देउवाको दुर्लभ धैर्यपछि फुटेको ‘प्रचण्ड प्रशंसा’- कांग्रेस इतिहासको अवमूल्यन – Nepal Press
टिप्पणी

देउवाको दुर्लभ धैर्यपछि फुटेको ‘प्रचण्ड प्रशंसा’- कांग्रेस इतिहासको अवमूल्यन

काठमाडौं । सार्वजनिक मञ्चहरूमा प्रायः झर्कोफर्को गरिरहने प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटनको मञ्चमा ४ घण्टा बिताए ।

युज पोत्जरले २ सय वर्षअघि लेखेको कम्युनिष्टहरूको अन्तर्राष्ट्रिय गानदेखि नेताहरूको लम्बेतान भाषणसम्म सुनेका प्रधानमन्त्रीले माओवादी मञ्चमा कुनै झर्कोफर्को गरेनन् । बरु आफ्नै पार्टीको महाधिवेशनको उद्घाटन सभामा ढिलो गरेको भन्दै उनले उद्घोषक विश्वप्रकाश शर्माको आलोचना गरेका थिए ।

माओवादी मञ्चमा भने हतार नगरी देउवाले ४ घण्टा बिताए । पम्फा भुसालको स्वागत मन्तव्यदेखि कुन्ती शाही, सीपी गजुरेल, दुर्गा पौडेल, अनिल झा, उपेन्द्र यादव, शंकर पोखरेल, मातृका यादव, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठसम्मको भाषण सुनेपछि मात्रै देउवाको बोल्ने पालो आयो । यो बीचमा देउवाले झण्डै १ दर्जन जनसांस्कृतिक प्रस्तुतिहरू समेत हेरिसकेका थिए ।

अरुबेला भन्दा ‘कुल’ मुडमा प्रस्तुत भएका देउवाले तुलनात्मक रूपमा लामो मन्तव्य दिए । सात मिनेट लामो मन्तव्यमार्फत् देउवाले खास सन्देश दिन खोजेका छन् । पाँच दलीय गठबन्धनको निरन्तरताको चर्चादेखि एमसीसीको पक्षपोषणसम्म त देउवाको मन्तव्य स्वाभाविक नै थियो । यद्यपि उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रशंसामै अधिक समय खर्चिए । प्रचण्डको प्रशंसाका दौरान उनले आफ्नै पार्टीको इतिहास र आफ्नै पार्टीका अग्रज नेताहरूको अवमूल्यनसम्म गर्न बाँकी राखेनन् ।

संविधानसभाको एजेण्डा कसको ?

नेपाली राजनीतिमा संविधानसभाको एजेण्डा पहिलोपटक नेपाली कांग्रेसले नै उठान गरेको हो । २००७ सालको जनक्रान्तिमै कांग्रेसले जनताद्वारा निर्वाचित प्रतिनिधिले संविधान लेख्नुपर्ने माग गरेको थियो । प्रजातन्त्र स्थापनाको घोषणामै तत्कालीन राजा त्रिभुवनले नेपालको शासन अबउप्रान्त जनताबाट निर्वाचित सभाले तय गरेको विधानअनुसार हुने घोषणा गरेका थिए ।

समयक्रममा संविधानसभाको मुद्दा ओझेलमा पर्‍यो । त्रिभुवनको निधनपछि तत्कालीन राजा महेन्द्रले संसदीय निर्वाचन घोषणा गरे । कांग्रेसले संविधानसभाको माग थाती राखेर पहिलो आमनिर्वाचनमा भाग लियो । त्यसयता संविधानसभा नभएर प्रजातन्त्र पुनःस्थापनाका लागि राजनीतिक लडाइँ लड्नुपर्ने अवस्थामा कांग्रेस पुग्यो ।

२०५२ सालमा देउवा नै प्रधानमन्त्री रहेका बेला माओवादीले ४० बुँदे माग राख्दै सशस्त्र आन्दोलन सुरु गरेको थियो । द्वन्द्वकालमा देउवाकै सवारीलाई लक्षित गरेर माओवादीले एम्बुस विस्फोट गराएको थियो भने देउवाले पनि माओवादी नेताविरुद्ध रेडकर्नर नोटिस जारी गरेर ‘टाउकोको मूल्य’ तोकेका थिए ।

यद्यपि माओवादी मञ्चमा देउवाको अभिव्यक्तिले वीपी, जीपी र सुशिलको इतिहास र योगदानमाथि नै प्रश्न उठाएको छ । ‘प्रचण्डको प्रशंसा गर्ने नाममा आफ्नै इतिहासमाथि प्रहार नगरेको भए हुन्थ्यो’, देउवाको अभिव्यक्तिबारे एक कांग्रेस नेताले भने ।

नेपाली कांग्रेसले आजपर्यन्त शान्ति र संविधानको अगुवा भनेर आफैलाई दाबी गर्दै आएको छ । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरू भएको शान्ति र संविधानको यात्रा सुशिल कोइरालाको कार्यकालमा पूरा भएको दाबी कांग्रेसको हरेक तहका नेता कार्यकर्ताहरूले गर्दै आएका हुन् ।

यद्यपि आफ्नो मन्तव्यका क्रममा प्रधानमन्त्री देउवाले संविधानसभा र संविधान निर्माणको एकलौटी जस माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिए । देउवाले प्रचण्डकै बलमा कांग्रेसले संविधानसभा स्वीकार गरेको मात्रै बताएनन् संविधान निर्माणमा सबैभन्दा बढी योगदान प्रचण्डकै रहेको उल्लेख गरे । देउवाको अभिव्यक्तिले ‘शान्ति र संविधान’ को एजेण्डामा अपनत्व दाबी गर्ने कांग्रेसजनलाई निराश बनाएको छ ।

‘संविधानसभाको एजेण्डा कांग्रेसकै थियो । समयक्रममा माओवादीले त्यसलाई बोके पनि गिरिजाप्रसादले स्वीकारेपछि मात्रै संविधानसभा सफल भएको हो । संविधान पनि सुशिल कोइरालाको नेतृत्वमा बनेको हो । हाम्रै सभापतिले यसको जस प्रचण्डलाई दिनु पार्टी र इतिहासमाथिको अन्याय हो’, कांग्रेसका एक नेताले भने ।

वीपी-जीपी-सुशिलको इतिहास

नेपाली कांग्रेसका संस्थापन नेता वीपी कोइराला संगठकमात्रै नभएर विचारक समेत थिए । संविधानसभाको एजेण्डालाई २००७ सालमै सम्बोधन गराउन कांग्रेस सफल भएको थियो । यद्यपि तत्कालीन राजनीतिक परिस्थिति र विभिन्न घटनाक्रमका कारण संविधानसभा कार्यान्वनयन हुन सकेन ।

माओवादीले सशस्त्र आन्दोलनको मुख्य मुद्दाका रूपमा संविधानसभाको माग गरेको पनि सत्य हो । यद्यपि गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेसले संविधानसभाको एजेण्डा स्वीकार गरेपछि मात्रै नेपालमा संविधानसभाको एजेण्डा स्थापित भएको हो । त्यतिबेला देउवा नेपाली कांग्रेस (प्रजातान्त्रिक) को सभापतिमात्रै थिएनन् ढिलोगरी ‘प्रतिगमनविरुद्धको आन्दोलन’ मा जोडिन पुगेका थिए ।

वीपी कोइरालाले देखेको संविधानसभाको सपनालाई गिरिजाप्रसादले सम्भव तुल्याएको कांग्रेसजनहरूको दाबी छ । गिरिजाप्रसादकै अगुवाइमा भएको १२ बुँदे समझदारी र लोकतान्त्रिक आन्दोलनको जगमा संविधानसभाको एजेण्डा कार्यान्वयन भएको थियो । यद्यपि संविधानसभाबाट संविधान बनेको हेर्ने गिरिजाप्रसादको चाहना पूरा भएन ।

देउवाले माओवादी मञ्चबाट प्रचण्डको अति प्रशंसा गर्नु र प्रचण्डले तत्कालै देउवालाई ‘इनोसेन्ट’ देख्नुले दुवै नेताले मञ्चको नियोजित उपयोग गरेको पुष्टि हुन्छ । देउवाको अभिव्यक्तिले कांग्रेसवृत्तमा तरंग पैदा गरेकै छ । यद्यपि यसको परिणाम देखिन अझै केही समय लाग्ने नेताहरू बताउँछन् ।

पहिलो संविधानसभामा बनेका ४ वटा वाम सरकारले संविधान दिन नसकेको पृष्ठभूमीमा सुशिल कोइराला नेतृत्वको सरकारले दोस्रो संविधानसभाको २ वर्षे कार्यकालभित्र संविधान बनाएको थियो । यसर्थ कांग्रेसजनले श्रद्धापूर्वक सुशिललाई ‘संविधानको पिता’ भन्दै आएका छन् ।

यद्यपि माओवादी मञ्चमा देउवाको अभिव्यक्तिले वीपी, जीपी र सुशिलको इतिहास र योगदानमाथि नै प्रश्न उठाएको छ । ‘प्रचण्डको प्रशंसा गर्ने नाममा आफ्नै इतिहासमाथि प्रहार नगरेको भए हुन्थ्यो’, देउवाको अभिव्यक्तिबारे एक कांग्रेस नेताले भने ।

गठबन्धन निरन्तरताको उद्घोष

आफ्नो मन्तव्यमा प्रचण्डको अति प्रशंसा गरेका देउवाले ‘गठबन्धनलाई धेरै अगाडिसम्म लैजाने आफ्नो इच्छा’ रहेको समेत बताए । कांग्रेसभित्र चुनावमा गठबन्धन गरेर जान नहुने मत अधिक छ । अघिल्लो स्थानीय निर्वाचनमा माओवादीसँग गठबन्धन गर्दा कांग्रेसले आफ्नै जनमत समेत गुमाएको थियो ।

यद्यपि प्रधानमन्त्री देउवाले गठबन्धन पूरा समयमात्रै नभएर त्यसअगाडिसम्म निरन्तर रहने संकेत गरेका छन् ।

‘गठबन्धन कसैका विरुद्धमा होइन । गठबन्धन पूरै समय टिक्छ कसैले शंका गर्नुपर्दैन । मेरो चाहना त अझै अगाडिसम्म गठबन्धन हुनुपर्छ भन्ने हो’, माओवादी मञ्चबाट देउवाले भनेका छन् । देउवाको यो उद्घोषले कांग्रेसले अब चुनावमा पनि माओवादी र एकीकृत समाजवादीसँग सीट बाँडेर गठबन्धन गर्ने निश्चित भएको छ ।

देउवाको अभिव्यक्तिमात्रै होइन त्यसप्रति प्रचण्डको जवाफ पनि उत्तिकै चर्चायोग्य रह्यो । देउवापछि बोलेका प्रचण्डले देउवालाई एक ‘इनोसेन्ट’ नेताको संज्ञा दिदैं सत्य बोल्ने हिम्मत गरेकोमा धन्यवाद दिए ।

देउवाले माओवादी मञ्चबाट प्रचण्डको अति प्रशंसा गर्नु र प्रचण्डले तत्कालै देउवालाई ‘इनोसेन्ट’ देख्नुले दुवै नेताले मञ्चको नियोजित उपयोग गरेको पुष्टि हुन्छ । देउवाको अभिव्यक्तिले कांग्रेसवृत्तमा तरंग पैदा गरेकै छ । यद्यपि यसको परिणाम देखिन अझै केही समय लाग्ने नेताहरू बताउँछन् ।

देउवाको भनाइ जस्ताको तस्तै

पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठूलो योगदान दिनुभएको छ । संविधानसभाको चुनाव उहाँको शर्त थियो । शान्तिप्रक्रियाका लागि संविधानसभा चाहिन्छ भन्ने उहाँको अडान थियो । यो सत्य कुरा हो की उहाँकै बलले संविधानसभामा हामीहरू गएका हौं । यसमानेमा संविधानसभाबाट संविधान बनाउने कुरा जो हो, सात सालमा कांग्रेस पार्टीले प्राप्त गरेको कुरा धेरै ठूलो लडाइँ भएपछि पुष्पकमल दाहालजीकै अगुवाइमा संविधानसभाको चुनाव भएर आज संविधानसभाबाट संविधान बनेको छ । यो संविधान समावेशी छ, समानुपातिक आधारमा छ, संघीयता र गणतन्त्र पनि छ । यो संविधान अत्यन्तै महत्वपूर्ण बनेको छ । यो संविधान बनाउने काममा पुष्पकमल दाहालजीको सबैभन्दा योगदान छ भन्ने कुरा हामी सबैले मान्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *