निर्वाचन तयारीबारे गृहमन्त्रालयमा छलफल – Nepal Press

निर्वाचन तयारीबारे गृहमन्त्रालयमा छलफल

काठमाडौं । आसन्न निर्वाचनको व्यवस्थापन र सुरक्षालगायतका विषयमा गृहमन्त्रालयमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज भएको छलफलमा सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए ।

गृहमन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार छलफल आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनमा सुरक्षा सरोकार र आवश्यक पर्ने स्रोत साधनबारे केन्द्रित थियो । ‘आसन्न राष्ट्रियसभाको निर्वाचनमा गरिने सुरक्षा व्यवस्था र आउँदै गरेको स्थानीय तहको निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनबारे छलफल भयो,’ प्रवक्ता कोइरालाले भने ।

बैठकमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव एकैपटक वा दुईपटक गर्ने भन्ने विषयमा पनि छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । एक वा दुई चरणमा गर्दा मतदाता र मतपेटिकाको सुरक्षा र व्यवस्थापनबारे सहभागीले धारणा राखे ।

अर्थसचिव मधु मरासीनीले निर्वाचनका लागि आवश्यक पर्ने बजेट र सरकारसँग रहेको बजेटबारे जानकारी गराए । संघीय मामलामन्त्री राजेन्द्र श्रेष्ठ र सचिव सुरेश अधिकारीले निर्वाचनका लागि आवश्यक पर्ने कर्मचारी र मन्त्रालयका तर्फबाट उपलब्ध गराउन सकिने कर्मचारीबारे धारणा राखे ।

१२ माघमा हुन गइरहेको राष्ट्रियसभाका १९ पदको निर्वाचनको सुरक्षा तयारीबारे गृहमन्त्री खाणले चासो राखेका छन् ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, गृहसचिव टेकनारायण पाण्डे, रक्षासचिव वेगेन्द्रराज शर्मा पौडेल, अर्थसचिव मधु मरासीनी, संघीय मामला तथा सामान्य प्रशासनसचिव सुरेश अधिकारी, परराष्ट्रसचिव भरत शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, गृहको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख मुकुन्दप्रसाद निरौला, प्रवक्ता प्रदीपकुमार कोइराला र नीति योजना अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख डा. भीष्मकुमार भुसाललगायत सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर