सेन्ट्रल जोन भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै – Nepal Press

सेन्ट्रल जोन भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै

पुरुष टोलीले पनि तेस्रो स्थानका लागि उज्वेकिस्तानसँगै खेल्ने

काठमाडौं । बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष तथा महिला च्यालेन्ज कप भलिबलमा महिलातर्फको उपाधि तथा पुरुषतर्फ तेस्रो स्थानका लागि नेपालले आज उज्वेकिस्तनसँग प्रतिस्पर्धा गर्दैछ ।

साविक विजेता नेपालले प्रतियोगितामा श्रीलंकासँग ३-२ को सेट खेले यता घरेलु टोली बंगलादेश, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानलाई सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

पाँच खेलमा १४ अंकसहित नेपाल शीर्ष स्थानमा रह्यो । यस्तै उज्वेकिस्तान ११ अंकका साथ दोस्रो स्थानमा रह्यो । लिग चरणमा उज्वेकिस्तानसँग सोझो सेटमा जित निकालेको नेपाली टोली फाइनलमा सहज जित निकाल्दै फेरी स्वर्ण पदक जित्नेमा आशावादी छ ।

कप्तान अरुणा शाहीले टिममा सुधारिएको प्रदर्शन जारी रहेकाले उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन् । उनै नेतृत्वको टोलीले सन् २०१९ मा अबंगलादेशमै पहिलो संस्करणको उपाधि जितेको थियो । त्यतिबेला नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो ।

यता पुरुषतर्फ तेस्रो स्थानका लागि नेपालले उज्वेकिस्तानसँगै खेल्दैछ । पुरुषतर्फ उपाधिका लागि श्रीलंका र घरेलु टोली बंगलादेश आमने सामने हुँदैछन् ।

हिजो भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशले उज्वेकिस्तानमाथि ३-२ को सेटमा जित निकाल्दै फाइनलमा पुगेको हो भने उज्वेकिस्तानले नेपालसँग तेस्रो स्थानका लागि खेल्ने निश्चित भएको हो । लिग चरणमा नेपालले उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गरेको थियो । लिगमा नेपालले उज्वेकिस्तान र माल्दिभ्सलाई पराजित गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *