दस्तावेजमार्फत प्रचण्डले चीन र भारतलाई सन्तुलन मिलाउने प्रयत्न गरेका छन् । प्रचण्डको विश्लेषण हेर्दा माओवादी छिमेक नीतिप्रति सन्तुलनकारी परराष्ट्र नीति अँगाल्न चाहेको देखिन्छ ।

तर, प्रचण्ड पश्चिमा र अमेरिकाप्रति खनिएका छन् । इन्डो-प्यासिफिक रणनीतिको चर्चा गर्दै उनी अमेरिकाप्रति आक्रामक भएका हुन् । द्धन्द्धकालमा माओवादीले अमेरिका र भारतलाई साम्राज्यबादी र विस्तारवादी भएको आरोप लगाउँदै आएको थियो ।

विश्वमा देखिएका शीतयुद्ध, आणविक हतियारको होडबाजी, जलवायु परिवर्तन, धनी र गरिबबीचको खाडलजस्ता विश्वब्यापी महत्वका विषयमा पार्टीले अन्तर्राष्ट्रिय स्तरमा सहकार्य र संयुक्त मोर्चा निर्माणमा जोड दिनुपर्ने प्रचण्डको निष्कर्ष छ ।

तर, दस्तावेजमा उल्लेख भएका विश्लेषणलाई नियाल्ने हो भने प्रचण्ड यी दुबै शक्तिप्रति नरम भएको थाहा पाउन सकिन्छ । नेपालले स्वतन्त्र परराष्ट्र नीति अँगालेको बताउँदै प्रचण्डले अन्य मुलुकसँग भएका सन्धि सम्झौताको पुनरावलोकन गरी पारस्परिक समानता र हितमा आधारित सन्धि सम्झौता गर्ने कुरामा जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर